बुधबार, भाद्र ३ गते २०८३

हाम्रो जनकल्याण साकोस र भीमेश्वर नगरपालिकाबीच प्लाष्टिक झोलाको प्रयोग न्यूनिकरण गर्न सहकार्य

श्रावण ३, २०७८ आइतबार
हाम्रो जनकल्याण साकोस र भीमेश्वर नगरपालिकाबीच प्लाष्टिक झोलाको प्रयोग न्यूनिकरण गर्न सहकार्य

 

वातावरण संरक्षणका लागि भीमेश्वर नगरपालिका क्षेत्रमा ४० माइक्रोन भन्दा तलको प्लाष्टिक झोला प्रयोगलाई निरुत्साहित गर्न हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था र भीमेश्वर नगरपालिकाको कार्यालय बीच साझेदारी भएको छ । 

समझदारी अनुसार फोहोर वर्गिकरण गरी व्यवस्थापन गर्नका लागि प्रयोग गरिने प्लाष्टिक झोला र सपिङ झोलको प्रयोग तथा विक्री वितरण सम्बन्धमा अन्तरक्रिया सम्पन्न भएको हो । 

अन्तरक्रिया कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसीले फोहोर उत्पादन विन्दूमा नै पुगेर फोहोरको वर्गिकरण, त्यसको महत्व र व्यवस्थापनका बारेमा सचेतना फैलाउँदा सजिलै स्वच्छ र सुन्दर भीमेश्वर नगर बनाउने टेवा पुग्ने भएकाले स्थानीय सहकारीसँग साझेदारी कायम गरिएको बताए। 

दोलखा जिल्ला पर्यटकीय जिल्ला भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकको बसाईलाई आनन्दित बनाउँदै उहाँहरुको बसाई लम्ब्याउने र आन्तरिक आम्दानी बढाउनका लागि पनि फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको र संघीय सरकारले समेत ४० माइक्रोनभन्दा तलको प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाएकाले अभियानकै रुपमा प्लाष्टिक मुक्त अभियान थालिएको नगरप्रुमख केसी को भनाई छ । अन्तरक्रियामा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले फोहार व्यवस्थापनको आवश्यकता र महत्वका बारेमा जानकारी गराएका थिए । 

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले संस्थाले भीमेश्वर नगरसँगको साझेदारी र अभियान सञ्चालन प्रक्रियाका बारेमा जानकारी दिए । 

संस्थाका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रियामा भीमेश्वर नगरपालिकाका नगर उप प्रमुख कमला बस्नेत, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई, धुलिखेल÷दोलखा अस्पताल दोलखाका निर्देशक रोशन महतो, भीेमेश्वर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नबिन कुमार लामा, वडा नम्बर २ का वडा अध्यक्ष बिराजमान श्रेष्ठ, एडिबि फोहोरमैला कवाडप् प्रोसेसिङ एण्ड अर्गानिक मल उत्पादन केन्द्रका सञ्चालक ध्रुब बस्नेत, टोल विकास समितिका संयोजक तथा सदस्यहरु, स्थानीय व्यवसायी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । 

साझेदारी कार्यक्रममा हरेक परिवारलाई तीन रङ्गको ४० माइक्रोन भन्दा माथिको प्लाष्टिक झोला अभियानको केही महिना निःशुल्क वितरण गरिनेछ भने वातावरणमैत्री सपिङ झोला उपभोक्तालाई पच्चिस रुपैयाँमा बिक्री गरिनेछ । 

सोही अवसरमा धुलिखेल अस्पताल र हाम्रो जनकल्याण साकोसबीच माइक्रोफाइनान्स कार्यक्रम सञ्चालनका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । कार्य क्षेत्र भित्र स्वास्थ्य सचेतना तथा आयआर्जनका गतिविधि सञ्चालन गरिने सम्झौता पत्रमा उल्लेख छ ।