राष्ट्रिय सहकारी महासंघ र इन्फो डेभलपर्स प्रा.लि. बीच रणनीतिक साझेदारी भएको छ । एक औपचारिक कार्यक्रम गरी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि कार्यक्रमलाई सम्बोधन गर्दै महासंघकी महाप्रबन्धक थाम्सुहाङले सहकारी अभियानलाई सुशासित र मर्यादित बनाउन इन्फो डेभलपर्ससँग सम्झौता गरेको उल्लेख गरिन् । महासंघको १० वर्षे रणनीतिक योजनामा पनि दिगो एवं मर्यादित सहकारी बनाउने योजना रहेको र सोही अनुरुप सहकारी अभियानलाई प्रविधिमैत्री बनाई डिजिटल ट्रान्स्फरमेशन गर्न यो सम्झौता गरिएको जानकारी दिइन् । बजारमा ७० वटा भन्दा बढि कम्पनीका सफ्टवेयरहरु रहेको र त्यसमध्ये छनौट गरिएका केहि कम्पनीहरुसँग छलफल गर्दा इन्फो डेभलपर्सले बनाएको इन्फिनीटी सफ्टवेयर विश्वासिलो, गुणस्तरीय र भरपर्दो रहेको पाएकाले सो कम्पनीसँग सम्झौता गरिएको उनले बताइन् ।
कार्यक्रममा इन्फो डेभलपर्सका सिइओ रघु रघुवंशीले इन्फिनिटी सफ्वेयरलगायतको विषयमा प्रस्तुति दिएका थिए । सहकारी तथा लघुवित्तलाई मुख्य क्षेत्र बनाएर काम गरेको इन्फो डेभलपर्सले अहिले नेपाल सरकार, एनजीओ आइएनजीओका लागि आवश्यक सफ्टवेयर विकास गरेको बताएको छ । सो कम्पनीले हाल ११०० भन्दा बढी सहकारी संस्था, २० वटा लघुवित्त र केहि बैंकहरुलाई समेत सेवा दिइरहेको रघुवंशीले बताए । क्यापिटल मार्केटमा ९५ प्रतिशत सफ्टवेयर कम्पनीले दिइरहेको उनले जनाए । कम्पनीले गोएमएल, एनआरफ लगायत नियामक निकायले तोकेका अन्य प्रावधानहरुलाई समेत समेट्दै जाने जनाएको छ । नेपालका हरेक क्षेत्रमा नेपालीले नै काम गर्नुपर्छ र नेपालको पैसा बाहिर जान दिन नहुनेमा भन्दै सीइओ रघुवंशीले नेपाली सहकारी अभियानलाई डिजिटाइजेशनमा लैजान आफुहरुले भरपुर टेवा पुर्याएको उल्लेख गरे । इन्फिनिटी सफ्टवेयरमा कोर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम बैंकिङ जस्ता सुविधा रहेको र सातै प्रदेशमा कार्यालय स्थापना गरी प्रयोगकर्तालाई सहज सेवा प्रदान गर्दै जाने उनले उल्लेख गरे ।

कार्यक्रममा सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासंघका अध्यक्ष मिनराज कँडेलले बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले नयाँ प्रविधि भित्राएर युवा पुस्तालाई सहकारीमा आकर्षित गर्नुपर्नेमा जोड दिए् ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारी क्षेत्रमा आएका धेरै सफ्वेयरमध्ये इन्फिनिटी भरपर्दो भएको जनाए । कतिपय कम्पनीले राम्रो सफ्टवेयर निर्माण गरेको भएपनि विक्रीपछिको सेवा नहुँदा समस्या आएको उनले बताए ।
कार्यक्रममा इन्फिनिटी सफ्टवेयर प्रयोग गरिरहेका विकु साकोसका सिइओ माधव पौडेल र बिन्धबासिनी साकोसका सीइओ के. बी. लामा स्याङतान् ले सफ्टवेयरका बारेमा अनुभव साटेका थिए ।