बीमा समितिले बीमालेख समर्पण गर्ने र कर्जा प्रवाह गर्ने विषयमा कडाइ गरेको छ । बीमालेख समर्पण गर्ने र बीमालेख धितोमा कर्जा प्रवाह गर्दा विकृति बढ्दै गएपछि बीमा समितिले यस्तो कदम चालेको हो ।
समितिले पहिलोपटक जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गरी यस अघि पटकपटक जारी भएका निर्देशनहरुलाई समेट्नुका साथै केहि विषयवस्तुलाई थप स्पष्ट बनाएको हो । निर्देशिकाले जीवन बीमा गर्दाको प्रक्रिया र प्राविधिक पक्षलाई स्पष्टता प्रदान गरेको समितिको भनाइ छ ।
निर्देशिका अनुसार अब बीमालेख जारी भएको ३ वर्षपछि मात्र बीमित स्वयमले पोलिसी समर्पण गर्न पाइने छ । बीमालेख धितो कर्जा लिन पनि बीमालेख जारी भएको ३ वर्षपछि मात्र पाउने व्यवस्था गरिएको छ । एकैपटक बीमाशुल्क भुक्तानी गर्ने ग्राहकको हकमा पनि यो व्यवस्था लागू हुने निर्देशिकाले जनाएकाे छ ।
पहिला पोलिसी समर्पण र बीमालेख धितो कर्जामा २ वर्षको समय सीमा तोकिएको थियो, अहिले त्यसको सीमा बढाएर ३ वर्ष पुर्याइएको हो ।
समितिले बीमालेख धितो कर्जामा बीमितबाट लिइने ब्याजदरको विषयमा नीतिगत व्यवस्था गरेको छ । अबका दिनमा बीमा कम्पनीहरूले बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको ब्याजदरभन्दा बढी नहुने गरी बीमालेख धितो कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, त्यो कम्पनीको सञ्चालक समितिबाट पनि स्वीकृति गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
अहिले जीवन बीमा कम्पनीहरूले बीमितको बीमालेख धितो राखेर समर्पण भ्यालुको ९० प्रतिशतसम्म कर्जा दिँदै आएका छन् । हालसम्म त्यस्तो कर्जाको ब्याजदरको विषयमा भने समितिबाट कुनै नीतिगत रूपमा निर्णय भएको थिएन । तर, अहिले आएर समितिले त्यसलाई सम्बोधन गरेको हो । सामान्यता यस्तो कर्जामा कम्पनीहरूले बीमितबाट १० प्रतिशतसम्म ब्याजदर लिने गरेको पाइन्छ । तर, अब भने समितिले तोकेअनुसार ब्याजदर निर्धारण गर्नुपर्ने बताइएको छ ।
वार्षिक ५ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क बुझाउने ग्राहकले अब आम्दानीको स्रोत खुलाउनुपर्नेछ । ५ लाख रुपैयाँभन्दा एकल बीमाशुल्क तिर्ने ग्राहकले पनि आम्दानीको स्रोत खुलेको कागजपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
बीमा योजनाको विज्ञापन तथा प्रचारप्रसार गर्ने मामलामा पनि समितिले कडाइ गरेको छ । बीमा योजनाको प्रचार गर्दा समितिबाट स्वीकृत शर्त बन्देजलगायत व्यवस्थाको प्रतिकूल हुनेगरी र दोहोरो अर्थ नलाग्ने गरी विज्ञापन गर्नेुपर्ने निर्देशिकामा उल्लेख गरिएकाे छ ।