बुधबार, भाद्र ३ गते २०८३

बिषाक्त हावाका कारण बिमारी र खण्डबृष्टि

आषाढ ११, २०७९ शनिबार
बिषाक्त हावाका कारण बिमारी र खण्डबृष्टि

कालो कार्बन जलवायु परिवर्तनका साथै बिश्व तापमान बढाउनका लागि समेत जिम्मेवार छ । सम्पूर्ण जीवनको लागि सबैभन्दा पहिलो आवश्यकता हावाकै हुन्छ । त्यसैले यदि यो प्राणपण बायु प्रदुषित भयो भने प्राणीहरु र त्यसमा पनि मानिस बिमार पर्दछ । बिश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले गरेको एउटा अनुसन्धानका अनुसार बिश्व स्तरमा २०१२ मा प्रत्येक आठजनामा एक जनाको मृत्यु बायु प्रदुषणका कारणले हुने गरेको पाइएको थियो । त्यस बिश्व स्वास्थ्य संगठनकी सार्बजनिक तथा पर्यावरणीय स्वास्थ्य प्रमुख मारिया नीराले भनेकी थिइन् : ’घर भित्र र बाहिर बायु प्रदुषण एउटा ठूलो पर्यावरणीय समस्या हो । यसले बिकसित तथा बिकासशील दुबै किसिमका देशहरु प्रभावित गरिरहेको छ । हावामा बढ्दो कार्बनका कारणले वायुमण्डल दुषित हुन पुग्दछ ।  त्यसले हाम्रो बर्षालाई पनि प्रभावित तुल्याउँदछ । वास्तवमा यही प्रदुषण खण्ड बृष्टिको कारण बन्ने गर्दछ । हामी एकातिर बिकासको नाममा बन जंगल जथाभावी काट्ने गर्दछौं । अर्कोतिर जतासुकै अब्यवस्थित र अन्धाधुन्ध शहरीकरण भइरहेको छ । सडकहरुमा दौडने बाहनहरुले कार्बन मोनोअक्साईड छोड्दछन् । हावामा कालो कार्बनको मात्रा यसरी दिनदिनै बढिरहेको छ । साना ठूला कल कारखानाहरुले पनि वायु प्रदुषण बढाइरहेका छन् । केही बर्ष पहिला बिश्व स्वास्थ्य संगठनले बढ्दो प्रदुषणका कारणले सबैभन्दा बढी प्रभावित क्षेत्रहरुको अध्ययन गरेको थियो ।

बिश्व वायु प्रदुषणको सबैभन्दा बढी प्रभावित क्षेत्रहरुमा भारत, इण्डोनेशिया लगायत दक्षिण पूर्व एशिया, चीन, दक्षिण कोरिया, जापान र फिलिपिन्स छन् । वायु प्रदुशषणबाट हुने गरेका घातक बिमारहरु बढिरहेका छन् । यसमा मुटु रोग, फोक्सोको रोगसँग सम्वन्धित बिमारीहरु पर्दछन् । यस सन्दर्भमा फोक्सोका क्यान्सर आदि वायु प्रदुषणबाट बिमारी भएर २०१२ मा मात्र बिश्वमा ७० लाखभन्दा बढी मानिस कालकलवित भएको तथ्य औंल्याइएको थियो । वायु प्रदुषणका कारणले यसरी मृत्यु हुने संख्या लगातार बढ्दै नै गएको छ ।

OIP.jfif

हावा कालो हुने गति बढिरहेको छ । हावामा कायम रहेको ब्ल्याक कार्बनले श्वास प्रश्वास सम्वन्धि रोगहरुलाई बढाइरहेको छ । यो क्यान्सरकारी पनि बन्न सक्तछ । शहरी क्षेत्रहरुमा ब्ल्याक कार्बन उत्सर्जित भइरहेको छ र शहरबासी मानिसहरु यसको शिकार भइरहेका छन् । पृथ्वीमा तापमान बढाउन कार्बन डाइअक्साईड पछि यही ब्ल्याक कार्बनाई बैज्ञानिकहरुले ग्लोबल वार्मिङ्गको दोश्रो कारण मानेका छन् । ब्ल्याक कार्बनको मूलरुप कार्बन एयर सोल परिवारकै अंश हो ।जसले जीबाश्म इन्धन मूख्यगरी डीजेल, पेट्रोलको अर्पूण दहनबाट उत्पन्न हुने गर्दछ । ब्ल्याक कार्बनको बढोत्तरीका कारण बढ्दो संख्यामा बाहन चल्नु हो । प्रदुषणकारी बाहनहरुको संख्यामा बृद्धिलाई अझ थप ‘एट्मोसफियरिक बाउण्डरी लेयर’को प्रभाव मानिन्छ ।

