शनिबार, आश्विन १७ गते २०८३

बैंकहरुमा कर्जाको ब्याजदर चर्को, १७ प्रतिशत नजिक पुग्यो

बैशाख २, २०७९ शुक्रबार
बैंकहरुमा कर्जाको ब्याजदर चर्को, १७ प्रतिशत नजिक पुग्यो

 

आर्थिक वर्षको अन्तिम त्रैमासमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर बढेको छ । वाणिज्य बैंकहरुले बैंशाख महिनाका लागि सार्वजनिक गरेको कर्जाको ब्याजदर १८ प्रतिशतको हाराहारीमा पुगेको छ । अधिकांश बैंकहरुको आधार ब्याजदर १० प्रतिशतको वरपर रहेको छ । आधार दरमा बैंकहरुले ५ देखि ८ प्रतिशतसम्म प्रिमियम चार्ज गर्ने भएपछि कर्जाको ब्याजदर उच्च हुन पुगेको हो । 

सबैभन्दा कम ब्याजदर सरकारी स्वामित्व रहेका दुई वाणिज्य बैंक नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको रहेको छ । नेपाल बैंकले ११.८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर ११.१४ रहेको छ । त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १२.४१ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ। माछापुच्छ्रे बैंकले १६.८१ प्रतिशत र नेपाल एसबिआई १६.६९ प्रतिशतको उच्च ब्याजदर तोकेका छन् । स्थिर ब्याजदरका आधारमा सबैभन्दा कम कुमारी बैंकको ब्याजदर ११.७५ प्रतिशत रहेको छ भने सिभिल बैंकको ब्याजदर सबभन्दा उच्च १६.७८ प्रतिशत रहेको छ।

अन्तिम त्रैमासमा  तरलता अभावका कारण बचतमा निरन्तर ब्याजदर बढाउँदै आएका बैंकहरुले अन्तिम त्रैमासमा भने बचत खाता र मुद्दतीमा दिने ब्याज बढाएका छैनन् ।  बचत र मुद्दतीमा यस अघि नै साढे ११ सम्म पुगिसकेको छ ।