शनिबार, आश्विन १७ गते २०८३

सहकारीबाट सार्थक सामाजिक रूपान्तरण  कसरी हुन सक्छ ?

चैत्र १९, २०७८ शनिबार
सहकारीबाट सार्थक  सामाजिक रूपान्तरण  कसरी हुन सक्छ ?
bidyapati.jpg
 
लाेकनारायण सुवेदी
 
सामुहीकरुपमा सानो पूँजीको संकलन र त्यसको सही सञ्चालन गरेर संगठित समुदायको सार्थक समुन्नति गर्ने दिशातर्फको आधारभूत अग्रसरता र खोजी हो सहकारी । आधुनिक सहकारीका अभियन्ता रोचडेल पायनियर्सहरुको अग्रसरतालाई यसैरुपमा बुझ्न सकिन्छ र बुझिनु पर्दछ । यसको अन्तर्यमा शुरुदेखि नै पूजीले गर्ने श्रमको शोषणबाट कसरी जोगिदै सामुहीक समुन्नतिका प्रयासहरुलाई साझारुपमा संगठित हिसाबले अगाडि बढाउन, यसलाई बिबिधिकरण गर्न र बिशिष्टिकरण गर्न सकिन्छ भन्ने कुरा सन्निहीत छ । यस महत्वपूर्ण यथार्थलाई बिर्सेर या बेवास्ता गरेर नाफाका लागि मात्र सहकारी सञ्चालन गर्ने हो भने त्यो सहकारी नभएर बित्तीय र ब्यापारिक कारोबार मात्र बन्न जान्छ र त्यसैमा सीमित हुन पुग्दछ । जुन कुरा सहकारीको आधारभूत मूल्य, मान्यता र आदर्शको पनि बिल्कुलै विपरीत कुरा हो र हुनजान्छ । 
 
हो, सहकारी आफै बाँच्नु पर्दछ, टिक्नु पर्दछ र अग्रगामी गतिशीलता पनि यसले लिनै पर्दछ । वास्तबमा यो स्वचालित हुनुपर्ने अभियान हो र यसै उदेश्यका लागि सहकारीहरु खडा गरिने गरेका पनि हुन् । तर यसो गर्दा सहकारीका जुन सर्बोपरी आधार मूल्य पद्धतिहरु छन् तदनुरुप नै चल्नु पर्दछ र तिनको पूर्ण परिपालना भएको हुनु पर्दछ । अन्यथा यो सहरकारीको भावना बिपरीत भएर जान्छ । त्यसो हुँदा नाम सहकारीको काम गैर सहरकारी हुनु पुग्दछ । यस्तो भ्रष्टिकरण रोकिनु पर्दछ । सहकारीका याबत कृयाकलापहरु मनसा, बाचा, कर्मणा संगतिपूर्ण ढंगले परिचालन हुनु पर्दछ, भएको देखिनु र महसुश गर्न पाएको हुुन पर्दछ । अनि यसको अबलोकन, अनुगमन, मूल्याकन पनि यसै आधारमा भए गरिएको हुुनु पर्दछ ।
 
बास्तवमा सहकारीलाई बिश्वसनीय र भरपर्दो बनाउने बाटो नै यही हो । यस कुराबाट बिमुख भएर वा दायाँ बायाँ लागेर कुनै पनि किसिमको बिचलन आउनासाथ यस अभियान र यसको सञ्चालनप्रतिको बिश्वास र भरोसा खण्डित हुनजान्छ । आजको सहकारी अभियान भित्रको एउटा जटील समस्या नै यही हो । बिकृति र बिसंगति बढेर ब्याप्त भएपछि यसप्रति प्रश्न उठ्दै आएको र उठिरहेको कुरा पनि यही नै हो । सहकारीलाई सुसञ्चालन गर्नका निम्ति यस बिसंगत तथा गम्भीर समस्याको सही किसिमले निबारण हुनसक्नु पर्दछ । बास्तबमा सहकारीको उज्वल भबिष्य यसैमा अन्तरनिहीत छ । अतः सहकारीसँग सम्वन्धित सबै सरोकारवाला सरकारी तथा गैर सरकारी संस्था र जिम्मेवार आधिकारिक ब्यक्ति/ब्यक्तित्वहरुले यसमा सम्पूर्ण धयान केन्द्रित गर्नै पर्दछ । 
 
