सर्वसाधारण बचतकर्ताको आठ अर्ब रुपैया ठगी गरेको मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न दुई करोडको डिल भएको अडिओ सार्वजनिक भएको हाे।
काठमाडौं जिल्ला अदालतले सिभिल सेभिङका अध्यक्ष तामाङले बचतकर्ताको आठ अर्ब रुपैया हिनामिना गरेको आरोपमा गत पुष महिनामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
न्युज २४ को टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको टेलिफोन संवाद मंगलबार साँझ प्रसारण गरेको थियो । झन्डै १० मिनेट लामो उक्त अडिओमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरि–फेरि नआउने भन्दै धरौटीमा छोड्ने आदेश दिन भनेका छन् । त्यसका लागि आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिएका छन्।
सुरूमा आफ्नो जागिर जान्छ कि भनेर डराएका न्यायाधीश कोइराला उच्च अदालतमा पनि उनकै आदेश सदर गराउने अधिवक्ता पोखरेलको आश्वासनपछि सहमत हुन्छन्। जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच त्यसअघि नै लेनदेनको कुरा हुने गरेको आभाष उक्त अडियो दिएको छ ।