संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौँमा सोधेर जहाज कतिबजे आउछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानु पर्ने दिनको अन्त भएको बताएका छन् ।
कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरीने टर्मीनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण कार्यको शिलान्यास गर्नु हुँदै मन्त्री आलेले सुदूरपश्चिमका यात्रुहरुले प्लेन आउने नआउने विषयमा काठमाडौँबाट जानकारी लिनु पर्ने अवस्थाको अन्त भएको बताएका हुन् । उनले भने, “जहाज सञ्चालन कम्पनीले जहाँबाट वेस लिएको छ, यहिबाट पहिलो उडान भर्नु पर्ने नियम लागु गराएको छु, अब धनगढीबाट पनि पहिलो उडान हुने छ, जहाज आउने नआउने बारे काठमाडौँमा सोध्नु पर्ने छैन् ।”
भोली असार १३ गतेबाट लागु हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीहरुले आफ्नो पहिलो उडान भर्नु पर्ने निर्णय लागु भएको जानकारी गराउदै मन्त्री आलेले अब गेटा विमानस्थलबाट पनि पहिलो उडान हुने बताए । “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज पार्किङका लागि समस्या थियो, जहाज टासिएर पार्किङ गरिने हुँदा ठोकिएको खण्डमा ठूलो र्दुघटना हुन सक्ने भएकाले जहाज सञ्चालक कम्पनीले बेस लिएका ठाउँबाट पहिलो उडान भर्न र नाइट स्टपका लागि पनि त्यहि जान हामीले निर्णय गरेका छौँ, अब गेटा विमानस्थलमा पनि नाइट स्टपका लागि जहाज पार्किङ हुने छन् ” उनले भने । मन्त्री आलेले कैलालीको धनगढी स्थित गेटा विमानस्थलको स्तरोन्नती सहित क्षेत्रीय अन्तर्राष्ट्रि स्तरको बनाउनका लागि शुभारम्भ कार्य भएको जानकारी गराए ।