तर कुरा सहकारी भित्रका समस्यामै मात्र सीमित छैन । यस वरिपरीको परिबेशले पनि यसलाई प्रभाव पारिरहेको हुन्छ । अरु अरु क्षेत्रलाई भ्रष्ट राजनीतिक गतिबिधिले प्रभाव पारेजस्तै सरकारीलाई पनि प्रभाब पारेको छ नै । सबैलाई थाहा भएकै कुरा हो कि मूख्य राजनीतिक प्रणालीका सहायक प्रणालीहरु तब मात्र सही किसिमले अस्वस्थ नभइकन चल्न सक्दछन् जब मूल राजनीतिक प्रणाली सही किसिमले जिम्मेवारीपूर्ण तरीकाले चल्दछ । त्यसैले हामीकहाँ उत्पन्न गराइएको राजनीतिक अस्थिरता, ब्याप्त तुल्याइएको भयावह भ्रष्टाचार र जनता तथा देशप्रतिको असंबेदनशीलता र गैर जिम्मेवारीले गर्दा अरु उप क्षेत्रहरु जस्तै सहरकारी क्षेत्र पनि नराम्रोसँग प्रभाबित भएको कुरालाई समेत बिर्सन मिल्दैन । मुहान फोहोर भए पछि तलको पानी सफा हुँदैन भन्ने कुरा ज्ञात कुरा नै हो ।
 
प्रष्ट छ, हामीले कुनै एउटा उपप्रणाली किन ठिकसँग चलेन र लक्षित उदेश्य पूरा गरेन भनेर खोजबिन गर्दा सम्वन्धित संस्था मात्र होइन त्यसको मूल प्रणालीनै ठीकसँग चलिरहेको छ कि छैन त्यो समेत हेर्नुपर्ने हुन्छ । यसरी बिकृति र बिसंगतिको श्रोत के हो भन्ने कुरालाई पनि हेर्नु र केलाउनु पर्ने हुन्छ । रोगका बाहिरी र भित्री कारणहरु राम्रोसँग नकेलाईन त्यसको सही उपचार पनि हुन सक्दैन ।
 
त्यसैले, सहकारीका समस्याहरु केवल सहकारी संस्था र त्यसका सञ्चालहरुका समस्या मात्रै होइनन् यो कुन राजनीतिक प्रणाली, कस्तो अर्थतन्त्र, कुन किसिमको सामाजिक र साँस्कृतिक संरचनको परिबेश अन्तरगत चलिरहेको छ भन्ने कुरामा समेत गम्भीर ध्यान जानुपर्ने हुन्छ । तसर्थ सहरकारीको ब्यवस्थापन र सञ्चालनका मूल्य मान्यता, आबश्यक तालिम तथा प्रशिक्षण, उचित र उपयक्त ऐन कानुन एबं अनुगमन नियमितरुपमा चल्नु पर्दछ र तिनको आबश्यक उन्नयन गरिनु पर्दछ नै । तर त्यतिले मात्र पुग्दैन र पूर्ण हुदैन । अत सहकारीमा उत्साहजनक बातावरण ल्याएर यसलाई अर्थ–सामाजिक रुपान्तरणको अग्रगामी, उन्नत र शतत प्रगतिका लागि निरन्तरता दिन बृहत राजनीतिक परिबेशलाई नै आशाप्रद र बिश्वसनीय तुल्याइनु पर्दछ । यसरी चल्न सकेमा सहकारीले दिन पर्ने सामाजिक रुपान्तरणको बाञ्छित परिणाम प्राप्त हुनसक्छ र यसको सार्थकता पनि हुन्छ ।