शनिबार, आश्विन १७ गते २०८३

बालेनको मत ४० हजार नाघ्यो, सिंह र स्थापित दोश्रो स्थानका लागि भिड्दै

जेठ ८, २०७९ आइतबार
बालेनको मत ४० हजार नाघ्यो, सिंह र स्थापित दोश्रो स्थानका लागि भिड्दै

 

काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बलेन्द्र शाहको मत ४० हजार नाघेको छ । उनका निकटतम प्रतिद्वन्दीमा नेपाली काँग्रेसकी उमेदवार सिर्जना सिंहले हालसम्म २२७४९ मत प्राप्त गरेकी छिन् ।  सिंहभन्दा १७२५४ मतले शाह अगाडि रहेका छन् । 

खसेको मतको ५० प्रतिशतभन्दा बढी गणना भइसकेको हिसाबले स्वतन्त्र उमेदवार शाह सहज विजयतर्फ अघि बढेको अनुमान गर्न सकिन्छ । शाहको भन्दा झण्डै १७ हजारभन्दा बढि मतको अन्तर रहेको र सिंह र स्थापितबीच समेत कडा प्रतिस्पर्धा रहेकाले शाहलाई भेटाउन अन्य उमेदावरलाई कठिन देखिन्छ । 

नेकपा एमालेका उमेदवार केशव स्थापितले भने २२०९५ मत प्राप्त गरेका छन् । उनी सिंहभन्दा ६५४ मत कमले तेश्रो स्थानमा रहेका छन् । 

हालसम्म महानगरपालिकाका १४ वटा वडाको मतगणना सकिइसकेको छ । वडा नं १ देखि ८ र २७ देखि ३२ सम्मको मतगणना भइसकेको छ । अहिले ९, १९, ११, १२, २३, २४, २५ र २६ वडाको मतगणना जारी छ । वडा नं १३ देखि २३ सम्मको मतगणना हुन बाँकी नै रहेको छ । 

गणना भइसकेका वडा मध्ये २७ र २८ बाहेक सबैमा शाहको उल्लेख्य मतले अग्रता देखिन्छ । गणना भइरहेका ९ र १० र २६ वडामा पनि शाहको अग्रता छ । ११, २३, २४ र २५ भने शाहको मत कम आएको देखिन्छ । 

त्यसैगरी, मेयरकाे दाैडमा रहेका राप्रपाका मदनदास श्रेष्ठ चौथो स्थानमा रहेका छन् भने अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी पाँचौ स्थानमा रहेका छन् ।