उपत्यकामा पहिलो पटक फ्लाई ओभर निर्माण हुने भएको छ । ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभरका लागि डिजाइनको काम सुरु भएको हो ।
काठमाडौं उपत्यकामा अत्यधिक जाम हुने गरेको ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माणअन्तर्गत सर्वेक्षणको काम सम्पन्न भई त्यसको डिजाइन बनाउने काम सुरु भएको हो ।
आगामी दुई महिनामा डिजाइन सक्ने र त्यसपछि निर्माण कार्य अघि बढाउने योजनामा सरकार रहेको छ । डिजाइनको काम सुरु भइसककेको र आगामी १६ असारसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको जनाइएको छ । निर्माण थालिएपछि २० महिनामा काम सक्नुपर्नेछ ।
सरकारले ग्वार्कोमा फ्लाई ओभर निर्माण गर्ने तयारी गरेसँगै त्यस ठाउँमा ट्राफिक व्यवस्थापन कसरी गर्ने भन्ने विषय महत्वपूर्ण विषयका रूपमा आएको छ । महानगरीय ट्राफिक महाशाखाले ग्वार्को चोक यातायातको उच्च चाप हुने स्थान भएकाले समस्या उत्पन्न हुन सक्ने जनाउँछ । फ्लाई ओभरको जगको काम गर्दा मुख्य सडक अवरुद्ध हुने भएकाले त्यसको विकल्प भने खोज्नुपर्ने देखिएको छ । फ्लाई ओभर निर्माण सम्पन्न भएपछि ग्वार्को चोकमा ट्राफिक व्यवस्थापनको संरचनामासमेत परिवर्तन हुने बताइएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै फ्लाई ओभरको उचाइ ६ मिटर हुनेछ । निर्माण सम्पन्न भएपछि मंगलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुलमुनिबाट जानेछन् भने फ्लाई ओभरमाथि चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन् ।
काठमाडौं उपत्यकामा हाल कलंकी चोकमा अन्डरपासमार्फत सवारीसाधन चल्ने गरेका छन् । चक्रपथमा चल्ने सवारीसाधन अन्डरपासमार्फत पास हुने गरेका छन् भने कालिमाटीबाट नागढुंगा र नागढुंगाबाट अन्यत्र जाने सवारीसाधन पुलमाथिबाट आवतजावत गर्ने गरेका छन् ।
उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकचोकमा ट्राफिक जाम बढेपछि सरकारले कोटेश्वर चोक, बानेश्वर चोकलगायत अन्य स्थानमा पनि फ्लाई ओभर निर्माणका लागि दातृ निकायहरूसँग छलफल गर्दै आएको छ ।