
—लोकनारायण सुबेदी
प्रातस्मरणीय अमर शहीद गंगालालका सहोदर माहिला भाइ कमरेड पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव हुन । १९४९ सेप्टम्बर १५ (२००६ भाद्र ३० गते) का दिन उनले नेपाल कम्युनिष्ट पार्टीको बिधिवत स्थापना गरेका थिए । उनैले नेपालको जनवादी आन्दोलनको मूल रणनीतिको वैचारिक रुपरेखा र कार्यक्रम तयार पारेका थिए । मूलतः महान समाजबादी अक्टोबर क्रान्ति, चिनीया नयाँ जनवादी क्रान्ति र भारतीय स्वतन्त्रता संग्रामको उनीमाथि परेको प्रभावले नेपालमा आफ्नै बिशेषता अनुरुपको नयाँ जनवादी क्रान्तिको कार्यक्रम उनले अघि सारेका हुन् । उनले यस कार्यक्रम मार्फत नेपाली समाजमा ब्याप्त सामन्ती ब्यवस्था तथा एंग्लो-अमेरिकी साम्राज्यवाद, उपनिवेशवाद र भारतीय एकाधिकार पूँजीवाद, विरुद्ध संघर्ष गर्नुपर्ने युगीन राष्ट्रिय आवश्यकता हो भन्ने कुरा एदमै प्रस्टसँग औल्याएका मात्र थिएनन् नयाँ जनवाद हुँदै बैज्ञानिक समाजवादमा पदार्पण गर्ने र अन्ततः साम्यवादी समाजमा पुग्ने अभेद्य लक्ष सहीत उनले नेपाली समाजको गन्तब्यको प्रष्ट दिशावोध पनि गराएका छन् ।
सन् १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको कार्यालय सचिव रहँदारहदै उनले बिश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको अनुवाद गरी त्यसमा लामो भूमिका समेत लेखेका थिए र सर्बप्रथम नेपाली समाजको माक्र्सबादी दृष्टिकोणले बर्गीय बिश्लेषण गरेका थिए । त्यसबाट नै उनी नेपाली काग्रेसको नीतिमा सीमित रहेर मुलुक र जनताको हितमा अपेक्षित परिवर्तन ल्याउन नसकिने टुगोमा पुगेको र नेपाली क्रान्तिकारीहरुले बेग्लै बाटो लिने पर्ने निष्कर्शमा पुगेको प्रष्टै देखिन्छ । यसबाट अग्रगामी दृष्टिकोण, राजनीतिक प्रष्टता, र २२ वर्षको युवा उमेरमै त्यस कालखण्डका समकालीन नेताहरूमा उत्कृष्ट वौद्धिक व्यक्तित्वका रुपमा उनी अग्रसर भएको प्रष्टै देख्न सकिन्छ । उनले अघि सारेको नयाँ बैज्ञानिक र बैचारिक मोडले नै उनलाई काग्रेस परस्त भन्नेहरुलाई त्यतिबेलै जबाफ दिइसकेको हो । तर 'गोयबल्स' प्रबृत्तिका कथित नामधारी कम्युनिष्ट नेताहरुले उनलाई उनको राजनीतिक जीवन कालभरी काग्रेसको पुच्छर सावित गर्न टुप्पीदेखि पैतलासम्मको बल लगाएर समय खेर फाले । आखिर पुष्पलालर्लाइ त्यस्तो आरोप र लाञ्छना लगाउनेहरु कसरी काग्रेसको धोती समाउन पुगे र अनि दरबारतिर हानिए त्यो घटना क्रमले एकदै प्रष्ट पारेको छ । पुष्पलाल आफ्नो सही बिचारमा सगरमाथा जत्तिकै अटल उभ्भिए । तर उनलाई आरोप लगाउने नेता मण्डली कहिले दरबार, कहिले काग्रेस, कहिले दिल्ली, कहिले वाशिङ्गटनको पोल्टामा पुगेको कुरुप इतिहास आज नेपाली समाजले देखिरहेको,भोगिरहेको र अनुभव गरिरहेको छ ।
सामन्ती शाहीतन्त्रले २०१७ पुस १ गते प्रजातन्त्रको वलात् अपहरण गरेपछि राजाद्वरा नेतृत्व गरेको सामन्ती अधिनायकबादी पञ्चायतलाई फाल्न वामपन्थी शक्ति र नेपाली कांग्रेसले मिलेर संयुक्त जन आन्दोलन चलाउनु पर्ने कार्यनीति पुष्पलालले अघिसारेका थिए । उनले यो कार्यनीति अघि सार्दा कतिपय कम्युनिष्ट नेताहरूले नै 'कांग्रेसको पुच्छर' र गद्दारसम्म भन्न पछि परेनन् । तर, उनको त्यो सही कार्यनीति आंशिकरुपमा २०३६ सालको संयुक्त