शनिबार, आश्विन १७ गते २०८३

बृध्दाश्रमसम्म पुर्याउन कन्यादान र कन्यादानको भूमिका ?

चैत्र १५, २०७८ मंगलबार
बृध्दाश्रमसम्म पुर्याउन कन्यादान र कन्यादानको भूमिका ?

bisnupathak.jpg
*प्रा. डा. बिष्णु पाठक

(‘नेपाली समाज÷परिवार कता जाँदैछ’ ? भन्ने वारेमा यो मानवशास्त्रीय–समाजशास्त्रीय बिश्लेषणात्मक टिप्पणी भएको हुँदा कुनै परिवार, बर्ग, तह–तप्का वा जीवन–कामसंग मेल खान गएमा संयोग मात्र हुने छ) 

बि. स. २०६८ अशोज महिनामा पशुपति वृध्दाश्रमको कार्यलयमा एक भद्र देखिने अधबैंसे मानिसले प्रवेश गरे। त्यहाँका उपस्थित कर्मचारीहरुले दशैंको उपलक्ष्यमा बृध्दबृध्दालाई केही सामाग्री बाँड्न आएको होलान भन्ने ठाने । तर उनी बिगत १७ बर्षदेखि अमेरीकामा बस्तै आएको, आफ्नो नयाँ बानेश्वर स्थित घरमा आफ्नो श्रीमती र आमा बस्दै आएका र छोरा–छोरीलाई स्कुलमा बोडर्स गरेको बताउदै उनले थपे, “मेरा बुबा–आमा जस्तो तपाईकी आमा असल भएको भए पो पाल्न सजिलो हुन्थ्यो” भन्दै आफ्नै श्रीमतीले आमा तथा मसँग सधैं झगडा गरेकोले जे जति रकम लाग्छ लिएर आफ्नी आमालाई वृध्दाश्रममा राखिदिन अनुरोध गरे । कर्मचारीले अहिलेलाई दशैंको बिदा हुँनै लागेकोले आफ्नो बिबरण खुलाएर निबेदन दिन र कार्यलय खुलेको चौथो दिनमा सम्पर्क गर्न आग्रह गरे । उनी तोकिएकै दिन करिब ३ बजे कार्यलयमा आईपुगे र ‘मेरो निबेदन उपर के निर्णय भयो’? भनेर सोधे । ‘बोर्डले त्यस आश्रममा स्वंयम सेवकसेविकाको पनि आबश्यकता भएको हुँदा आमा होईन, तपाईको श्रीमतिलाई यहाँ राख्ने निर्णय गर्यो’ भन्ने कुरा कर्मचारीले सुनाए पछि ‘श्रीमतिलाई सोधेर आँउछु है’ भनेर बाहिर निस्केका ती ब्यक्ति फेरि कहिलै फर्केर आएनन् (श्रोतः यादव पाठक, तत्कालीन कार्यलय प्रमुख, पशुपति वृध्दाश्रम, फागुन २७, २०६८)।

के मापदण्डको आधारमा कोही असल र खराब हुन्छ होला ? माथि उल्लेखित सत्य घटानाले धेरै कुरा बोल्छ । त्यस मध्येको प्रखर सवाल भनेको आफ्ना बाबु–आमा प्यारो लाग्ने तर सासु नि ? छोरा बुहारीकै कारण केही बर्ष पहिलासम्म फाट्टफुट्ट रुपमा थोरै बाबुआमा बृध्दाश्रममा पुगेका भए पनि त्यस्तो संख्या बिस्तारै बढ्दै गएको छ । पश्चिमी देशहरुमा जसरी बृध्द बुबा–आमा एक्लै कोठामा बस्ने मात्र होईन, मरेर शरीर गन्हाए पछि मात्र राज्य तथा समाजलाई थाहा हुन थालेको छ, त्यो प्रवृत्ति नेपालमा पनि कुनै दिन भित्रिने त हैन ? प्रश्न उठेको छ । किनकि कार्य ब्यस्तता भनौ, सुखी जीवनको खोजी, अभावमुक्त जीवन, लोभी–पापी स्वभाव वा अति महत्वकांक्षाले चार पाँच पुस्ता एकै घर ( संयुक्त परिवारमा बस्ने चलन बिस्तारै घट्दै गएको छ । अर्कोतर्फ, पश्चीमी देशको नक्कल गर्दै आफ्नो सानो एकल परिवारमा बस्न मन पराउने चलनले हालैका दिनमा परिवारलाई मात्र प्रभाव पारेता पनि यो प्रबृति बढ्दै गएमा भोलि त्यसले समाज तथा देशलाईनै गम्भिर चुनौति दिने छ । सुखि सन्तान (१ वा २ छोरा–छोरी)को खोजी गर्ने प्रबृति, शहरीया जीवन र बिदेशमा बस्ने चलनले नेपालमा पनि बिस्तारै बृध्द–बृध्दाहरुको समस्या बढ्दै छ । जसरी ईजरायलमा बृध्द–बृध्दाहरुको स्याहार चाकर गर्न (caregiver) को रुपमा नेपालीहरु जाँदैछन, भोली नेपालीको अबस्था त्यस्तै भयो भने के गर्ने होला? नेपालले त्यसैगरी मुश्लिम (अन्य धर्ममा त जनसंख्या घट्दो अवस्थामा छ) देशहरुबाट (caregiver) आपुर्ति गर्न सक्छन् कि सक्दैनन् होला ?