ब्ल्याक कार्बनलाई जलवायु परिवर्तनका साथै बिश्वब्यापी तापमान बढाउनका लागि पनि जिम्मेवार मानिएको छ । बैज्ञानिकहरु के भन्दछन् भने ब्ल्याक कार्बनले बर्षालाई पनि प्रभाव पार्दछ ।यसले मनसुन चक्रमा परिवर्तन ल्याइदिछ ।ब्ल्याक कार्बनको बढी मात्राले बादलमा पानीका थोपा बिस्तार हुने प्रकृयालाई रोकिदिन्छ । त्यसले गर्दा क्षेत्र बिशेषमा सुख्खाको स्थिति उत्पन्न हुनसक्छ । अन्धाधुन्ध किसिमले बढेका उद्योगधन्धाहरु जसले पर्यावरणलाई अपहेलना गरिरहेका छन् र तिनका कारणले बातावरण तीब्ररुपले बिषाक्त हुदै गइरहेको छ । एउटा उदाहरण भारतको छत्तिसगढको राजधानी रायपुर तथा त्यस वरिपरी कालो धूलोको कणको जालोले मनसुनलाई प्रभावित गर्न सक्तछ भन्ने रहेको छ । हावामा अग्र्यानिक कार्बनले सूर्यको प्रकाशलाई अबशोषित गर्दछ ।जसलेगर्दा तापमान बढ्दछ,फलतः सूर्यको किरण शरीरमा पर्नेबित्तिकै घोचेजस्तो स्थिति हुन्छ । जबकि ‘एलिमेण्टल’ कार्बनले सूर्यको किरणलाई पराबरतित गर्दिन्छ । यसले बातावरणमा चीसोपना बढाउँदछ । हावामा यस्तो प्रकारको प्रदुषणले स्वास्थ्यमा प्रभाव पार्दछ भने त्यसले मनसुनलाई पनि प्रभाबित तुल्याउँदछ र खण्डबृष्टि यसैकारणले हुने गर्दछ ।

बिषाक्त हावाबाट बचिरहन र खण्ड बृष्टि नहोस्,फैलँदो बायु प्रदुषणका कारण मानिसहरु घातक रोगहरुका शिकार नबनुन् भन्नका लागि ठोस कदम उठाउदै पर्दछ । जहाँ जहाँ प्रदुषको श्रोत छ सबैभन्दा पहिला त्यहाँबाट फैलँदो प्रदुषणलाई रोक्नु पर्दछ ।पुरानो प्रबिधिमा आधारित त्यस्ता उद्योग जसले बढी वायुमण्डल र वातावरणलाई बढी प्रदुषित तुल्याउँदछन्, त्यस्ता उद्योगधन्धाको प्रबिधिलाई बद्लिनु पर्दछ । सडकमा चल्ने १० बर्षभन्दा बढीका बाहनहरु जसले बढी प्रदुषण पैदा गर्दछन् ती सबैलाई हटाइनु पर्दछ । ‘बायोलोजिकल तथा सोलिड वेस्ट’बाट निजात पाउनका लागि समुचित प्रवन्ध गरिनु पर्दछ । कतै पनि फोहोर मैलालाई जलाउने कुरामाथि प्रतिबन्ध लगाउनु पर्दछ ।यसका लागि नागरिक चेतना पनि जगाउनु अत्यावश्यक छ । भोजन पकाउन र अन्य यस्तै आगो बाल्ने कार्यमा काठ दाउराको तथा कोइलाको उपयोग सीमित तुल्याइनु पर्दछ । जसले गर्दा बातावरणमा कार्बन डाईअक्साईडको उत्सर्जन कम मात्र हुन सकोस् ।

आज हावामा बढ्दो बिषाक्तता र कालो धूलोका कणहरलाई रोक्नका लागि बनाइएका नियम कानुनहरु मात्र पर्याप्त छैनन् । यस स्थितिलाई चिर्न र निराकरण गर्न थप ठोस कदमहरुको आवश्यकता छ । यसो गर्न तिर ध्यान दिइएन र गर्न सकिएन भने एक दिन शहरहरु जिउदो जाग्दो ग्यास चेम्बरमा परिणत हुने कुरामा कुनै सन्देह छैन । त्यसमा परेर मानिसहरु बिस्तारै बिस्तारै अज्ञात मृत्यु तर्फ अग्रसर भइरहने छन् ।