शनिबार, आश्विन १७ गते २०८३

धनबल, बाहुबलकाे प्रभुत्वमा चुनाव 

बैशाख २५, २०७९ आइतबार
धनबल, बाहुबलकाे प्रभुत्वमा चुनाव 


आयो चुनाव, आहा ! कति रमाइलो । २०१५ सालदेखि रमाइलो मनाउँदै । मत दिँदै । भोज भतेरमा भाग लिँदै, मासुभात खाँदै, गीत गाउँदै, नाच्दै, भोट हाल्दै आएको । नेपालीले चिनेजानेको चुनाव । निश्चित वा अनिश्चित, अगाडि वा पछाडि, ढिलो वा चाँडो जेजस्तो भएपनि पनि विक्रम सम्वत्को २०१५ सालदेखि मतदान गर्दै २०७९ सालसम्म धेरैपटक र पटकपटक मतदान गर्दै ‘चुनाव’ को पर्व नेपालीहरुले मनाए, कोत पर्व लगायतका नृशंस पर्वहरुलाई पञ्छाएर, पर सारेर ।

सत्ता परिवर्तनका लागि सभ्य मानिने मानिसहरुले अपनाएको चुनावी परिपाटी निश्चय पनि अनुकरणीय नै हो । र हामी पनि २०७९ को बैशाख मसान्तमा गाउँ तह र नगरहरुको प्रारम्भिक चरणका चुनाव सकेर यहि वर्षभित्र प्रादेशिक र संघीय तहको चुनावमा मतदान गर्ने प्रतीक्षामा छौं ।

२०१५ सालमा हामी रमाएको चुनावको रामरमिताको क्रमभंग निकै वर्षसम्म भएन  तर पनि पञ्चायती कर्मकाण्डी चुनावको चास्नी नेपालीहरुले चाख्न छाडेनन् । ०४६ सालको संयुक्त संघर्षले पनि राजासहितको प्रजातन्त्रलाई पुनः चुनावको चुरीफुरी भित्र रमाउने अवसर जुटाएको हो । तर ५२ सालदेखि ६२ सालसम्मको ‘जनयुद्ध’ले भने पुरानो संसदीय परिपाटीभित्रको चुनावलाई अलि पन्छाउँछ कि भन्ने संसदवादीहरुको संशयलाई पन्छाउँदै लोकतन्त्रभित्रको शब्दजाल चुनावको पुरानै शैली र व्यवहारलाई बरण गर्दै ०७९ सालमा पनि चुनाव गर्ने उही पुरानो शैलीमा नै नेपाली नागरिकहरुलाई घच्घच्याउँदैछ ।

हो, घच्घच्याउँदैछ चुनावले तर चुनावसित लहसिएका नेता र नेताले चुनावमा जनताको ‘मन’ जित्न खन्याउने धनले । अहिलेको धन भनेकै चुनावको मूल कुरा भएको छ । त्यसैले धनाढ्य, व्यापारी, ठूला ठेकेदार, दलाल पुँजीपतिहरु र देशीविदेशी शक्ति केन्द्रको हातमा बलियो भएर बसेको चुनाव हुनेछ ।  हुनपनि चुनाव धनबल(मनि) र बाहुबलसित(मसल), उनीहरुकै अरनखटनमा हुने ‘प्रजातान्त्रिक’ भन्ने गरिएको पाँँचवर्षे कर्मकाण्ड हो । यस परिपाटीबाट छानिएका नेताहरुबाट आम देशवासी जनताको कल्याणको काम भएको भने किटानीका साथ ‘यै हो’ भन्नुपर्ने देखिँदैन । तरपनि चुनाव हुनैपर्छ, ‘नेता’ चुनिनै पर्छ । यसको विकल्प भनेको निरंकुश तानाशाही हो जुन जनताले सहजै स्वीकार्दैनन् ।

वास्तवमा ‘चुनाव’ मा कार्यक्रम, घोषणापत्र अथवा प्रतिवद्धता, प्रतिज्ञापत्र भनेको पनि देखाउने दाँत मात्र भएका छन् । पैसा र प्रचारको प्रचुरतासित आदर्श, निष्ठा, र नीतिले के सहयात्रा गर्न सक्छ र । अझ चुनावमा सक्दैन, कदापि सक्दैन । यहिँनेर हामीकहाँ हुन लागेको गाउँ र नगर, प्रदेश र संघीय स्तरको चुनाव जहिले र जसको भएको पनि चुनावको विश्वव्यापी स्थिति, तत्वतः सारमा वा रुपमा एउटै हो । त्यसैले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नामधारी प्रणालीले आफ्नो जीवन्तताका लागि अमोघ अस्त्रका रुपमा चुनवालार्यइ चुनेका हुन्छन् । तर चुनावले चुनेको राजनीति, दर्शन र कार्यक्रमहरु भने चुनावपछि खोलाको बगरमा परेको माछोजस्तो हुन्छ ।

