शनिबार, आश्विन १७ गते २०८३

असार मसान्तभित्र सबैलाइ इम्बोस्ड नम्बरप्लेट अनिवार्य होइन : विवादित सूचनापछि यातायात व्यवस्था विभागको स्पष्टोक्ति

जेठ २४, २०७९ मंगलबार
असार मसान्तभित्र सबैलाइ इम्बोस्ड नम्बरप्लेट अनिवार्य होइन : विवादित सूचनापछि यातायात व्यवस्था विभागको स्पष्टोक्ति

 

गत जेठ २० गते यातायात व्यवस्था विभागले एक सूचना जारी गरी बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै सवारी साधनले अनिवार्य असारमसान्त भित्र इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने जनायो । यस विषयमा चौतर्फी विरोध भएपछि विभागले पत्रकार सम्मेलन गरेर २०७८ मंसीर महिनायता खरिद भएका सवारीमा मात्र अनिवार्य गरिएको जनाएको छ । अन्य सवारीसाधनको हकमा विस्तारै जडान गर्दै जाने विभागले जनाएको छ । 

विभागका महानिर्देशक नमराज घिमिरेले विभागले इम्बोस्ड नम्बर प्लेट जडानमा सहयोग पुर्‍याउन सबैलाई आग्रह गर्दै यो कार्यक्रम विश्व प्रविधिमा अन्य मुलुक जस्तै फड्को मार्न सरकारले यो कार्यक्रम लागू गरेको बताए। 

‘हामीलाई कुनै रहर लागेर अथवा सनक चढेर यो नीति कार्यान्वयनमा आएको होइन। नेपालको सार्वभौम संसदले ऐन बनाएर इम्बोस्ड नम्बर प्लेट सम्बन्धी व्यवस्था गरेको छ। ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न हामीले जमर्को गरेका हौं,’ उनले भने। 

तोकिएको समयसीमा भित्र इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाहीमा परिने हुँदा विभागले समयसीमा भित्र काम सक्ने योजना सारेको उनको भनाइ छ। 

‘हामीलाई दिएको समयसीमा अनुसार अबको १५ महिनामा २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने परियोजनाको सम्झौता पत्रमा उल्लेख छ,’ उनी भन्छन्, ‘सम्झौता कार्यान्वयन नगरेको अवस्थामा भोलि सरकारलाई उत्पन्न हुनसक्ने आर्थिक तथा अन्य दायित्वका सम्बन्धमा जवाफ दिनुपर्ने हुँदा सरकारले हामीलाई दिएको जिम्मेवारी पूरा गर्ने हाम्रो प्रयास हो।’

उल्लेखित कार्यालयहरूमा दर्ता भएका सवारीहरूमा इम्बोस्ड नम्बर प्लेट जडान नभए साउन १ गतेपछि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरी कारबाही गरिने सूचनामा भनिएको थियो। यो सूचनाको सामाजिक सञ्जालदेखि संसदसम्म विरोध भएको छ। पूर्वाधार नपुगेको, शुल्क निकै महँगो भएकोलगायत विषयमा विरोध भइरहेको छ।

महानिर्देशक घिमिरेले गण्डकी र बागमती प्रदेशमा गुड्ने सबै सवारीमा साउन १ अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने बताए। करिब २५ लाखको संख्यामा रहेका सवारी साधनमा हाल कायम रहेका जनशक्ति र श्रोतसाधनको व्यवस्थाले असारभित्रमा इम्बोस्ड नम्बर प्लेट जडान हुन सम्भव नभएको स्वीकारोक्ति विभागको छ । 

मंसीर महिनायता खरिद गरेकाहरूले साउन १ गतेभन्दा अगाडि इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने, गत फागुन १ गतेभन्दा नामसारी गरिएको छ भने ती सवारीमा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने र जेठ १ गते पछाडि नवीकरणका लागि जानेहरूले पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उनले बताए।

1 e.jpg2 e.jpg3 e.jpg4 3.jpg