वातावरण विभागले आगामी भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिक उत्पादन, आयात, बिक्री तथा प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ। विभागले सूचना जारी गर्दै यसभन्दा अघि नै लगाइएको प्रतिबन्धले केही असर नगरेको पाइएकाले आगामी भदौ १ गतेदेखि भने कडा रूपमा प्लाष्टिक झोलाको प्रयोग गर्न तथा उत्पादन र आयात गर्न नदिइने उलेख्य गरेको छ ।
अनुगमनका क्रममा निषेधित प्लास्टिकका झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गरिएको पाइएमा विभागले वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही हुने सूचनामा उल्लेख छ। भदौ १ गतेदेखि प्लास्टिकको झोला आयात, उत्पादन, बिक्री तथा प्रयोग गर्नेले १० लाख रुपैयाँसम्म नगद जरिवाना, उत्पादन तथा आयात गर्ने कम्पनीलाई ५ वर्षसम्म कालोसूचीमा राख्ने व्यवस्था छ। साथै अदालती कारवाही र जेल सजायसम्म हुने पनि भनिएको छ।
नेपाल सरकारबाट २०७८ असोज १९ गते राजपत्रमा सूचना प्रकाशित गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाइएको थियो। तर उक्त प्रतिबन्धलाई सरकारले लागु गर्न सकिरहेको अवस्था थिएन। सोही कारण विभागले भदौबाट उक्त प्रतिबन्धलाई कडाइका साथ अनुगमन तथा कारवाहीको प्रक्रिया अगाडि बढाउन लागिएको जनाएको छ।