बिद्यार्थी आन्दोलनमा र पूर्णरुपमा २०४६ सालको ऐतिहासिक सयुक्त जन आन्दोलनमा परिलक्षित हुन पुग्यो र सफल ठहरियो । पछिल्लो २०६२/६३ सालको नेपाली जनताको अपूर्ब संयुक्त आन्दोलनले कमरेड पुष्पलालको कार्यनीतिलाई अझ उच्चस्तरमा पुनर्पुष्टी गरेको छ । तर आज पुष्पलालको त्यो नीतिलाई जनता र राष्ट्रका हक, हित र अधिकाका निमित्त होइन, नेता मण्डलीको सुख सुबिधाको निमित्त दुरुपयोग गरिदैछ र त्यसैलाई राष्ट्रिय सहमतिको जामा लगाइदैछअबाञ्छित फाइदा उठाइदैछ । साउथ ब्लकसँग लम्पसार परेर कुर्सीमा पुग्ने र नेपाली जनता र राष्ट्रको तत्कालीन र दीर्घकालीन हित बिपरीत गलत सन्धि सम्झौता गर्ने तथा एंग्लो-अमेरिकी शिविरमा पुग्ने र सत्ता या त्यसको सेरोफेरोमा रम्न पाइन्छ भने बिश्वब्यापी चीनबिरोधी घेराबन्दीमा पनि सामेल हुनेहरुले पनि पुष्पलालको नाम भजाउने र उनलाई राजनीतिक बजारको बस्तु बनाएर नाफा कमाउने काम गर्न छाडेका छैनन् ।
कामरेड पुष्पलाल जो नेपालमा गणतन्त्रको पहिलो प्रबक्ता थिए र अबिछिन्न रहे २०१७ सालको प्रतिगामी शाही काण्डपछि भारत प्रवासमा बसे । त्यतिबेला उनलाई राजा महेन्द्रले कांग्रेसको विरुद्धमा प्रयोग गर्ने उद्देश्यले आफ्नो पक्षमा तान्न खोजेका थिए । तर, आफ्नो सिद्धान्त र नीतिमा सँधै अडिग रहेर आफ्नै राष्ट्रिय बिशेषता र आवश्यकता अनुरुपको मार्गमा हिड्न पहलकदमी गर्ने र त्यसका निमित्त निरन्तर सर्घषशील क. पुष्पलाल त्यस्ता शाही प्रलोभनबाट सधै पृथक रहे । प्रवासी जीवनका यावत् हण्डर ठक्करलाई उनले सहर्ष स्वीकार गरे । उनको २०३५ सालमा भारतको बल्लभ भाइ पन्त अस्पतालमा उपचार गराउँदा गराउँदै दिल्लीाम दुःखद निधन भएको थियो । उनको पहलमा स्थापित कम्युनिष्ट पार्टीको इतिहासल आज ७० बर्ष पुग्न लागेको छ । कमरेड पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनलाई सही सिद्धान्तबाट सुसज्जित गराउने काममात्र गरेनन् नेपाली समाजको मार्क्सवादी दृष्टिकोणले बैज्ञानिक व्याख्या र विश्लेण गर्ने काम समेत गरे र गर्ने परम्परा बसाले । जीवनमा कहिल्यै सुखको अनुभव नगरी तर नेपाली शोषित पीडित जनताको भावी जीवनको सुखद कल्पनामा आफ्नो सम्पूर्ण सचेत जीवन देश र जनताका लागि अर्पण गर्दागर्दै उनी बितेर गए । यस राजनीतिक आन्दोलनको शतत अबिरल यात्राको क्रममा कामरेड पुष्पलालले सैद्धान्तिक कृति लेख्ने काममा पनि त्यतिकै ध्यान दिए । उनले लेखेका सारगर्भित कृतिहरू नेपालको जनतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनका लागि अत्यन्तै महत्वपूर्ण अमूल्य निधि र मार्गदर्शकका रुपमा रहिरहेका छन् र रहने छन् । संक्षेपमा यसरी कमरेड पुष्पलालको समग्र जीवनलाई हेर्दा र केलाउँदा उनलाई नेपाली राजनीतिक आन्दोलनको सही दिशाबोध र कान्तिकारी धारका प्रवक्ता र प्रयोक्ता मान्नु सर्बात्मना उचित हुन्छ । देशको आजको बेथिति र बिग्रहकाे बाटो लागेको राजनीतिलाई सम्हाल्ने र सही दिशामा मोड्ने हो भने फेरि पनि नेपाली जनता र राष्ट्रको हितमा समर्पित कामरेड पुष्पलालकै क्रान्तिकारी मूलबाटोमा नहिडी धरै छैन । नेपाली जनताका महान् नेता कमरेड पुष्पलालको त्रिचालिसाैं स्मृति दिवस मनाइरहेको सन्दर्भमा उनीप्रति शतत नमन तथा भावपूर्ण उच्च सम्मान !