शनिबार, आश्विन १७ गते २०८३

देउवाको भारत भ्रमण  : पृष्ठभूमि र परिप्रेक्ष

चैत्र १७, २०७८ बिहीबार
देउवाको भारत भ्रमण  : पृष्ठभूमि र परिप्रेक्ष

पश्चिमाहरुले अप्रिल फुल मनाउने १ अप्रिलका दिन नेपालका प्रधानमन्त्री देउवा भारतको तीन दिवसीय भ्रमणमा जान लागेका छन् । बर्तमान पाँच दलीय गठबन्धन सरकार बने पछिको यो उनको पहिलो भारत भ्रमण हो । 
 भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा हुन लागेको यो भ्रमणमा प्रधानमन्त्री पत्नी आरजु देउवा, परराष्ट्र मन्त्री डा. नारायण खड्का, बिभिन्न मन्त्रालयका सचिवन तथा अन्य अधिकारीहरु रहने बताइएको छ ।
 देउवाको यो यात्राले दुइ देशका बीचको द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिने भारतीय पक्षको दाबी छ । भारतीय सत्ताधारी भारतीय पक्षले हिमाली राष्ट्र नेपाल र भारतका बीच सदियौंदेखि धार्मिक, साँस्कृतिक, ब्यापारिक र राजनीतिक बिशेष सम्वन्ध रहँदै आएको भनेर नेपाललाई भारतकै पथ अनुगामीकोरुपमा प्रस्तुत गर्ने गर्दै आएका छन् ।् यद्यपि भारतसँग नेपालका १९५० को सन्धि, महाकाली नदी लगायतमा असमापन प्रकृतिका नदी परियोजनाका बिबादास्पद सम्झौताहरु अनि बर्षौ देखिको कालपानी बिबाद र सीमा अतिक्रमणका समस्या काँचै छन् ।
 यद्यपि भारतको अभिजात बर्गीय सत्ता भने नेपालका तथा कथित कम्युनिष्ट सरकारमा भएका बेला भारतसँगको सम्वन्ध बिग्रने गरेको र उनीहरु भारत बिरोधी रहेको र सम्वन्धमा गतिरोध पैदा हुने गरेको  हल्ला गर्न भने छाडेको छैन । यद्यपि भारतीय सत्तालाई राम्रोसँग थहाँ छ कि भारतसँगको पछिल्लो बिबादास्पद महाकाली सन्धि र अरुण तेश्रो परियोजना सम्झौता नेपालमा कम्युनिष्ट नामका सहयोगीहरुकै बरद हातबाट भारतको हात माथि परेको कुरा जग जाहेर छ । नेपालमा अमेरिकी एमसीसी परियोजना पनि सत्तामा खाइखेली गरेका कम्युनिष्टहरुकै प्रत्यक्ष परोक्ष सहयोगमा संसदबाट पारित भएको कुरा बर्तमानको खतरनाक ताजा घटना हो ।
 नेपालको संसदले त्यो एमसीसी सम्झौता अनुमोदन गरेपछि नै चीनका बिदेश मन्त्री ताथ स्टेट काउन्सिलर वाङ यीले पनि गएको साता मात्र अर्थात चैत्र ११–१३ मा नेपालको तीन दिबसीय भ्रमण गरिसकेका छन् । यस किसिमको पृष्ठभूमि र परिप्रेक्षमा देउबाको भारत भ्रमण हुन लागेको हो । त्यसैले, भारत र नेपालका प्रधानमन्त्रीका बीच हुने कुराकानीमा प्रत्यक्ष परोक्ष चीन र अमेरिकाको सम्वन्धको कुराकानी पनि जोडिएर आउँदछ नै । किनभने चीन नेपालको युगौयुगदेखिको सम्बन्ध भएको देश हो । नेपालको अबस्थितिप्रति अमेरिकाको रुची पनि निकै पहिलादेखि बिशेषरुपले रहँदै आएको छ । नेपालमा बढ्दो अमेरिकी सक्रियतासँगै चीनको नेपाल प्रतिको चासो र चिन्ता पनि यतिबेला बढेको देखिन्छ ।