कन्यादान जसमा ‘कन्या’ को अर्थ छोरी र ‘दान’ भनेको अर्को पुरुषलाई सित्तैमा उपहार दिनु हो। हिन्दू संस्कारको विकाससंगै किशोरावस्था (महिनामारी शुरु हुनु पूुर्बनै)मा पुग्नु अघि नै छोरी वा बालिकाको विवाह गर्ने प्रचलन सुरु भएको थियो । मनुस्मृति ग्रन्थले छोरीको अस्तित्वका लागि पुरुषको अभिभावकत्व आवश्यक ठानेको छ । वैदिक रीतिरिवाज र संस्कार अनुसार कन्यादान भनेको आफ्नो बुबाको संरक्षकत्वमा हुर्की–बढेकी अविवाहित छोरीलाई विवाहपछि उनको पति र उसको परिवारमा सुम्पनु हो। अब समय परिवर्तन भएको छ जसमा बाल विवाह इतिहास बनिरहेको छ। अर्को तर्फ, यहाँ कन्यदान भनेको छोरा वा पुरुषको बिबाह पछिको समयलाई जनाउँछ ।

छोराले ससुरालीका बुबा–आमा र बुहारीले घरतिरका बाबु–आमा एउटै परिवार मान्दै समान हैशियतमा राख्नु पर्ने भएता पनि बिबाह पश्चात केहि छोरा (श्रीमान)हरु कन्यदानको रुपमा पुर्ण बुहारीको नियन्त्रणमा आउने गरेको पाईन्छ । सामाजिक परिपाटीमा हुर्के बढेकी बुहारी रहिछन् भने त आफ्ना माईतिका बुवा–आमा तथा सासु ससुरालाई राम्रै गरी सन्तुलनमा राख्छिन् । तर बुहारीलाई माईति प्यारो भएमा घर परिवार बर्बाद बन्ने खतरा बन्छ नै । एकातीर, छोरा बुहारीले आफ्ना हजुर बाबु–आमालाई कस्तो ब्यबहार गरेका छन त्यहि सिको उनीहरुले आफ्ना बुबा–आमालाई दोहोर्याउने भए र छर–छिमेकीले पनि त्यहि सिक्ने भए । अर्को तर्फ, नेपालमा आजको दुई दशक पछाडि छोरा जन्माउने तिब्र आकांक्षका कारण ५–१० प्रतिशतसम्म बालिका वा महिलाहरुको संख्या कम हुन सक्छ । त्यस्तो अबस्थामा धेरै श्रीमानहरु बुहारीहरुको नियन्त्रणमा आउने संभावना अझ बढी रहन सक्छ । बृध्द–बृध्दाहरु आफु बाँच्न या त पश्चीमी शैलीझैं एक्लै बस्न बाध्य हुने छन् या त बृध्दाश्रममा । यदि बृध्दाश्रममै बस्नु पर्ने अबस्था आँउन सक्छ भन्ने लागेमा पनि सबैले अहिले बाटनै त्यतातिर लागानी बढाऔं । 

