बुद्ध नामले प्रसिद्ध दार्शनिक सिद्धार्थ गौतमले ‘जीवन’ बारे ठम्याएका चार आर्य सत्यहरु — दुःख छ, दुःखको कारण छ, कारणको निरोध गर्न सकिन्छ र निरोध गर्ने बाटाहरु छन् । स्पष्ट छ, यही चार आर्य सत्य भित्र बुद्ध ‘धर्म’ र सँगसँगै दर्शन पनि अडिएको छ । यहीँनेर सोच्न बाध्य गराउँछ कि सिद्धार्थ बुद्धको बुद्धिभित्र संसार दुःखैदुःखले भरिएको छ भन्ने कुरा किन आयो अर्थात् बुद्धले के बुझे ! सिद्धार्थको समयकाल वा समाजको इतिहासको चियो गरे थाहा हुन्छ कस्तो अवस्था थियो ? निश्चय पनि समाजको बौद्धिक समयको आविष्कारका रुपमा समाजले बहु–देववाद, कर्मकाण्ड, बर्ण व्यवस्था, बलिप्रथा आदिलाई अँगालो मारेर समाज परिवर्तनका बाटाहरुमा तेर्सिएका थिए । उपनिषद्ले निराकरणकारुपमा ल्याएका ‘मोक्ष या मुक्ति’को उपाय आत्मज्ञान, ब्रह्मज्ञानहरु पनि आत्मज्ञानीको आत्मैभित्र र ब्रह्मज्ञानीको ब्रह्मैभित्र अल्मलिएर अल्झिएका थिए ।
एकातिर त्यसबेलाको समाज यिनै पीडाबाट गुज्रेको थियो भने अर्कोतिर भारतको पूर्र्वोत्तर राज्यहरुमा (कबिला) अर्थात आदिबासीहरुको गणराज्य भित्रको उथलपुथलले सिर्जित ध्वंशबाट नयाँ राज्यसत्ताहरु जन्मने क्रममा थिए । यही र यस्तै समयको फाइदा उठाएर मगध र कोशल राज्यहरुका जन्म भएको थियो ।
फ्रेडरिक एंगेल्सले ‘परिवार, व्यक्तिगत सम्पत्ति र राज्य’ भन्ने रचनामा त्यस समयको समाजको अनिवार्य विशेषता भनेको ‘पतित–लोभ, पाशविक कामोपभोग, निन्दनीय लाभको इच्छा, सगोलको सम्पत्तिमाथि स्वार्थपूर्ण लूट, अनुचित मालपोतको असुली, केहि महाजनहरुद्वारा अनुचित ब्याजको असुली, घुसखोरी जस्ता कामले जनजीवनमा अत्याधिक दुःखलाई जन्माइरहेका थिए । यस्तो अवस्थामा सिद्धार्थको मन र मस्तिष्कमा दुःखले मात्र स्थान पाइरहेको थियो । यी कुराहरु जातक कथा संग्रहका कथा मात्र थिएनन् सिद्धार्थ आफैले आफ्नै आँखाले पनि देखेका वास्तविकताहरु थिए । त्यस समयको समाजमा अधिकांशमा छाएका यी पीडाले सिद्धार्थ पीडित थिए । मानव जीवनसँग नराम्ररी टाँसिएको यस्तो दारुण यथार्थलाई सिद्धार्थले ईश्वर, देवता जस्ता अमूर्त कल्पनाका भरमा विश्वास गर्न नसकेर मात्र होइन, ईश्वरप्रतिको प्रार्थना, पूजा र दक्षिणाबाट समाधान खोज्नै सकिन्न भनेर ‘दुःख’ कारण निदान र निराकरणको बाटो नै उपनिषद हो भन्नेहरुको अनुसरण पनि नगरेर–एकदमै नयाँ र क्रान्तिकारी विचारको रुपमा नभएपनि– स्वयं सिद्धार्थले देखेको ‘दुःख’ र त्यस बेलाको समाजिक र राजनीतिक यथार्थ नै त्यही थियो । तर दुःखको कारण बताउँदा भने बुद्धले त्यस बेलाको समाज, धर्म र राजनीतिको अझ धेरै राज सत्ताको लुछाचुँडी र विवेकहीन सामाजिक अवस्थाका साथै त्यसलाई धार्मिक आवरणभित्र राखिएकोमा विरोध गरेपनि चार्वाक या लोकायतवादीहरुले जस्तो धर्मान्धहरुका विरोध गर्न सिद्धार्थ गौतम चुकेको भने हो भन्नै पर्छ ।
