लघुवित वितीय संस्थाहरुको निष्कृय कर्जा ८७.८३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको लघुवित्त वित्तीय संस्थाहरुको निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी वार्षिक प्रतिवेदनले निष्कृय कर्जा बढेको देखाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७ ।७८ संस्थाहरुको कर्जा लगानी ३९.१४ प्रतिशतले वृद्धि हुँदा निष्कृय कर्जा ८७.८३ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उलेख्य छ ।
०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा सापट गत आर्थिक वर्षको तुलनामा ३९.१४ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ६५ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष कुल कर्जा सापट ११.७२ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ६२ अर्ब ७२ करोड रहेको थियो । त्यसैगरी ०७८ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा अघिल्लो वर्षको तुलनामा ८७.८३ प्रतिशतले वृद्धि भई रु.९ अर्ब ९५ करोड पुगेको छ । समीक्षा अवधिमा कुल कर्जा तथा सापटमा निष्क्रिय कर्जाको अनुपात २.७२ प्रतिशत रहेको छ । निष्क्रिय कर्जाको अनुपात ०७७ असार मसान्तमा २.०२ प्रतिशत रहेको थियो ।
त्यसैगरी अघिल्लो आर्थिक वर्षको तुलनामा ब्याज खर्चमा १५.६४ प्रतिशतले कमी आएको छ भने ब्याज आम्दानीमा ११.०५ प्रतिशतले वृद्धि भई सञ्चालन आम्दानीमा ७७.४१ प्रतिशतले वृद्धि हुनुका साथै खुद नाफामा १४६.७१ प्रतिशतले वृद्धि भएको समेत प्रतिवेदनले औंल्याएको छ । २०७७ असार मसान्तमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ३,९४६ रहेकोमा २०७८ असार मसान्तमा १७.११ प्रतिशतले वृद्धि भई कुल शाखा संख्या ४,६२१ पुगेको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा ४० वटा लघुवित्त वित्तीय संस्थाहरुको समष्टिगत स्थलगत निरीक्षण गर्ने कार्ययोजना रहेको भएतापनि कोभिड–१९ को महामारीका कारण लक्ष्य अनुसार निरीक्षण कार्य गर्न नसकिएको र सो अवधिमा १४ वटा लघुवित्त वित्तीय संस्थाहरुको समष्टिगत स्थलगत निरीक्षण सम्पन्न भएको राष्ट्र बैंकले जनाएको छ ।