शनिबार, आश्विन १७ गते २०८३

दूरदराजका जनताको जीवनस्तर उकास्न सहकारीले खेलेकाे भूमिका प्रशंसनीय: गृहमन्त्री खाँड

जेठ २९, २०७९ आइतबार
दूरदराजका जनताको जीवनस्तर उकास्न सहकारीले खेलेकाे भूमिका प्रशंसनीय: गृहमन्त्री खाँड

चौथो साकोस शिखर गोष्ठी सुरु

आजबाट चौथो साकोस शिखर गोष्ठी काठमाडौंमा सुरु भएको छ ।  ‘दीगो एवं एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि’ भन्ने मुल भाव र संकल्पका साथ आयोजित शिखर गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गरेका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँडले बचतबाट स्रोत र साधनलाई उर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र रहेको बताए । नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको उनले जनाए । 

सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सम्पूर्ण सहकारीकर्मीलाई आग्रह गर्दै उनले भने, ‘राज्यले गर्न नसकेको काम सहकारी गरेको छ । दूरदराजका दिदीबहिनी, आमाहरुलई पनि सशक्त बनाउने र घर, समाज सुधार्ने काममा पनि सहकारीले भूमिका खेलेको छ ।’ सहकारी अभियानप्रति सरकार सकारात्मक रहेको उनले प्रष्ट पारे ।  

कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले पछिल्लो समय सहकारीहरुले गरेको गलत कामको गुनासो बढ्दै गएको जनाए । सहकारीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएको लगायतमा गुनासो आएकोले त्यस्तो नगर्न उनले आग्रह गरे । हालै सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न उनले आग्रह गरे । 

त्यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सरकारले सहकारीको आयकरको दर बढाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए । आयकरको दर पुरानै कायम गर्न उनले नेपाल सरकारलाई आग्रह गरे । त्यस्तै बचत तथा ऋण सहकारी संस्थाको नियमनको लागि छुट्टै बचत ऋण ऐनको माग समेत उनले गरे । 

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोभिड महामारीले सृजना गरेका वित्तीय सक्षमता, स्थिरता र स्वस्थताका विषयको यथोचित सम्बोधन गर्ने दाबी गरे । साकोस अभियानको शक्ति, सामथ्र्य र सहनशीलताको बलमा चुनौतीहरु सामना गर्न सकिने विश्वास उनको छ । लामो बहसपछि बचत ऋण सहकारीहरुका लागि स्थिरीकरण कोष सञ्चालनमा आएपनि यसका कतिपय कानुनी प्रावधानहरु अभियानमैत्री बनाउनुपर्ने आवश्यकता रहेको तर्फ प्रमख अतिथि लगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराए । अध्यक्ष पौड्यालले कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरणसँगै छुट्टै साकोस ऐनको आवश्यकता रहेको बताए । 

saccos shikhar.jpg

शिखर गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ । कोभिड चुनौतीपछि सहकारीमा प्रविधिको आवश्यकता बढेकोले गोष्ठीका सबै कार्यपत्रहरुमा प्रविधिलाई विशेष प्राथमिकता दिइएको नेफ्स्कूनले बताएको छ ।

 “दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि” भन्ने मुल भाव र संकल्पका साथ आयोजित गोष्ठीको उद्घाटन समारोहमा अतिथिहरु पूर्व मन्त्री एवं सहकारी अभियन्ता केशव प्रसाद बडाल, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका नि। सचिव जनकराज जोशी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहाल लगायत विभिन्न राजनीतिक पार्टीका प्रतिधिहरु, अन्तराष्ट्रिय व्यक्तित्वहरु, मुख्य सरोकारवाला पक्षहरु, अभियानकर्मी, नियमनकारी निकायका जिम्मेवार अधिकारीहरु, सम्बन्धित सरोकारवालाहरु एवम् विकास साझेदारहरु सहभागिता रहेको छ ।

दुई दिवसीय गोष्ठीको उद्देश्य वित्तीय सहकारीका सिद्धान्त, संस्कृति र प्रणालीबारे साझा बुझाई सहितको प्रतिवद्धता विकास गर्ने रहेको छ भने वित्तीय सहकारीमा एकरुपता कायम गर्न डिजिटाइजेशनको लागि नयाँ प्रविधि अनुकरण र हस्तान्तरण गरि समावेशी एवम् स्मार्ट सेवा सुनिश्चित गर्ने रहेको छ । 

गोष्ठीको पहिलो दिन दुईवटा सामुहिक सत्र र दुईवटा ब्रेकआउट सत्र सञ्चालन हुनेछन् ।  पहिलो सामुहिक सत्र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरलले साकोस अभियानको मार्गचित्रः दिगो एवम् एकीकृत सञ्चाल विषयक प्रस्तुतिकरण रहनेछ भने सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले त्यसमाथि टिप्पणी गर्नेछन् । 

त्यसैगरि दोस्रो सामुहिक सत्र रारा ल्याव प्रालिका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र नियोसिस प्रालिका प्रमुख कार्यकारी अधिकृत भोजराज घिमिरेबाट सहकारीमा प्रविधिको प्रयोगः विद्यमान चुनौति र समाधान विषयक कार्यपत्र प्रस्तुत हुनेछ भने व्यवस्थापन विज्ञ सोहन बाबु खत्रीले टिप्पणी गर्नेछन्। 

त्यसैगरी दुईवटा ब्रेकआउट सत्रमध्ये सहकारीमार्फत गरिबी न्यूनीकरण बरिष्ठ अनुसन्धानकर्ता विधान आचार्यले र मर्यादित श्रम र आर्थिक समृद्धि कृषि तथा बन विज्ञान विश्वविद्यालयका प्रा. डा. शारदा थपलियाको प्रस्तुतिकरण रहेनछ । 

दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरका करिब ६ सय ५० बचत ऋण सहकारीकर्मीहरुको सहभागिता रहेको छ ।

saccos 2.jpg