हामीकहाँ हुन गइरहेको आसन्न चुनावको नियति पनि यस्तै रीति र स्थितिभित्रै रुमल्लिने नै देखिन्छ । कारण दलहरुभित्रको उमेदवार छनौटमै देखिएको अमेल र मेल भएकैमा पनि प्रतिस्पर्धामा स्वच्छताले टाढै बस्नुपर्ने अवस्था । कम्युनिष्ट पाठशालामा दीक्षित र प्रजातान्त्रिक पाठशालमा दीििक्षत राजनीतिक कार्यकर्ताहरुको मतदान व्यवहार एकअर्काप्रति घृणाबाट प्रेरित हुने अप्रजातान्त्रिक संस्कार र सँस्कृति जीवितै छ । सत्तासित जोडएको हअंकार दम्भबाट विपक्षीसितको शत्रुताले राजनीतिक स्थायित्व पाइसकेछ । सिद्धान्त, निष्ठा र त्यसैअनुसारको चुनावी कर्म दिवास्वप्न भइसकेको छ । नीतिनियमसित सबैखाले राजनीतिकर्मीहरुले सम्बन्ध विच्छेद गरिसकेको धेरै भइसक्यो । प्रचार संयन्त्रहरुको आआफ्नो सम्प्रेषण शैलीभित्र मर्यादाको मानमर्दन भएको कुरा नयाँ हुँदै होइन । हाम्रो गणतन्त्रको लोकतन्त्रात्मक शैलीले लोकतन्त्रकै स्वघोषित प्रतिनिधि पात्रलाई विपक्षीमाथि गद्दारको प्रहार गर्छ, फोहोरभित्रको दुर्गन्धित किराको संज्ञा दिएर आफु आनन्दित हुन्छ । विरोधीको कुरा मुखै डढेको वा पोलिएको देख्न वा त्यस्तालाई देख्न पनि अपशकुन मान्छ । एकअर्काप्रति लुच्चा, ठग, बेइमान, भ्रष्टमति, मन्दबुद्धि र यहाँसम्म कि बौलाहसम्मको शब्दबाण चलाउँछ । मर्यादा, शिष्ठता, शालिनता, नम्रता, विवेकशीलता, सहिष्णुता जस्ता मानवीय जीवनका सुसंस्कृति आभूषणहरुले पछुतो मानेर मुखै लुकाउन बाध्य हुन्छन् । अनि सोचौं – के हो ? किन हो ? र कसलाई हो चुनाव ? 
आखिर ‘चुनाव’ किन यस्तो विद्रुप संस्कार र व्यवहार लिन विवश हुन्छ ? किन प्रजातन्त्र र लोकतन्त्र यस्तो चुनावका लागि हुरुक्क हुन्छ ? के सत्ताको स्वाद लिन चढ्नुपर्ने भ¥याङ भनेको चुनाव नै हो ? किन चुनावलाई राजनीतिको काखमा दुधे बालकलाई जस्तो रक्षित भनौं वा सुरक्षित हुन बाध्य गराइएको ?

चुनावप्रति यतिसारो प्रियता राजनीतिक दलहरु जति धेरै दलदलभित्र भएपनि उनीहरुमै रहिरहने आश्चर्य त त्यस समय अझै घनीभूत भएर लाग्छ । जब ‘चुनाव’ लाई पैसाको मोहजालले मतदान नगर्दासम्म आफ्नो पासो भित्र पारिरहेको हुन्छ । र त्यहि पैसाले मत प्राप्त गरेकाहरुको जय–विजयले सत्ताप्राप्तिको राजपथ पनि निर्माण गर्छ । निर्वाचन वा चुनावले आज जुन किसिमको धरातल निर्मित भएको छ, यसलाई अँगालेर जस्तोखालको सत्ता परिचालनको धार निर्माण गर्छ, त्यसले राजनीतिक दर्शन आदर्श नीति र निष्ठालाई  तिलाञ्जली नदिई सुखै पाउँदैन । अनि त लोकतन्त्रको मन्त्र जपेको राजनीतिक दलको चुनावरुपी चर्को बाहुबल र धनबल र छलबलमा लम्पसार पर्छ । अनि त चुनावमा हुरुक्क गर्ने राजनीतिक दलको दलीय सिद्धान्त र आदर्श प्रजातन्त्र लोकतन्त्र र समाजवाद प्रहसनको तहमा परिणत हुन्छन् ।

