काभ्रे जिल्लाभरी कार्यक्षेत्र रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र विस्तार गरेको छ । संस्थाकाे सेवा विस्तारको क्रममा पाँचखाल नगरपालिका वडा नं. ४ स्थित तामाघाट बजारमा आफ्नो चौथो सेवाकेन्द्र कार्यालयको औपचारिक शुभारम्भ गरेको हो।
संस्थाका अध्यक्ष कैलाश केसीको सभापतित्वमा आयोजित एक कार्यक्रमका बीच पाँचखाल नगरपालिकाका उपप्रमुख सूर्यमाया दनुवारले उक्त सेवाकेन्द्रको उद्घाटन गरेकी हुन् । कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै उपप्रमुखले बुडोल सामुदायिकले आफ्नो २२ वर्षको छवीलाई कायम गर्दै समुदायमा आधारित रहेर सदस्यको आर्थिक हितको लागि पाँचखाल क्षेत्रका जनतालाई सरल र सहज सेवा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको विचार व्यक्त गरेका हुन् ।
सचिव जयराम थापाले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष प्रेमनाथ शर्मा कोइरालाले स्वागत गरेका थिए। संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार रामहरि केसीले संस्थाको पृष्ठभूमि माथि प्रकाश पारेका थिए । निमित्त प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायमाझीले संस्थाको वर्तमान अवस्था तथा रणनीतिक लक्ष्य संक्षेपमा प्रस्तुत गरे । प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईले सेवा केन्द्र विस्तार गरेकोमा शुभकामना दिएका थिए ।
कार्यालय शुभारम्भको अवसरमा उक्त सेवाकेन्द्रमा साउन महिनाभर आवद्ध हुने सदस्यहरुलाई प्रवेश शुल्क छुट, बाल बचतकर्ताहरुलाई कपि पेन वितरण गर्नुका साथै ५० हजार वा सोभन्दा बढी रकम सहित बाल आवधिक खाता खोल्ने सदस्यहरुलाई संस्थाबाट निःशुल्क खुत्रुके वितरण गर्ने जनाएको छ।