शनिबार, कार्तिक ८ गते २०८३

ललितपुर जिल्ला संघमा पौड्याल प्यानलको उमेदवारी 

चैत्र १९, २०७८ शनिबार
ललितपुर जिल्ला संघमा पौड्याल प्यानलको उमेदवारी 

 

सहकारी अभियन्ता राजेन्द्र पौड्यालले जिल्ला सहकारी संघ ललितपुरको अध्यक्ष पदमा उमेदवारी दिएका छन् । संघको चैत्र २० गते सोमवार हुने ३०औं साधारणसभा नयाँ सञ्चालक समितिको चयन हुँदैछ । 

विगत दुई दशकभन्दा लामो समयदेखि सहकारी क्षेत्रमा क्रियाशील पौड्यालले सहकारी क्षेत्रका एक विज्ञको रुपमा पहिचान बनाइसकेका छन् । प्रारम्भिक संस्था, जिल्ला हुँदै राष्ट्रिय सहकारी महासंघमा सञ्चालक रहेर भूमिका निर्वाह गरिरहेका पौड्यालले आफुलाई सहकारीकर्मीका रुपमा मात्र सीमित राखेका छैनन् । सहकारी अभियानलाई सबल र सक्षम बनाउन पौड्यालले विभिन्न तालिम तथा प्रशिक्षण समेत दिँदै आएका छन् । 

सहकारी क्षेत्रलाई नजिकबाट बुझेका पौड्याललाई ललितपुर जिल्ला संघको अध्यक्षमा निर्वाचित गराए जिल्लाको सहकारी अभियानले थप उच्चाई हासिल गर्न सक्ने अपेक्षा गरिएको छ । ललितपुरको सहकारी अभियानलाई सबल, सक्षम र दिगो बनाई मुलुकमा नै चिनाउन आफुले पहल गर्ने अध्यक्ष पदका प्रत्यासी पौड्याल बताउँछन् । 

जिल्लाको अभियानलाई अघि बढाउन  संघका थुप्रै चुनौतीहरु रहेको र त्यसलाई नजिकबाट नियालेका पौड्याललाई नेतृत्व प्रदान गर्नु उपयुक्त हुने जिल्लाका सहकारीकर्मी बताउँछन् । सहकारी मुल्य, मान्यता र सिद्धान्त अनुरुप जिल्लाको सहकारी अभियानलाई हिँडाउनका साथै वर्तमान अवस्थामा सहकारीका समस्याहरुलाई हल गरेर अघि बढ्ने सोचका साथ आफु र आफ्नो प्यानलको उमेदवारी रहेको पौड्यालले बताए । 

प्यानलबाट उपाध्यक्षमा विभुशोन शाक्य, महिला उपाध्यक्षमा इन्दिरा देवी बजगाईं, सचिवमा शशिधर पोखरेल, कोषाध्यक्षमा कर्ण देशार सहित १० जना सञ्चालक सदस्य र लेखा सुपरिवेक्षण समितिमा ३ जना रहेका छन् । 

निर्वाचनमा पौड्यालको प्यानलले प्रत्यासी केदार गोर्खालीको प्यानलसँग प्रतिस्पर्धा गर्नेछ ।