हुनतः प्रजातन्त्रले आफ्नो उदयकै कालमा उदारवाद र स्वतन्त्र व्यापारको छाता ओढेपछि पुँजीवादकै सहयात्री भएको भएको धेरै भइसक्यो र लोकतन्त्रले पनि पुँजवादकै अनुकूलतामा ‘आफ्ना’ सबैखाले नीति निर्माण र कृयान्वयनलाई गणेश भक्ति देखाएर समाजवादी समाज व्यवस्थाका राजनीति अर्थनीति र सँस्कृतिको हाँस्यास्पद अपव्याख्या गरे । र चुनावलाई सत्ता प्राप्तिको मात्र साधनको रुपमा लिएको छ र समाजवादतिरको यात्राका लागि भनेर बलियो बैशाखी बनाएको छ । तर लोकतन्त्रको त्यस्तो बैशाखी टेकर समाजवादी गन्तव्यमा पुगेको उदाहरण छैन । अझ हामीकहाँ राजनीतिक दल र समाजवादका भाष्यकारहरुले गाएको समाजवादी मन्त्र त मात्र पुरेत–पुरोहितको कर्मकाण्डी समाजवाद मात्र हो । पार्टीको संगठन त्यसको नीति निर्माण र सिद्धान्तसित अहिले हामीकहाँ निकै गहिरोसँग खडेरीले जरा गाडेको कर्मकाण्डी समाजवादले कुन र कस्तो खालको समाजवादमा पु¥याउने हो ? त्यसको निर्णय अहिले हुन गइरहेको स्थानीय र यसै वर्ष हुने प्रादेशिक र संघीय चुनावले पनि गर्छ भन्ने आग्रह गर्नुपनि मतदाताले पाउँदै आएको धोकामा अर्को धोका मात्र थपिनु हो ।

हरेक चुनावले चुनेका पात्रहरुको लेखाजोखा गर्ने परिपाटी दुनियाँभर मै छैन र मतदाताको स्मरण शक्ति पनि त्यति तीब्र र दीर्घकालिन नहुने भएकाले राजनीतिक दल र उनले छानेका उमेदवारहरुले आफ्ना मतदातालाई छक्काउन सजिलै सकिने कुरामा राजनीति दलहरु पोख्त भइसकेका छन् । निश्चय पनि अहिलेको चलचल्तीका चुनावले समाजको रुपान्तरणको कुरै नगरौं सत्तासीन दल र सत्ताबाहिर बसेका दलहरुबीचको सत्ता साटासाट गर्नै र संसदलार्य ‘दोहोरी साँझ’ को रंगमंच बनाउने मात्र छ । आवधिक चुनावले दिने आवधिक सत्तास्वाद अर्को निर्वाचन र परिणामको पर्खाइमा पर्खिरहेका हुन्छन् ।

यसरी हरेक लोकतन्त्रको वर्णित रुपमा सारतः कुनै फरक हुँदैन । निश्चय पनि एशिया अफ्रिका र केहि अल्पविकसित देशहरुले मात्र भोगेको लोकतान्त्रिक भनिएको चुनावको मात्र यो विकृत रुप होइन र आफुलाई लोकतन्त्रका देवदूत सम्झने युरोपेली देश र अमेरिकी नेता समेतले चुनावमा धनबलको प्रयोग र प्रभावप्रति गहिरो चिन्ता देखाएका थिए । भोट नकिनी नजितिने सत्यलाई स्वीकारेर र चुनावको अखडामा पुगेका राजनीतिक खेलाडीहरु अन्ततः धनबलमै चुनावी कुस्ती खेल्ने हुन् । यो सत्यलाई स्वीकारेपछि चुनावको राजनीति, राजनीतिक स्थिति नीति निष्ठा र सिद्धान्तसित टाढिँदै जान्छ र धनबली र बाहुबलीहरुको अरनखटनमा अडिन्छ । धनबल भित्र चुनावको चक्र परेपछि साहुमहाजन, उद्योग, पार्टी ठूला व्यापारी, दलाल, पुँजीपति, ठेकेदारको, कठपुतली भएर हामीकहाँको जस्तो लोकतन्त्रले चुनावबाट केहि पनि पाउन सक्दैन । चुनाव जितेपछि पनि ६ करोड खर्च गरेको पीर पोख्नु मात्र पर्छ ।

सायद चुनावसित लोकतन्त्रले जस्तो खालको नाता खास गरेर एशिया, अफ्रिका र ल्याटिन अमेरिकी अविकिसित देशहरुले जोडेको छ त्यसले चुनावी प्रणालीमा सिद्धान्त र विचारको प्रणालीलाई निमिट्यान्न पार्न अर्थात जनमुखी जनउत्तरदायी सरकारलाई कुनै पनि हालतमा सफल हुन नदिने धनबलको खेल खेलेका छन् । यसो गर्नुको कारणमा मूलतः समाजवादको सपना भए पनि बाँडिरहने पुरेतवादी प्रवृत्तिमा नेपाली राजनीतिक संगठन र नेतृत्व रमाइराख्नु हो ।