शनिबार, आश्विन १७ गते २०८३

“गाउँमै काठमाण्डौ सरह शिक्षा र स्वास्थ्यको पहुँच पुर्‍याउँछौं”: देवी खड्का

बैशाख १९, २०७९ सोमबार
“गाउँमै काठमाण्डौ सरह शिक्षा र स्वास्थ्यको पहुँच पुर्‍याउँछौं”: देवी खड्का

 

नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य एवं दोलखा जिल्ला इञ्चार्ज देवी खड्काले व्यवस्था बदलिएपनि अवस्था बदल्नका लागि गोलाकार भित्रको हसिया हथौडामा भोट हाल्न अपील गरेकी छिन् । 

जुँगु–काठमाण्डौ सम्पर्क समन्वय समितिको आयोजनामा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री खड्काले संविधान र ऐनका धारामा व्यवस्था बदलिएको भएपनि व्यवहारमा अवस्था भने उस्तै रहेकाले त्यसलाई परिवर्तन गर्न स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रका उमेदवारहरुलाई जिताउन आवश्यक रहेको बताइन् । आफ्नो पार्टीले चुनाव जिते बुर्जुवा शैलीमा जनप्रतिनिधि मात्र बनाउने नभइ जनताका बीचमा जिम्मेवार बनाएर समाज रुपान्तरणका लागि काम गर्ने समेत उनले उल्लेख गरिन् । 

गौरीशंकर गाउँपालिकाको प्रतिवद्धतापत्रमा एक वडा सय युवालाई रोजगार बनाउने, पाँच वर्षभित्र सबै विद्यालयलाई निःशुल्क आवासीय बनाउने र स्वास्थ्यचौकीहरुमा एमबीबीएस डाक्टर सहित सम्पूर्ण इक्वीपमेन्टले पूर्ण बनाउने रहेको हुँदा त्यसलाई पूरा गर्न पनि माओवादी केन्द्रका उमेदावारलाई जिताउन उनले आग्रह गरिन् । अहिले युवाहरु स्थास्थ्योपचार र बालबच्चाको शिक्षाका लागि श्रोत जुटाउन वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले ५ वर्ष भित्रमा गाउँमै बोर्डिङ्ग सरहको गुणस्तरीय शिक्षा र काठमाण्डौको जस्तै स्वास्थ्य सेवा उपलब्ध हुने भन्दै त्यसपछि ५० प्रतिशत समस्या हल हुने जनाइन् । 

नेत्री खड्काले च्छोरोल्पादेखि सगरमाथा हिमाल केबुलकारबाट आरोहण गर्न सक्ने, छयोछ्योत् देखि च्छोरोल्पा हिमालसम्म सुरुङ्गमार्ग र केबुलकार पुर्‍याइ पूर्वको पर्यटकीय गन्तब्य बनाउने  र काठमाण्डौबाट एकैदिनमा च्छोरोल्पा पुगेर अवलोकन गरी फर्कन सकिनेसम्मकाे याेजना रहेकाे भन्दै हुँदा त्यसबाट राम्रो आम्दानी गर्न सकिने बताइन् । गाउँपालिका प्रमुखमा विजयी भएको खण्डमा ३ महिनाभित्रै त्यसको काम थालनी गर्ने भन्दै खड्काले डिपिआरको काम समेत अगाडि बढिसकेको उल्लेख गरिन् । माओवादी केन्द्रले एक बुथ सय युथको अवधारणा लिएर अगाडि बढेको र चुनाव पछि वैदेशिक रोजगारमा जाने अवस्थाको अन्त्य गर्नेगरि स्वेदशमा नै युवालाई स्वरोजगार बनाउन सघाउने उनले जनाइन् । 

एकजना परोपकारी शासकले मात्र समाज परिवर्तन नहुने भन्दै उनले समाज परिवर्तनका लागि सक्षम र अनुशासित नागरिकको सक्रियता आवश्यक हुने जनाइन् । जनप्रतिनिधि एक्लैले मात्रै समाज रुपान्तरण सम्भव नभएकाले नागरिकको सहभागिता पनि उत्तिकै आवश्यक रहेको उनलै औंल्याइन् । “प्रतिवद्धता लेख्नका लागि नभई कार्यान्वयन गर्न बनाइएको हो । पाँच वर्षमा गौरीशंकर गाउँपालिकाको गरिबी, बेरोजगारी, अशिक्षा र साझा समस्या हल हुन्छ । १० वर्षको शासनकालमा एमालेले समाजमा अराजकता बेथिति र युवाको बानी बिगार्नेबाहेक केहि गरेन । सम्भावना छ र हामी प्रतिवद्धता पूरा गरेर देखाउँछौ ।”

कार्यक्रममा गौरीशंकर गाउँपालिका वडा नं १ र २ का अध्यक्ष पदका उमेदवार प्रकाश बहादुर खड्का र रोहित बुढाथोकीले निर्वाचित भएपछि आफ्नो वडाको विकासका लागि प्रतिवद्ध भएर लाग्ने जनाए । 

jugu 2.jpg