शनिबार, कार्तिक ८ गते २०८३

ललितपुर जिल्ला संघको प्रवर्द्धन केन्द्रबाट सहकारी उत्पादन विक्रीवितरण शुरू

श्रावण १३, २०७९ शुक्रबार
ललितपुर जिल्ला संघको प्रवर्द्धन केन्द्रबाट सहकारी उत्पादन विक्रीवितरण शुरू

जिल्ला सहकारी संघ ललितपुरले आजबाट दुग्ध, तरकारी तथा खाद्य वस्तुको विक्री वितरण शुरु गरेको छ । संघको प्रवर्द्धन केन्द्र भवनबाट आजदेखि किसानले उत्पादन गरेका वस्तुहरुको विक्रीबितरण शुरु गरिएको हो । 

सहकारी संस्थामार्फत् किसानहरुले उत्पादन गरेको तरकारी, फलफुल, गेडागुडी, मासुको विक्री शुरु गरिएको छ भने दुग्ध सहकारी संस्थाका लागि आवश्यक दुग्ध सामग्री र अन्य दुग्धजन्य परिकारहरुको विक्रीवितरण गर्ने पसल सञ्चालनमा ल्याइएको हो ।

हालका लागि साताको दुइदिन शुक्रबार र शनिबार हरियो तरकारी, गेडागुडी र मासु विक्री गरिने जिल्ला संघका निवर्तमान अध्यक्ष माधव दुलालले जानकारी दिए । हालका लागि परीक्षणको रुपमा ल्याइएको र भविष्यमा साताभर नै बजार सञ्चालन गर्ने योजना रहेको उनले बताए । 

ग्रामीण किसानहरुले उत्पादन गरेका वस्तुको बजारीकरण गरी उनीहरुको आयस्तर वृद्धिमा सहयोग पु¥याउनका लागि यो कार्यक्रम शुरु गरिएको उनको भनाई छ । 

संघले यसअघि गेडागुडी, खाद्यान्न, पीठो, गुन्द्रुक र दुग्धजन्य पदार्थ साताभरि नै विक्री वितरण गर्दै आएको थियो । भारतीय दूतावासको सहयोगमा संघले बहुउद्देश्यीय भवन बनाएपछि सहकारी उत्पादन विक्रीवितरणका लागि खुल्ला गरेको हो ।