अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। कोषले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनअनुसार नेपालको अर्थतन्त्र सन् २०२७ मा ३.७ प्रतिशतले विस्तार हुनेछ। सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहेको अनुमान छ।
आईएमएफको प्रक्षेपणअनुसार नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्षमा ४ प्रतिशतभन्दा तल रहनेछ। यसले अर्थतन्त्रको विस्तार अपेक्षाकृत सुस्त रहने संकेत गर्छ। यद्यपि सन् २०२६ को तुलनामा सन् २०२७ मा वृद्धिदर सामान्य सुधार हुने अनुमान गरिएको छ। आर्थिक वृद्धिदर सुस्त रहने प्रक्षेपणसँगै नेपालमा उपभोक्ता मूल्यवृद्धि अर्थात् महँगी पनि आगामी वर्ष बढ्ने आईएमएफको आकलन छ। सन् २०२५ मा ४.१ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्ने र सन् २०२७ मा बढेर ५.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
यसअनुसार सन् २०२६ मा महँगीको दबाब केही कम भए पनि त्यसपछिको वर्ष पुन: बढ्न सक्ने देखिएको छ। विशेषगरी ऊर्जा आयातमा निर्भर अर्थतन्त्रका लागि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्नु थप चुनौती बन्न सक्छ। नेपालमा इन्धन तथा अन्य आयातित वस्तुको मूल्यमा बाह्य बजारको उतारचढावले प्रभाव पार्ने भएकाले मध्यपूर्वको युद्ध र ऊर्जा आपूर्तिमा हुने अवरोध महत्त्वपूर्ण जोखिमका रूपमा रहनेछन्।
नेपालपत्र संवाददाता