सांसद एवं सहकारीकर्मी घनश्याम खतिवडाले सहकारी पवित्र मन्दिर भएकाले राजनीतिकर्मीले राजनीतिको जुत्ता खोलेर मात्रै सहकारीभित्र छिर्नुपर्ने बताए । आफु राजनीतिकर्मी भएपनि सहकारीमा छिर्दा सहकारीकर्मीको रुपमा प्रस्तुत हुने गरेको भन्दै उनले राजनीतिमा भन्दा सहकारी क्षेत्रमा काम गर्दा सन्तुष्टि मिलेको बतााए ।
पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १४ औं स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले सहकारी ऐन २०७४ का केहि दफा संशोधन गर्नुपर्ने भएकाले आफुले संसदमा समेत आवाज उठाइराखेको उनले जनाए । सहकारीमा बद्मासी बढेकाले राज्यले ऐननियमको सही कार्यान्वयन गरि बेथिति रोक्नुपर्नेमा उनले जोड दिए ।
नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले सदस्यहरुको सुन्दर र समृद्ध भविष्य निर्माणका लागि सहकारीले काम गर्नुपर्नेमा जोड दिए ।
सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गले सहकारीमा विकृति बढ्दै गएकाले महासंघ र केन्द्रीय संघले चनाखो भएर भूमिका खेल्नुपर्ने औंल्याए । प्रदेश सरकारले असरल्ल बहुउद्देश्यीय सहकारी दर्ता दिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले यसको विषयमा संघहरुले ध्यान पुर्याउन नसकेको आरोप लगाए । ऐनमा जनसंख्याका आधारमा सहकारी रहने भने पनि एउटै घरमा धेरै वटा सहकारी संस्था रहँदासमेत राज्यले ध्यान पुर्याउन नसक्नु कानुन कार्यान्वयनमा फितलो भएको उनको बुझाई छ ।
सहकारी अभियन्ता यज्ञराज ढुंगेलले पाँचताराले सामाजिक कार्यसँगै हरेक वर्गका सदस्यलाई समेटेर काम गर्न सकेको बताए । समुदायमा सबैभन्दा बढि सेवा दिने संस्था सहकारी भएकाले सहकारीका सकारात्मक पक्षलाई समाजमा उजागर गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । सदस्यहरुको सक्रिय सहभागितामा सहकारीले स्वयं मर्यादित भएर काम गर्ने भन्दै उनले थपे, ‘सहकारीलाई मर्यादित व्यवसाय भनेर परिभाषित गरिरहुनपर्ने आवश्यकता छैन ।’ केहि नराम्रा व्यक्तिको हातमा सहकारी गएकाले त्यस्ता व्यक्ति र संस्थाको पहिचान गरी सदस्यहरुलाई त्यहाँ कारोबार नगर्न सचेत गराए । ।
पाँचतारा व्यक्तित्व पुरस्कारबाट सम्मानित सहकारी अभियन्ता पम्फा राईले कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सहकारीले सदस्यको भविष्यका लागि काम गर्ने भएकाले सोही अुनसार अघि बढ्नुपर्ने बताइन् ।