भारतीय आयल कर्पोरेसन (आइओसीले) पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइओसीले हरेक पन्ध्र –पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य नेपाल आयल निगमलाई पठाउँदै आएको छ । आइओसीले पठाएको मूल्यको आधारमा निगमले उपभोक्ता मूल्य तोक्ने गरेको छ। वैशाख १८ गते आइओसीले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो।
यसअघि वैशाख ३ गते आइओसीले पठाएको मूल्यको तुलनामा अहिले सबभन्दा बढी खाना पकाउने एलपी ग्यासको मूल्य बढेको देखिन्छ। पन्ध्र दिन अघिभन्दा अहिले ग्यास एक सिलिन्डरमा ९८ रूपैयाँ ७३ पैसा बढेको छ। त्यो बेला प्रतिसिलिन्डर दुई हजार पाँच सय ५१ रूपैयाँ ४५ पैसामा आएको ग्यास अहिले दुई हजार ६ सय ५० रूपैयाँ १८ पैसा भएको छ। त्यस्तै डिजेलमा प्रतिलिटर दस रूपैयाँ ८ पैसा बढेको छ। पन्ध्र दिनअघि लिटरको एक सय ७३ रूपैयाँ ५ पैसामा निगमले किन्ने डिजेल अब एक सय ८३ रूपैयाँ १३ पैसा पर्ने भएको हो।

पेट्रोलको खरिद लागत प्रतिलिटर एक सय ८३ रूपैयाँ २ पैसा पुगेको छ। पन्ध्र दिनअघि प्रतिलिटर एक सय ७८ रूपैयाँ १६ पैसा थियो। यसमा चार रूपैयाँ ८६ पैसा वृद्धि भएको छ। हाल निगमले ग्यास प्रतिसिलिन्डर एक हजार ६ सयमा बिक्री गरिरहेको छ। त्यस्तै पेट्रोल लिटरको एक सय ६० र डिजेल एक सय ४३ रूपैयाँमा बेचिरहेको हो। आइओसीले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रूपैयाँ दुई पैसा र डिजेलमा ४० रूपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्यास सिलिन्डरमा एक हजार पचास रूपैयाँ १८ पैसा घाटा हुने निगमले जनाएको छ।
मट्टीतेल भने लिटरमा २ रूपैयाँ ८१ पैसा, हवाई इन्धन आन्तरिकतर्फ १२ रूपैयाँ ६४ पैसा र बाह्यतर्फ ६४ रूपैयाँ ६९ पैसा नाफा रहेको निगमले जनाएको छ।