नेपाल आयल निगमले असार ५ गते राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थमा उच्च मुल्य वृद्धि गरेको छ । पेट्रोलमा २१ र डिजेल/मट्टितेलमा प्रतिलिटर २७ रुपैयाका दरले मुल्य बढाइएको छ । पेट्रोलियम पदार्थमा एकै पटक यति धेरै परिमाणमा मूल्य बढेको पहिलो पटक हो ।
एक लिटर पेट्रोलको मोल १७८ बाट बढेर १९९ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको १६५ बाट १९२ रुपैयाँ पुर्याइएको छ। एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ।
हवाई इन्धनमा आन्तरिकतर्फ लिटरमा १९ रुपैयाँले बढाएर १८५ रुपैयाँ पुर्याएको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलरले बढाएर १६४५ डलर पुर्याएको छ।
इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न बाँकी बक्यौता असार ९ मा २२ अर्ब पुग्ने देखिएको र खरिद मुल्य समेत बढ्दै गएकोले निगम चरम आर्थिक संकटबाट गुज्रिरहेकोले सञ्चालक समितिको निर्णयले मूल्य बढाएको भनिएको छ । मूल्य वृद्धिपछि पनि निगम दुई सातामा अनुमानित घाटा २ अर्ब ३५ करोड रहेको जनाएको छ।
अहिलेनै पेट्रोलको लागत मूल्य २१२.५८ रुपैयाँ र डिजेलको करिब २०६ रुपैयाँ रहेको निगमले जनाएको छ ।