शनिबार, आश्विन १७ गते २०८३

सम्बन्धित मतदान केन्द्रबाट दुई दिन मतदाता परिचयपत्र वितरण

बैशाख २८, २०७९ बुधबार
सम्बन्धित मतदान केन्द्रबाट दुई दिन मतदाता परिचयपत्र वितरण

 

निर्वाचन आयोगले वैशाख २८ र २९ गते सबै मतदानस्थलहरुमा मतदानकेन्द्रका लागि खटिएका मतदान टोलीहरुबाट मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सहि तरिका सम्बन्धी जानकारी दिने भएको छ । 

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरुमा निवेदन दिएका मतदाताहरुलाई वैशाख २८ र २९ गते सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गरिनेछ । 

बढी भन्दाबढी मतदाताहरुलाई मतदान सम्बन्धी जानकारी उपलब्ध गराउन सरकारी संचार माध्यम लगायत आम संचार माध्यमहरु तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रब्यदृश्यको माध्ययमबाट विभिन्न जानकारीमूलक सन्देशहरु प्रसारण समेत भइरहेको आयोगले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने सम्पूर्ण जनशक्तिहरुलाई विभिन्न चरणमा आवश्यक तालिम तथा प्रशिक्षणको कार्य समेत सम्पन्न भै मतदान स्थलमा पुगिसकेको आयोगले जनाएको छ । 

स्थानीय निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदानकेन्द्रहरुबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनौट गर्नका लागि मतदान हुनेछ । 

मतदानकेन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीहरु सहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरु आ–आप्mनो मतदानकेन्द्रमा पुगी सकेका छन् । स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलहरु मध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३ सय १३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।