कन्यदान भएका पुरुषले आफ्नो कमाई पनि सबै श्रीमतीलाई बुझाउने वा श्रीमतीकै खाता सञ्चालन गर्ने भएकोले आफ्ना बुबा–आमालाई केही सामान वा कपडा किनीदिन पनि श्रीमतीको आदेश कुर्नु पर्ने हुन्छ, त्यसमा पनि सीमित बजेटमा । तर माईति पक्षतिर श्रीमतीलाई ज–जसलाई जे–जति दिन मन लाग्छ त्यही किनीदिन वा सहयोग गर्न श्रीमान बाध्य हुन्छ । त्यस्तो अबस्थामा ती कन्यदानले एउटै पेटबाट जन्मिएका दाजु–भाई र दिदी–बहिनीकोलागि सहयोग गर्ने सपनामा पनि कल्पना गर्न सक्दैनन् । अरु त अरु, त्यही घरका छोरीचेली माईत जाँदा समेत कन्यदानका बुबा–आमा स्वयंले मासु, सब्जी किन्नु पर्ने बाध्यात्मक अबस्था आउन सक्छ । छोराको आर्जनबाट यदि घर बनाईएको र त्यहीं बाबु–आमा बस्नु पर्ने बाध्यता आएमा जत्रोसुकै घर भएमा पनि उनीहरुको फोटो राख्ने ठाउँ समेत नहुन सक्छ । त्यति मात्र होईन, कन्यादानले एउटै आमाको पेटबाट निस्किएका दिदी–बहिनी वा दाजु–भाई कसैलाई पनि ‘तपाई कहिले घर जानु हुन्छ ? भनेर पुगेकै दिनबाट सोध्न सक्छन् । त्यस्ता कन्यदानको नामर्दपनकै कारणले कतिपय बाबु–आमा तिरस्कृत हुँदै बृध्दाश्रममा पुगेका छन् त कोही पुग्ने क्रममा हुन सक्छन् ।


अध्ययनको क्रममा पाईएको मनै छोएको एउटा सत्य (सामन्य सरकारी पदमा जागिरमा रहेको तर अकुत सम्पति कमाएको) घटनालाई यहाँ पस्तुत गर्नै मन लाग्यो । आफ्नो श्रीमानको मृत्यु पश्चात एउटी आमा छोराले बनाएको शहरको नयाँ घरमा बस्न पुगिन । उनलाई शरीर हल्लीने रोग लाग्यो । छोराले आमालाई जचाउने कुनै चाहाना देखाएनन् । जब शरीर हल्लिएर कुँजीन थालिन, आफन्त मानिसहरुले डाक्टरकोमा लगेर चेकजाँच गराउन दवाव दिए, उनले डाक्टरकोमा लगे पनि । तर उनले आफन्तलाई भने, – ‘यो रोग पार्किन्सन अरे, यसको कंही पनि उपचारनै छैन रे’ । चेक गराएर उपचार गराएमा आमा लामै बाँच्छिन भन्ने भय भयो कि पैसा खर्च हुने भन्ने भयो, उपचार नभएकै कारण आमाका हात खुट्टा फर्के, कुँजीन पुगिन् । त्यसपछि उनले पेटभरी खानाको त कुरै छोडौं, बुहारीले हप्काउने–दप्काउने मात्र नभएर पिटेको समेत आफन्तसँगको भेटमा ती आमाले बताइन् । संयोगनै भन्नु पर्छ, आफ्नै छिमेकी आफन्तले बुहारी घरमा नभएको बेलामा ती आमालाई रोटी लगेर खाना दिन्थिन् रे । छोरा बुहारीको त्यस्तो ब्यबहार हुँदा पनि, एक दिनको कुरा हो, पाँचवटा रोटी खाए पछि दुई रोटीचै मेरो काले (छोरा)लाई भन्दै ती आमाले लुकाइन् रे, ‘आमाको माया छोरा माथि, छोरा माया ढुङ्गा माथि’ । केही बर्ष अगाडि ती आमा पनि स्वर्गलोक प्रस्थान गरिन् । ती आमा बृध्दाश्रमसम्म पुग्न सकेको भए आयु अरु लम्बिन सक्थ्यो होला ।


अर्कातिर, श्रीमतीको अगाडि आफ्ना असन्तोष वा कुण्ठा पोख्न नसक्ने कन्यदान साँझतिर अन्य केही सामाजिक अगुवा–टाठाबाठाझै भट्टीमा राति अबेरसम्म बस्न पुग्छन् । दिन–दिनै भट्टीमा जाने वा घरमा बिभिन्न ठाउँहरुमा लुकाएर अल्कोहल पिउने बानीले एकातीर सम्पति, मान मर्यदा नास हुँदै छ भने अर्को तर्फ भौतिक सुख क्षणिक भई परवरिक शान्ति भंग पनि हुन पुग्दै छ । केही कन्यदानहरु त्यो कुलतबाट छुटाउन सुधार केन्द्रमा समेत पुगेका इतिहास छन्।


