नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार ११औं राष्ट्रिय औद्योगिक सर्वेक्षण(२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो उधोगको संख्या ६० हजार पुगेको जनाएको हो ।
यो तथ्यांक आर्थिक वर्ष २०७५।७६ लाई आधार मानेर लिइएको विभागले जनाएको छ । विभागले २०७६ फागुनमा तथ्यांक संकलन सुरु गरेको थियो । तर बीचमा कोभिड(१९ महामारीका कारण तथ्यांक संकलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्यांक सार्वजनिक गरिएको विभागले जनाएको छ । खानी तथा उत्खनन क्षेत्रमा ३५६२, विद्दुत्, ग्याँस बाफ तथा वातानुकूलित सेवा ९९४, औद्योगिक उत्पादन क्षेत्र ५६,६११ र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र उपचारात्मक सेवा २,२२४ उधोग रहेका छन् ।
चारै प्रकारका औद्योगिक प्रतिष्ठानहरुमा ४,९१,२२७ जना व्यक्तिहरु संलग्न रहेका छन् । सर्वेक्षण अनुसार कोरोना महामारीको समयमा गरिएको लकडाउनका कारण ६३ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएका थिए भने ६० प्रतिशत कामदारले अस्थायी र १७ प्रतिशत कामदारले स्थायी रुपमा जागिर गुमाएका थिए ।