रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाले २४औं स्थापना दिवस मनाएको छ ।
संस्थाका अध्यक्ष श्याम थापाको अध्यक्षता एक औपचारिक कार्यक्रम आयोजना गरी संस्थाले स्थापना दिवस मनाएको छ । रामेछाप जिल्लाको उत्कृष्ट सहकारी भएकोले निर्धक भई कारोबार गर्नका निम्ति अध्यक्ष थापाले सदस्यलाइ आग्रह गरे ।
२०५५ श्रावण १२ गते साविक मन्थली गाविसको ७ र ८ नं. वडालाइ कार्यक्षेत्र बनाइ २५ जना महिलाबाट मासिक १० रूपैयाँ बचत बाट शुरू भएको उक्त संस्थाले हालसम्म आइपुग्दा उल्लेख्य प्रगति गर्न सफल भएको छ ।
संस्थाको आफ्नै भवनमा आयोजना गरिएको कार्यक्रममा आ.व. २०७७/७८ मा संस्थाले गरेका वित्तीय कारोबार र गतिविधिका बारेमा समीक्षा गरिएको छ ।
गत आ.व. मा संस्थाले १ करोड ५८ लाख ६२ हजार ८३३ नाफा कमाउन सफल भएको समेत कार्यक्रममा जानकारी गराईएको थियो ।
संस्थाले गत असार मसान्तसम्म ४ करोड ५६ लाख शेयरपुँजी, ३९ करोड ९९ लाख बचत संकलन गरी ३९ करोड १ लाख ऋण लगानी गरेको छ । त्यसैगरी ५ करोड ५८ लाख जगेडा कोष, अन्य कोषमा ३८ लाख र ऋण सुरक्षण कोषमा २ करोड ३४ लाख पुर्याएको छ ।
वित्तीय सुचकांकको हिसाबले संस्था सबल बन्दै गएको छ । संस्थामा ७७७० सदस्य आवद्ध भएका छन् ।
संस्थाले प्रविधि प्रयोग गर्ने क्रममा एटिएम सेवा समेत सञ्चालनमा ल्याइसकेको छ । मन्थली नगरपालिका र आसपासका सदस्य र समुदायको आर्थिक, सामाजिक उत्थानमा संस्थाले सघाउ पुर्याउँदै आएको छ ।
