सहकारी क्षेत्रको प्रतिनिधित्व गर्ने सहकारीकर्मीहरु पनि हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका छन् । सहकारीका प्रारम्भिक संस्था, जिल्लागत संघ, केन्द्रीय संघ, सहकारी बैंक र राष्ट्रिय सहकारी महासंघको सञ्चालक समिति र लेखासमितिमा बहाल रहेका धेरै व्यक्तिहरु जनप्रतिनिधिको रुपमा निर्वाचित भएका छन् ।
सहकारी संघ वा संस्थाको अध्यक्ष, सञ्चालक र लेखा समितिमा रहेका व्यक्तिहरु वडा सदस्य, वडा अध्यक्ष देखि गाउँपालिका र नगरपालिकको प्रमुख तथा उपप्रमुख विजयी भएका छन् । राष्ट्रिय सहकारी महासंघका सञ्चालक रामकृष्ण खाँड तिलोत्तमा नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । सहकारी बैंककी सञ्चालक सरिता भट्टराई सूर्यविनायक नगरपालिकाको उपमेयरमा एवं नेफ्स्कुनका सञ्चालक द्वय यज्ञप्रसाद ढकाल भेरीगंगा नगरपालिकाको नगरप्रमुख र जनक खत्री चाँगुनारायण नगरपालिका वडा नं ८ को अध्यक्ष मा निर्वाचित भएका छन् ।
मुलुकभरबाट सहकारी क्षेत्रमा आवद्ध रहेका सयौं व्यक्ति विभिन्न राजनीतिक पार्टीको तर्फबाट उमेदवार भएर स्थानीय निर्वाचनमा निर्वाचित भएका छन् । सहकारी ऐन २०७४ र नियमावली २०७५ ले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सहकारी संघसंस्थाको सञ्चालक तथा लेखा समितिमा रहन नपाउने व्यवस्था गरेको छ ।
नियमावलीको दफा ८१ को उपदफा १ र २ ले प्रत्यक्ष वा मनोनित भइ सार्वजनिक पदमा बहाल रहेका व्यक्तिहरु सहकारी संघसंस्थाको सञ्चालक र लेखा समितिमा रहन नपाउने कानुनी व्यवस्था गरेको छ । त्यसैगरी सहकारी विभागले हालै जारी गरेको ३५ बुँदे एकिकृत निर्देशनको २ नं बुँदामा पनि उक्त विषयलाई समेटिएको छ । त्यस्ता व्यक्तिले आफु रहेको संस्था वा संघमा तत्काल राजीनामा दिनुपर्ने निर्देशनमा उल्लेख छ भने रिक्त पद आगामी साधारणसभामा उपनिर्वाचनबाट परिपूर्ति गर्न सकिने भन्ने उल्लेख छ ।
सहकारीभित्र छिर्दा राजनीतिको जुत्ता फुकालेर मात्र छिर्नुपर्ने भावना अनुरुप जनप्रतिनिधिको रुपमा निर्वाचितहरुले आफु रहेको संघसंस्थाबाट निर्वाचित् भएलगत्तै राजीनामा दिई सहकारी ऐन र नियमावलीलाई पालना गर्नुपर्ने देखिन्छ । सहकारीको मुल मर्म र भावना अनुरुप संघसंस्थालाई अगाडि बढाउन यसले सहयोग पुग्छ ।
सहकारी ऐन र नियमावलीमा यी व्यवस्था भएपनि ऐन कार्यान्वयनमा सम्बन्धित निकायले कत्तिको तदारुकता देखाउलान् भन्ने विषय गम्भीर रुपमा उठेको छ ।
बिन्धबासिनीको फरक अभ्यास

काभ्रेमा रहेको बिन्धबासिनी साकोसले भने स्थानीय तहको निर्वाचनमा भाग लिने उमेदवारहरुका लागि फरक अभ्यास गरेको छ । संस्थाले चुनावमा उमेदवारी दिन चाहने सञ्चालक तथा लेखासमिति र उपसमिति सदस्यले उमेदवारी दिनुपूर्व नै राजीनामा दिनुपर्ने व्यवस्था लागु गरेको छ । संस्थाले सो विषयमा संस्थाले निर्वाचन निर्देशिका बनाएर लागु गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बी. लामाले बताए । संस्थाका सचिव रामशरण भण्डारी पनौती नगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । उनले चैत्र २१ गते नै संस्थाको सञ्चालकबाट राजीनामा दिएका थिए । त्यसैगरी खोपासी उपसमितिका कोषाध्यक्ष कृष्ण बहादुर लामा र नमोबुद्ध व्यवस्थापन उपसमितिका सदस्य राममणि हुमागाईंले पनि उमेदवारी दिनु अघि नै राजीनामा दिएका थिए । लामा बेथानचोक ४ बाट वडा अध्यक्ष निर्वाचित भएका छन् भने हुमागाईं नमोबुद्ध नगरपालिका ८ को वडा सदस्यमा निर्वाचित् भएका छन् ।