निश्चय पनि देखे, जानेका र भोगेका कुराहरु धेरै थिए । समाज गहन अन्धकार र कुसंस्कारमा डुबेको थियो तर बुद्धको ध्यान दुःखको कारण खोज्नमा थियो र त्यसपछि मात्र उनले ‘मानिसमा भएको तृष्णा नै दुुःखको कारण’ बताए । ठीकै हो, तृष्णाले काम अर्थात् भोग अर्थात् इन्द्रियजन्य सुखको तृष्णालाई जगाउँछ । यही काम भोगका कारणबाट भैmझगडा, पारिवारिक कलह, बेमेल, असहिष्णुताहरु जन्मन्छन् अनि दुःख पनि हुन्छ । राज्य सत्ताको आडमा हत्या, हिंसा, लूटपाट र समाजमा ब्याप्त अन्याय, अत्याचार, शोषण, उत्पीडन र त्यसबाट जन्मिएको दरिद्रता, पनि त दुःखको कारण हो । यी सबैको निराकरणको बाटो अष्टांगिक मार्ग मात्र हो त ? किन हो बुद्धले यी सबै आफ्नै आँखाले नदेखेका नभोगेका भए पनि यी सबैको कारण ‘ईश्वर’ माथि थोपर्न चाहेनन् पनि । शायद यसै कारणले पनि होला, अश्वघोषले आफ्नो कृति ‘बुद्ध चरित्र’मा ईश्वरप्रति बुद्धको विमति र ईश्वरीय सत्ताको खण्डनमा प्रशस्त कारणहरु दिएका र दर्शाएका छन् । यति मात्रै होइन, अश्वघोषले त ईश्वरवादीहरुको निवृत्ति मार्ग र आत्म दमन सम्बन्धि धारणाप्रति पनि असहमति जनाउँदै त्यस्ता ब्यवहार र आस्थालाई पनि दुःखदायी, अशोभनीय र अनुपयोगी मान्दथे । शायद यही कारण पनि हुन सक्छ, उपनिषदीय ‘ज्ञान’बाट दुःख निवारणको बाटो नखोज्न बुद्धले आफ्ना शिष्यहरुलाई उपदेश दिएका थिए ।
वास्तवमा बुद्धको दर्शन पनि थिएन न त धर्मसित नै उनको खासै रुचि थियो । दार्शनिक प्रश्नकर्ता आफ्ना शिष्यहरुले गहन दार्शनिक प्रश्न बुद्ध सामु राखे पनि उनी चुपचाप हुन्थे र उपयोगहीन मान्दथे । त्यसैले पनि होला, सिद्धान्तको बखान वा प्रस्थापनाका पक्षमा उनी थिएनन् र त्यस्ता सिद्धान्तहरुबाट उनमा गहिरो रुपमा रहेको चिन्ताको समाधान पनि सम्भव छ भन्नेमा विश्वस्त थिएनन् । उनको अगाडि जस्तो किसिमको दुःखको सागर थियो । त्यसलाई पार गर्ने ब्यवहारिक उपाय पनि तात्विकरुपमा ब्यवहार सम्मत नै हुनुपर्दछ भन्नेमा यथार्थवादी बुद्ध ढुक्क थिए । तर ब्यवहारसम्मत समाधान भने बुद्धको समयको समाजमा किन पनि सम्भव थिएन भने मानिसमा चेतनाको विकास गर्ने भौतिक स्थिति र त्यसले निर्माण गर्ने साधन र श्रोत सामन्तवादी बुद्धकालिन समाजमा सबै प्रकारका उत्पादन प्रणालीका केही ठूल्ठूला सामन्त राजामहाराजा, भूमिपति, युद्ध सरदारहरुको हातमा त थिँदैथियो, त्यस्तो अवस्थामा अर्थात् सबै दुःखको मुहान एउटै हो भन्ने निष्कर्शको विकल्प पनि त थिएन ।
साँचो अर्थमा वास्तविक दुःखलाई समाजबाटै निर्मूल पार्ने उपाय पनि त बुद्धका अगाडि थिएन । समाज विकासको ऐतिहासिक विकासक्रमलाई उछिनेर छलाङ मार्दै पार गर्ने समाज विज्ञानको नियम विपरीत पनि त हुने थियो कि । यस्तो हुनु भनेको त्यही बेला समाजवादी समाजमा प्रवेश गर्नु जस्तै पनि त हो, जुन ब्यवस्थामा सबै प्रकारका उत्पादन शक्तिहरुद्वारा उत्पादित बस्तुहरुको विकासको आधारमा समाजका हरेक ब्यक्ति सुख, सम्बृद्धिको निश्चितता भएको होस् । बुद्धले देखेको मानिसको दुःखको दुःस्वप्न पनि समाप्तिको अस्ताचल तर्फ लम्किरहेको होस् ।