निकै बर्ष अघि संयुक्त राष्ट्र संघद्वारा जारी गरिएको बिश्व जल प्रतिबेदनमा बढ्दो जल संकटका बिषयमा निकै गम्भीर चिन्ता जाहेर गरिएको थियो । त्यसमा भनिए अनुसार कृषिको बढ्दो जल आवश्यकता, खाद्यान्न उत्पादन, ऊर्जा उपभोग, प्रदुषण तथा जल ब्यवस्थापनमा देखा परेका कमजोरीहरु अदिका कारणले स्वच्छ पिउने पानीमाथि अत्याधिक दबाव बढिरहेको बताइएको थियो । त्यो प्रतिबेदनले उल्लेख गरे अनुसार बिश्वका कतिपय देशहरुमा जल संकट तीब्ररुपमा बढिरहेको छ र ती देशले गम्भीर पानी संकटको सामना गरिरहेका छन् । यस्तो स्थितिमा पानीको बर्वादीलाई रोकिएन भने यो समस्याले बिश्वमा भयंकर ठूलो बिकराल रुप लिने खतरा टड्कारो छ । कयौं देशले भू–जल स्तर घट्न जाँदा पानीको ठूलो संकट भोग्नु परिरहेको कुरा समेत प्रकाशमा आइरहेका छन् । भनिन्छ, आज पनि बिश्वमा उपलब्ध कूल जलको मात्रा त्यत्ति नै छ जति दुइ हजार बर्षपहिला थियो । अन्तर कति मात्र छ भने त्यतिबेला जनसंख्या आजको तुलनामा केवल तीन प्रतिशत थियो । आजभन्दा ७३ बर्ष अघि १९४७ मा प्रति ब्यत्ति सुरक्षित पिउने पानी ६ हजार घन मिटर प्रतिब्यक्ति उपलब्ध थियो ।त्यो घटेर २००० सालसम्ममा आइपुग्दा केवल २३०० घन मिटर मात्र रहन गयो । आउदो २०२५ सम्मा यो अझ घटेर १६०० घन मिटर प्रतिब्यक्ति पुग्नजाने देखिएको छ ।

अन्तराष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थाको अनुमानका अनुसार आउदो बीस बषर्मा हाम्रो छिमेकी देश भारतमा पानीको माग ५० प्रतिशतले बढ्ने छ । भारतमा अहिले उपलब्ध जलमध्ये ९० प्रतिशत उपयोग कृषि उत्पादनमा गर्ने गरिन्छ । जसमा खाद्य उत्पादनको अनुपात मात्रै कुरा गर्ने हो भने त्यो ३५ प्रतिशत रहेको छ । यदि कृषि उत्पादनमा समुचित जल निकास तथा जल उपयोगको बैज्ञानिक उपाय अबलम्बन गरियो भने पनि त्यसबाट केवल २० प्रतिशतसम्म मात्र जलको बचत हुन सक्तछ । बिज्ञान र प्रबिधिको निक्कै प्रगति गरेको भए पनि अहिलेको बढ्दो जल संकटबाट मुक्त हुनका लागि पुराना जल उपयोगका उपायहरुलाई पनि प्रयुक्त गर्नुपर्ने देखिन्छ । त्यो तरीकामध्ये एउटा प्रमुख उपाय भनेको घरको छानाबाट खस्ने बर्षाको पानी संकलन गर्ने उपाय हो । सामान्यतः सय बर्गको मिटर आकारको छानाबाट ६,५००० लिटर बर्षाको पानी एकत्र गर्न सकिने देखाएको छ । जसबाट चार सदस्य भएको एउटा परिवारका लागि पिउने पानी र अन्य घरेलु आवश्यकता पूर्ति गर्नका लागि कम्तिमा १६० दिनसम्म पुग्नसक्छ ।
नेपाल जस्तो जलश्रोतको धनी देशले पनि राजधानीमा नै जुन पिउने पानीको संकट बर्षौंदेखि बहोरिइरहेको छ त्यो समस्या समाधान गर्न बर्षाको पानी एकत्र गर्ने उपाय गर्न गराउन सकेमा कम्तिमा दुइ दशकभन्दा बढी समय लागेको मेलम्ची पिउने पानी परियोजना पूर्णरूपमा सम्पन्न भएर मानिसहरूका धारामा पानी बितरण नहुञ्जेलसम्म त काम दिन्थ्यो कि ? सरकारले जनताले बर्षाको पानी जम्मा (रेन वाटर हार्भेस्टिङ्ग)गर्ने यो उपायको अबलम्बन गर्न गराउन आवश्यक उपकरण र अनुदानकाे सुबिधा प्रदान गर्न सके उपत्यकाको पानी संकट नै टार्न सकिन्छ भन्ने प्रतिबेदन पनि धेरै बर्ष पहिला आइसकेको हो । यस प्रबिधिकाे उपयाेग अन्य पानीकाे अभाव भएकाे क्षेत्रमा पनि गर्न सकिने सम्भवाना रहन्छ नै । त्यस्तो एउटा प्रतिबेदन अनुसार काठमाण्डौ उपत्यकामा ६०० बर्ग किलोमिटर जलाधार रहेको छ । यसले बार्षिक १, १०० मिलिमिटर बर्षा गराउन सहयोग पुग्छ । बागमती नदी कुनै हिमाच्छादित नदीहरुको श्रोतबाट आएको पनि होइन। त्यसो भए तापनि सरदर ३३० मिलियन घन मिटर पानी यहाँ उपलब्ध हुन सक्ने स्थिति रहेको बिज्ञहरुले बताएका छन् । त्यसैले उपलब्ध हुन सक्ने बर्षाकोझरीको पानीको केवल ६ प्रतिशतलाई मात्र उपयोगमा ल्याउन सकिए पनि काठमाण्डौ उपत्यकाबासीहरुलाई छेलोखेलो पानी पुग्ने बताइएको थियो । मेलम्चीको मात्र भर नपरेर बर्षाको पानी जम्मा गर्ने बिधि अपनाउन सके आगामी दिनमा पानीको संकटको थप अनुभव गर्नु पर्ने थिएन कि ! बेलैमा सोचौ !