स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता प्रक्रिया देशभर शुरु भएको छ । तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन कूल १० हजार ५३३ उम्मेदवारी दर्ता भएको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएकाे छ ।
निर्वाचन आयोग सूचना शाखाकाअनुसार प्रणालीमा सङ्कलित विवरणअनुसार बैशाख ११ गते पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल नौ सय ७३, उपप्रमुख र उपाध्यक्षमा चार सय ९४, वडा अध्यक्षमा दुई हजार आठ सय २६ को उम्मेदवारी दर्ताको विवरण संकलन भएको छ । वडा सदस्यमा तीन हजार एक सय ९०, महिला सदस्यमा एक हजार ९१, दलित महिला सदस्यमा एक हजार ३० गरी कूल वडा सदस्यमा १० हजार एक सय सात दर्ता भएको छ ।
देशभरका ७५३ स्थानीय तहका लागि कुल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ । आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते दुवै दिन बिहान १०ः०० बजे देखि ५ बजेसम्मका लागि मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ ।
वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।