जिल्ला सहकारी संघ, काभ्रेको आयोजना र कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेको व्यवस्थापनमा दुई दिने व्यवस्थापन प्रमुखहरुको गोष्ठी सुरु भएको छ । जिल्ला संघ स्तरबाट सम्भवत मुलुकमै पहिलो गोष्ठीको आयोजना गरिएको हो । सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनका लागि संघले दुई दिने गोष्ठी आयोजना गरेको हो ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको गोष्ठीको चार वटा विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ ।
गोष्ठीको पहिलो दिनमा प्रभावकारी वित्तीय संरचनाको विषयमा विषय विज्ञ कुवेर निरौलाले प्रस्तुत गर्दै वित्तीय संरचना, वित्तीय व्यवस्थापन, पूँजीको स्रोत र प्रकार, पूँजी परिचालनको पूर्ण व्यवस्थापन जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी राष्टिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका विषयमा डा. देवराज रोका, प्रभावकारी ऋण असुली विषयमा नेफ्स्कुनका सिइओ प्रकाश पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । पोखरेलले ऋण के हो ? भाखा नाघेको ऋण, भाखा नाघ्नुका कारण, ऋणका जोखिमहरु र न्युनिकरणका उपायमा प्रस्तुतिकरण गरेका छन् । एम बैंकका व्यापार प्रमुख सन्जय महासेठले सहकारी प्रविधिको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सहकारी क्षेत्रमा कार्यरत व्यवस्थापन प्रमुखहरुको व्यवस्थापकीय क्षमतामा विकास गर्ने, सहकारी क्षेत्रमा आवश्यक नवीनतम प्रविधिहरुको खोज, अभ्यास, अनुसन्धान र आवश्यकताका विषयमा अनुभव आदानप्रदान गर्ने र सहकारी क्षेत्रमा देखिएका जोखिमहरुको पहिचान गरी न्युनिकरणका उपायहरु अबलम्वन गर्ने उद्देश्यले दुई दिने गोष्ठीको आयोजना गरिएको संघका अध्यक्ष दिलिप शर्माले बताए । काभ्रेका सहकारीमार्फत २१ अर्बको पूँजी परिचालन भएको र त्यो पूँजीलाई उत्पादनसँग जोड्न सके रोजगारी सिर्जना र आर्थिक समृद्धिमा पनि टेवा पुग्ने उनको भनाई छ ।
सहकारीमा संकलित पूँजी अनुत्पादक क्षेत्रमा परिचालन भईरहेको सन्दर्भमा यस गोष्ठीले व्यवस्थापकहरुलाई आयआर्जन र उत्पादनमुलक क्षेत्रमा पूँजी परिचालन गरी वर्तमान तरलता संकट र सदस्यहरुको जीवनस्तरमा प्रभाव पार्ने गरी काम गर्न समेत सघाउन टेवा पुग्ने शर्माले बताए । सञ्चालक संस्थामा निर्णय गर्ने भए पनि कार्यान्वयन गर्ने व्यक्ति व्यवस्थापकहरु नै भएकाले उनीहरुको क्षमता अभिवृद्धि गर्दा संस्थालाई नीतिगत रुपमा अगाडि बढाउन टेवा पुग्ने सुशासन र विधिलाई पालना गर्न अभिप्रेरित गर्ने भएकाले जिल्लामा पहिलोपटक यो कार्यक्रम गरिएको हो । विशेषतः बचत संघले यस्ता कार्यक्रम विगतमा गरेको भएपनि जिल्ला सहकारी संघले भने सम्भवत मुलुकमा नै पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको हो । गोष्ठीले जिल्लाको सहकारी अभियानको समस्या समाधानका साथै एकताको सन्देश दिने समेत शर्मा बताउँछन् ।