
—इन्द्रनारायण सुबेदी
(शार्दूलविक्रीडित)
-------------------------------------------------------------------
धेरै नायक जन्मिए मुलुकमा धेरै मरेरै गए।
कोही सन्त समान छन् कति यहाँ सत्ता विलासी भए।
सच्चा दर्शन सोच चिन्तन हुने उस्तै सबै को छ र।
पक्का नायक हुन् विशिष्ट गुणले सम्पन्न विश्वेश्वर।१।
नेपाली अनुहारभित्र उनको छायाँ अझै बोल्दछ।
बस्ती गाउँ जताततै हृदयको माया अझै बोल्दछ।
यौटा सभ्य समाजभित्र सबको अस्तित्वका खातिर।
लड्ने जीवन सुम्पिएर रणमा हुन् वीर विश्वेश्वर।२।
मोली जोखिम अस्त्र शस्त्र खतरा झुक्दै नझुक्ने उनी।
आफ्नो दर्शनमा सुनिश्चित सधैँ चुक्दै नचुक्ने उनी।
बद्लेको इतिहास बोल्दछ यहाँ पाई उनैको भर।
मर्दैनन् अझ गर्व गर्छ दुनियाँ सम्झेर विश्वेश्वर।३।
सत्ताको गुणगान भक्ति महिमा चल्दैछ ऐले यहाँ।
फाटो द्वन्द अमेलको छ खतरा जल्दैछ ऐले यहाँ।
बल्दो रूप कडा प्रकाश सरिको आगो बनी झर्झर।
आऊ त्यो सपना अझै छ अधुरो सम्झेर विश्वेश्वर।४।
नामै मात्र छ भिन्न भिन्न दलको देखाउने बाहिर।
बेची दर्शन लुट्न लम्पट सबै निर्लज्ज झन् माहिर।
क्यै विश्वास रहेन आखिर यहाँ गर्दैन कोही भर।
के मा चित्त बुझाउँछौ मुलुक यो हेरेर विश्वेश्वर।५।
छन् संस्कार पुरातनी र महँगा थेग्नै नसक्ने जब।
थाप्लोमाथि थपेर बोझ जनता मानून् र के गौरव।
भोग्दै यी विकराल कष्ट जननी रुन्छिन् यहाँ धर्धर।
बाटो हेर्दछ पर्खिएर दुनियाँ लौ फर्क विश्वेश्वर।६।
खेल्दैछन् नव सुम्निमा पनि यिनै पाखा पखेरा मनि।
तिम्रो कीर्ति अनन्त बग्दछ यहाँ साहित्य गङ्गा बनी।
झन्डा चन्द्र र सूर्य अङ्कित सधैँ गर्दै रहोस् फर्फर।
धेरै मूल्य चुकाउनै छ घरमा लौ फर्क विश्वेश्वर।७।
-----पुरानो डायरीबाट