बुधबार, भाद्र ३ गते २०८३

नयाँ  समाजको खोजी किन ?

बैशाख ५, २०७९ सोमबार
नयाँ  समाजको खोजी किन ?

मानव समाजको इतिहासदेखि अहिलेसम्म केलाउँदा आजसम्मको समाज मूलतः दुःखले भरिएको समाज छ । त्यसको जग नै दुःखको छ । त्यसको आधार नै दुःखको छ । किनभने समाजमा असमानता, विभेद, गरिबी, अभाव, असुरक्षा र अनिश्चितता ब्याप्त छ । समाज र प्रकृतिलाई दोहन गरेर अकूत सम्पत्ति थुपार्ने मुठ्ठीभर मानिसहरु एकातिर र सामाजिक र प्राकृतिक श्रोत साधनबाट बञ्चित बहिष्कृत बहुसँंख्यक मानिसहरु अर्कातिर हुनजाँदा मानव समाज दुःखी हुने स्थिति बन्दछ । अनि त्यो समाजमा सम्पत्तिवान र सम्पत्तिविहीनहरुका बीचमा संघर्ष चल्छ नै । अनि त्यस क्रममा  हिंसा हुन्छ । किनभने दुःखी मानिस दुःखकष्टबाट मुक्त हुन र सम्पन्न मानिस सम्पत्ति जोगाउन  हिंसामा उतारु हुने स्थिति पैदा हुन्छ । यसले स्पष्ट हुन्छ कि समाज जत्ति बढी दुःखी हुनेछ त्यत्ति नै क्रोधी मानिसहरु पनि बढ्ने छन् । युद्ध हुनेछ । वास्तवमा दुःख नै सबै यस्ता कुराको मूल कारक र उद्गम हो । यदि नयाँ समाजलाई जन्माउने या पैदा  गर्ने हो भने निश्चय नै दुःखका कारणहरुलाई हटाएर सुखका आधारहरु त्यसको जगमा राख्नु पर्दछ ।

मानिसको जीवनको सारा संघर्ष सुखका निमित्त हो । सुखलाई सहज र स्वभाविक तुल्याउनका निमित्त हो  । तर त्यसो भइरहेको हुँदैन, छैन । मानिस असफल भइरहेको हुन्छ । त्यसले गर्दा मानिस र मानब समाजले दुःखको अनुभव गर्दछ । सुखलाई आफ्नो  स्वामित्वमा लिन सक्तैन । त्यसैले समाजलाई प्रेममय, शान्तमय, स्वाभाविक तुल्याउनका निम्ति यसभित्र रहेका असमानता, विभेद, विकृति र विसंगतिहरुलाई तोड्न र चिर्न सक्नु र सिक्नु पर्दछ । यस्ता विसंगत कुराहरुलाई एक वा अर्कोरुपमा कायम राखेर समाजलाई स्वच्छ, सभ्य, सौम्य र शान्त तुल्याउन सकिने छैन ।  त्यसैले यी समाजका, मानिसका र प्रकृतिका समेतका निम्ति अस्वीकार्य र अमान्य कुरा हुन् । तिनका बिरुद्ध निर्मम संघर्ष चलाउनै पर्दछ ।

यो पृथ्वी सारा मानव समाज, जीबजन्तु अर्थात् प्राणी र बनस्पतिको साझा घर हो । यसलाई बैज्ञानिक र सही किसिलमे बुझेर चल्न सकिएन भने युद्ध, अशान्ति, झैझगडा र संघर्षहरु चल्ने कुरा निश्चित छ । त्यसैले आज सामुहीकरुपमा सबैले मानब मैत्री, प्रकृति मैत्री र भबिष्य मैत्री बिकासको  फराकिलो बाटो रोज्नु र खोज्नु पर्ने अपूर्ब आवश्यकता छ । यस यथार्थ वास्तकिता र आवश्यकतालाई आत्मबोध र आत्मसात गरेर अघि बढ्न खोजेमा मात्र सही परिणति ल्याउन सकिनेछ । अन्यथा थप चुनौति र जटीलता थप्ने काम बाहेक अरु केही हुनेवाला छैन । साेचाैं कार्ल मार्क्सले हामी यस कारण लड्छाैं कि सबैले प्रेमपूर्बक याे संसारमा बाच्न र बचाउन सकुन्र भनेर अकारण भनेका हाेइनन् ।