आफ्ना छोरा छोरीहरुलाई परिवार के हो ? समाज के हो ? उनीहरुलाई समयमै दायित्वबोध गराउँ । त्यसका लागि समय निकालेर पर्याप्तरुपमा उनीहरुसँग छलफल गरौं। यसमा  राज्यले पनि समयमै ध्यान दिनु पर्छ । सचेत बर्गले पनि आ–आफ्नो ठाँउबाट त्यस्तो अबस्था आएमा घृणा गर्ने भन्दा पनि माया, ममताकासाथ हिम्मत दिदै सही उपचारको साथ स्वाबलम्बनको पाठ सिकाऔँ । पैसा क्षणिक हुन्छ । पैसा केही चीज हो, सबै थोक होइन । पैसाले संधै काम नगर्न पनि सक्छ, तर आफन्तजन परिवार सुखमा र दुःखमा पनि साथमा हुन्छन् । मान्छे मुठी बाँधेर जन्मन्छ, तर प्राण त्याग्दा हात खोलेर, सबै बैभव सम्पन्नता त्यागेर जान्छ । आफ्ना श्रीमतीहरुले आफ्ना श्रीमानहरुलाई यो चाहियो, त्यो चाहियो तपाईले ब्यबस्था गर्नै पर्छ भनेर जसरी पनि सम्पति कामाउन दवावमा नडालौ । सम्पतिले खाना लाउन पुगे हुन्छ । छोरा–छोरीका लागि भन्दै धेरै सम्पति कमाएर राख्नु या त आफ्ना सन्तानलाई अल्छी बनाउनु हो, या त कुलतमा फसाउनु हो । धेरै सम्पतिमा जन्मे हुर्केका सन्तानमा यस्तो् फैलिएको विश्व इतिहास छैन । सम्पतिको साटो आफ्ना सन्ततिलाई योग्य र क्षमतावान वनाऔं, त्यसमा जोडबल डालौं । आफन्तको डाहा गर्ने वानीबाट मुक्ति होऔं र आफ्ना सन्तानलाई पनि पारौं।


मानवता, प्रेम, सद्भाव, सदाचार र असल आचारणनै नेपालीका पुर्खौ देखिको सम्पत्ति र सभ्यता हुन । आफु शान्त भएको बेलामा एकान्तमा बसेर अतितलाई नियाल्दै मैले के ठिक गरे ? के बेठीक ? के गरेको भए अझ परिवार, समाज र देशको लागि हित हुन पुग्थ्यो ? भनेर दिमाग(मनलाई एकै ठाउमा राखेर मनन गरौं । सबैको भलो चीताउँदा शान्ति आफैं प्राप्त हुन्छ, ‘सन्तोषम परम सुखम्’। धन–दौलत, सुख, सुबिधा, महत्वकांक्ष र लोभ नत्यागेको भए न त गौतम बुध्द संसारभर यसरी चम्कन्थे, न त माहात्मा गान्धि, मदर टेरेशा र नेल्सन मण्डेलाहरुनै जन्मन्थे ।


जो कोहि पनि एक दिन त बुढाबुढी हुने नै हो । महिला र पुरुष सृिष्टको सुरुवातबाटै एक रथका दुई पाङ्ग्रा हुन् । न त महिला एक्लैले परिवार, समाज र देश चलाउन सक्छिन, न त एक्लै पुरुषलेनै । कन्यादान र कन्यदानको बिभेदमा होईन समानता, पहिचान र अलग–अलग क्षमताको आधारमा सहभागी हुँदै अगाडि बढौं । कन्यादान वा कन्यदान को गलत ब्याख्या समाज–परिवारबाट हटाऔं। बुबा–आमा र सासु–ससुराहरुलाई बृध्दाश्रम पुग्न बाट बचाऔं । ‘पुगेकालाई पनि फिर्ता ल्याऔं । बृध्दाश्रम खालि गरौै’ । सीमित बाहेक बृध्दाश्रम नै बनाउन हुदैन।

*डा. पाठक लेखक ख्यातिप्राप्त प्राध्यापक  एवं द्वन्द्व बिष्लेशक हुन।
संकलक : सीताराम थापा