भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले नेपाल राष्ट्र बैंकद्वारा हालसालै जारी मौद्रिक नीतिले पनि ऋण लगानीलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै सहकारी संस्थाहरुले पनि विद्यमान परिस्थितमा ऋण लगानीलाई जोड नदिई वित्तीय संकटको सामना गर्न तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।
संघको वार्षिक, त्रिवर्षिय व्यवसायिक योजनाको समीक्षा तथा चार वर्षीय व्यवसायिक योजना निर्माण कार्यक्रममा बोल्दै उनले विश्व अर्थतन्त्रमै मन्दी देखिन थालेकोले यसको असर नेपालमा परेको बताएका छन् । बजारमा व्याजदर बढ्नु, बचत निक्षेप संकलनमा कमी हुनु, ऋण माग बढ्नु वित्तीय संकटको संकेत भएको उनले जनाए ।
संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य राख्दै सहकारीमा ठगी घटना बढ्दै गएको समाचारले सहकारी अभियान चिन्ता घडीमा रहेको छ । यस्ता घटनाहरु हुन नदिन सहकारी दर्ता देखि नै कडाई गरी नियमन तथा अनुगमनमा जोड दिनुपर्ने विचार राखे ।
संघका सचिव जगनाथ प्रजापतिले संघको कार्यक्रम प्रगति, संघद्धारा आयोजित कार्यक्रमहरु, बैठक संख्या विवरण आदिको समीक्षा गरे । संघले दिदैं आएको सेवाहरु, मोबाइल एप्स सेवा, समन्वय सेवा, प्रकाशन सेवा, स्टेशनरी सेवा, परामर्श सेवाको समीक्षा प्रस्तुत गर्नु भयो । संघमा हाल २०२ सदस्य संस्था कायम रहेको र संघले कारोबारलाई थप प्रविधि मैत्री बनाउन आधुनिक सफ्टवेयर प्रयोगमा ल्याएको जानकारी दिए ।
संघका कोषाध्यक्ष कान्छाभक्त घजुले आ.व. २०७८।७९ को आर्थिक समीक्षा प्रस्तुत गरे । उनले श्रोततर्फ गत वर्षको तुलनामा ६३ प्रतिशतले बृद्धि भई वासलात १ अर्व ६९ करोड ४९ लाख भएको र अनुमानमा ८८ प्रतिशतले प्रगति भएको विवरण प्रस्तुत गरे ।
तरलता अभावका कारण बचत फिर्ता हुनुको साथै ऋण माग बढि भएकोले ऋण लगानीमा बृद्धि भएको जनाए । उनले तरलताको वित्तीय तथा ऋण लगानी मार्फत गत वर्षको तुलनामा नाफामा ६ प्रतिशतले वृद्धि भई २ करोड ३७ लाख गर्न सफल भएको जनाए ।
संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले संघले सहकारी अभियानको लागि भुमिका खेलेकोमा खुशी व्यक्त गर्दै असल बैठक तथा माइन्यूट लेखन तालिम जस्ता आधारभूत तालिमहरु समेत दिनुपर्ने सुझाव दिए ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको बार्षिक अनुमानित बजेट तथा कार्यक्रमकोबारे प्रस्तुतिकरण गर्दे आगामी चार बर्षमा रु.२ अर्व ४८ करोडको वासलात र ४ करोड १४ लाखको वितीय विवरण र अन्तर सदस्य सहकारी भुक्तानी प्रणालीको विकास समेतको योजना प्रस्तुत गरेका थिए।