शनिबार, आश्विन १७ गते २०८३

न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न माग

आषाढ १२, २०७९ आइतबार
न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्न माग

कानून व्यवसायीहरुले गलत काम गर्ने न्यायाधीशहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी न्यायालयमा विकृति र विसंगति बढेको भन्दै छानविनको माग गरेका हुन् । 
केही दिन अघि अधिवक्ता रुद्र पोखरेल र न्यायाधीश राजकुमार कोइरालाबीच इच्छाराम तामाङको विषयमा भएको संवादको अडियो सार्वजनिक भएसँगै न्यायाधीशहरुको सम्पत्ति छानविनको माग उठाएका हुन् । 
पत्रकार सम्मेलनमा बोल्दै अधिवक्ता भुवन थापाले न्यायालयमा भइरहेका विकृती, विसंगती, अन्याय र अत्याचारका सीमारेखाहरुको परास्त गर्न आफूहरुले न्यायालय शुद्धिकरण अभियान चलाएको जानकारी दिए । थापाले न्यायालय सबल र सक्षम हुँदा हुँदै पनि गलत काम गर्ने न्यायकर्मीको कारण आज दुर्गन्धित भईरहेको समेत टिप्पणी गरे । सत्यताको विमुख गर्न, आस्थाको केन्द्र न्यायालयलई विचौलियामुक्त बनाउने उद्देश्यले देशव्यापी अभियान सुरु गरेको थापाको भनाई छ ।  उनले गलत काम गर्ने सम्पुर्ण न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । न्यायालयको मानमर्दन गर्ने, स्वच्छ, सक्षम र शुद्धता बनाउने उद्देश्यका साथ अभियान चलाएको स्पष्ट पारे । उनले भने,‘न्यायलयमा भएका गलत कामको पर्दाफास गर्ने उदेश्यले हामीले अभियान चलाएका हौ ।’
यसैगरी, अधिवक्ता माधव प्रसाद कोइरालाले केही दिन अघि अडियो सार्वजनिक भएसँगै न्यायालय नाङ्गिएको र न्यायलयभित्र के भइरहेको छ भन्ने पनि स्पष्टै देखिएको बताए । उनले भने,‘उक्त घटनाले जनतालाई न्याय दिन पर्ने कानुन व्यवसायीहरु कालो कोट लगाएर हिड्न पनि बाहिर अमर्यादित भएको अनुभव गरिरहेका छौं ।’
 न्यायलयमा भएको भ्रष्टचारविरुद्ध सबै मिलेर भ्रष्टाचार विरोधी अभियान नै चलाएको उनले बताए । अडियो बाहिरीए बित्तिकै आफुले सत्यतथ्य बुझ्नकै लागि आफुले कायममुकायम प्रधानन्यायाधीश दीपक कुमार कार्कीलाई तुरुन्त न्यायपरिषदको बैठक बोलाउन आग्रह गरेको सुनाए । 
न्याय परिषदको बैठकले अडियो छानबिनको लागि समिति गठन गरेकोमा खुशी हुँदै प्रतिवेदन हेर्न र कारबाही गर्न सर्वोच्चको अन्य न्यायाधीश राख्नुपर्ने सुझाव दिएको समेत उल्लेख गरे । 
वरिष्ठ अधिवक्ता समेत रहेका प्राध्यापक डा. सुरेन्द्र भण्डारीले न्यायाधीश र अधिवक्ताबीच भएको इच्छाराम तामाङसमेतको विषयमा घुस खाने कुरामा भएको अडियोले सिंगो न्यायपालिका र मिडियालाई नै प्रभावित पारेको बताए । उनले अडियो प्रकरणले कानुन व्यवसायी र न्यायाधीश आपसमा मिलेर मुद्दामा न्याय किनबेच हुँदो रहेछ भनेर सन्देश दिएको उनको भनाई थियो । न्यायाधीश र अधिवक्ताबीच भएको अडियो प्रकरण ज्यादै लज्जास्पद भएको पनि उनले बताए । उनले भने,‘कानुन व्यवसायीहरुलाई आज शिर उठाउन गाह्रो भएको छ, न्यायको याचना गर्ने न्यायवादी व्यक्तिहरुलाई आज संकोच भएको छ ।’ 
न्यायालयमा यो नै पहिलो र अन्तिम घटना नभएको उनले दाबी गरे । उनले भने,‘यसमा बाहिर नआएका कति घटना छन् भन्ने सजिलै आंकलन गर्न सकिन्छ । न्यायलयलाई कसरी बिगारिदै छ भनेर हरिकृण कार्कीले ल्याएको प्रतिवेदनलाई अझै साबित गरेको छ ।’ प्रधानन्यायाधीशले यो घटना बाहिरीए लगत्तै आपतकालिन न्याय परिषद् बैठक बोलाएकोमा भण्डारीले धन्यवाद दिए । 
न्याय परिषदले अडियोप्रकरण छानबिन गर्न ३ जनाको छानबिनको समिति बनाएको र ४५ दिनको समय दिएकोमा भने उनले आपत्ति जनाए । अडियोमा भएको आवाज आफ्नै हो भनेर गल्ती स्वीकार गरिसकेको अवस्थामा पनि छानबिन गर्न लामो समय (४५ दिन) दिँदा न्याय मर्ने उनको भनाई थियो । 


वरिष्ठ अधिवक्ता धुव्रलाल श्रेष्ठले  न्यायपालिकाको घटना सबैलाई जगजाहेर रहेको बताए । न्यायलय शुद्धिरकरणको यसअघि पनि धेरै प्रयास भएपनि अहिलेसम्म भएका प्रयासले ठोस उपलब्धि हासिल गर्न नसकेको उनको भनाई थियो । 
आफूहरुले चलाएको न्याय शुद्धिकरण अभियानले भने सफलता पाउने विश्वास व्यक्त गरे । अभियान न्यायपालिकाको यथार्थ, सत्य कुराको वकालत र जहाँ गल्ती गरेको छ त्यसलाई उजागर गर्न एउटा प्लेटफमको रुपमा रहने पनि बताए । 

अधिवक्ता युवराज कोइरालाले जनताको अन्तिम आस्थाको केन्द्र भनेको न्यायालय नै भएको बताए । उनले न्यायालय शद्धिकरणको लागि आफुहरु गोलबद्ध भइरहेको सुनाए । कोइरालाले केही दिन अघि सार्वजनिक भएको अडियो, न्यायालयमा भएको बिसंगती, न्यायालयको शुद्धिकरणको लागि आफुहरु अघि बढेको दाबी गरे । न्यायाधीश र कानुन व्यवसायीबीच भएको अडियो प्रकरण, सम्पुर्ण न्यायधीशहरुको सम्पक्ति शुद्धिकरण, न्यायालय हड्तालविरुद्ध कसरी आवाज उठाउने भन्ने बारेमा आज स्पष्ट पार्न पत्रकार सम्मेलनको आयोजना गरिएको बताए ।