अमेरिकी सेनाले अफगानिस्तानमा रहेको आफ्ना महत्वपूर्ण हवाई अखडा मध्यराति बिना कुनै सूचना छाडेको अफगानी सैन्य अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार विहान करिब ७ बजेतिर बत्ती निभाइएको अवस्थामा हवाइअड्डामा आफूहरुपुगेकाे अफगानी सैन्य कमाण्डरले जनाएका हुन् । आफूहरु पुग्नुभन्दा केहि घण्टा अगावै उक्त एअरबेस खाली भएको हुनसक्ने आँकलन उनीहरुले गरेका छन् ।
करिब २० वर्ष अमेरिकी सेनाले अफगानिस्तानमा तालिबान र अमेरिकामा सेप्टेम्बर ११ हमला गर्ने अलकायदालाई ठेगान लगाउने लडाईंको मुख्य मोर्चाको रुपमा अफगानिस्तानको बगराम हवाईअड्डालाई प्रयोग गर्दै आएका थियो ।
अमेरिकाले गत शुक्रबार नै अफगानिस्तानबाट आफ्नो सैन्य दस्ता क्रमशः फिर्ता लगिरहेको र अगस्ट महिनाको अन्त्यसम्म पूर्णरुपमा फिर्ता हुने जनाउँदै त्यसैअुनरुप बगराम एअरफिल्ड खाली गराएको जनाएको थियो ।
अफगानिस्तानमा रहेको उक्त अमेरिकी मुख्य सैन्य हवाइअड्डा खाली गर्दा अफगानी सरकारका सैन्य कमाण्डरलाई समेत कुनै जानकारी नदिइनुमा उनीहरु आश्चर्यचकित रहेकाे समाचार एपीन्युजले प्रकाशन गरेकाे छ ।