शनिबार, आश्विन १७ गते २०८३

पत्रकारको सुरक्षामा जोड दिँदै मनाइयो प्रेस स्वतन्त्रता दिवस

बैशाख २०, २०७९ मंगलबार
पत्रकारको सुरक्षामा जोड दिँदै मनाइयो प्रेस स्वतन्त्रता दिवस


विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाजले प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षामा जोड दिँदै प्रदर्शन गरेको छ ।

आज वुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले पत्रकार असुरक्षित हुनु भनेको लोकतन्त्र असुरक्षित हुनु हो भन्दै प्रेस स्वतन्त्रता सदा सर्वदा सुरक्षित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डे, शान्ति समाजका केन्द्रिय सचिव एवं पत्रकार मिना ढकाल, रुपन्देही शाखा सभापति डिपी खनालले मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै शान्ति समाज दाङ  शाखाको आयोजनामा दाङको तुलसीपुरमा वैशाख २० गते प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षा विषयक अन्तरक्रिया सम्पन्न भएको छ । शान्ति समाज दाङ शाखा सभापति तुलसीराम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय वरिष्ठ उपसभापति एवं पत्रकार सुशिल बस्नेतले सञ्चारक्षेत्रमा क्रियाशील ब्यक्तिहरुको मनोवल उच्च बनाउन सबैले योगदान गर्नुपर्नेमा जोड दिए ।

ब्यवसायिक पत्रकारिताका लागि पेशागत सुरक्षा चुनौतिपूर्ण रहेको धारणा व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले पेशागत तथा भौतिक असुरक्षाका कारणले केही पत्रकारहरु पेशाबाट बिस्थापित हुन पुगेको र त्यो क्रम अझै बढदै गएको र राज्यले तोकेको न्युनतम पारिश्रमिक समेत उपलब्ध गराउन संचार संस्थाहरुले नसकेकोप्रति चिन्ता गरेका थिए ।