सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सहकारी क्षेत्रमा बढाएको आयकर घटाउन नेकपा एमालेले माग गरेको छ ।
एमाले पार्टी मुख्यालय ललितपुरमा शनिवार बसेको नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले विभागको बैठकले सरकारले सहकारी क्षेत्रमा बढाइएको आयकरका सम्बन्धमा गंभीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल समायोजन गर्न माग गरेको हो ।
सहकारी ऐनमा व्यवस्था भए अनुरुप सहकारी क्षेत्रको आयकरको व्यवस्था गर्न विभागले आग्रह गरेको छ । सहकारी क्षेत्रको प्रवर्धनका लागि तत्काल आयकर समायोजन गर्न माग गरिएको एमाले पोलिटव्यूरो सदस्य एवम् सहकारी तथा गरिबी निवारण विभाग प्रमुख कमल चौलागाईले बताए ।
बैठकमा पार्टीको लेखा आयोगका सदस्य मिनराज कंडेल, विभागका पूर्व सचिव के.बी.उप्रेती, विभागका सदस्यहरु रमेशप्रसाद पोखरेल र परितोष पौड्यालले सहकारीको अवस्था र आयकरका सम्बन्धमा जानकारी गराएका थिए ।
एमाले केन्द्रीय सचिवालय बैठकले सहकारी तथा गरिवी निवारण विभागमा २३ जनालाई सदस्य मनोनयन गरेको छ । पार्टीका पोलिव्यूरो सदस्य कमल चौलागाई प्रमुख तथा केन्द्रीय सदस्यहरु अमृता सुब्बा र निर्मल कुमार भट्टराई उपप्रमुख रहेको विभागका सदस्यहरुमा सहकारी अभियानका अगुवाहरु रमेश प्रसाद पोखरेल, के.बी.उप्रेती, डिबी बस्नेत, परितोष पौड्याल, खेम बहादुर पाठक, भीम तुलाचन, रामचन्द्र उप्रेती, हरिहरनाथ योगी, सरिता भट्टराई, राम बहादुर जि.सी., शान्ति अधिकारी, विश्वनाथ मण्डल, महेन्द्र गिरी, टेक प्रसाद चौलागाई, रामशरण शर्मा घिमिरे, भुवन विक्रम घिमिरे, मिना ढकाल, देवराज पराजुली, शम्भु गुप्ता, डा.खगराज शर्मा, केशव पोखरेल, जिवछराज खड्का र खेमराज सुवेदी रहेका छन् ।