बचत तथा ऋण सहकारी संस्थाहरुको केन्द्रीय छाता संगठन नेफ्स्कुनले आफ्ना सदस्य संघ संस्थाहरुको ११ बुँदे मार्ग दर्शन जारी गरेको छ ।
मार्गदर्शनमा महामारीको अवस्थालाई मध्यनजर गरी कम्तीमा ३ सदस्यी विपद् जोखिम न्यूनिकरण एवं व्यवस्थापन कार्यदल गठन गर्न, विद्युतिय माध्यमबाट नियामक निकायसँग विवरण पठाउन, प्रभावित सदस्यहरुको तहगत वर्गीकरण गर्न, ऋणी सदस्य, तरलता र आयमा प्रभाव विश्लेषण र २० प्रतिशत तरलता कायम गर्न सुझाइएको छ ।
त्यसैगरी खर्चमा मितव्ययिता अपनाउन र सदस्यहरुलाई बचतमा प्रोत्साहन गर्न भनिएको छ । बन्दाबन्दीका कारण ऋणको ब्याज र किस्ता बुझाउन नसक्ने सदस्यहरुलाई आन्तरिक निर्णय गरी ब्याज छुट दिन र हर्जाना नलिन, आगामी पौष मसान्तसम्म किस्ता तिर्ने समयावधि थग गर्न, निषेधाज्ञा अवधिभरको किस्ता रकमलाई पुनतालिकीकरण गर्न र सदस्यहरुको व्यवसाय सञ्चालनका लागि कर्जा रकमको १० प्रतिशतसम्म पुनकर्जा दिन सकिने उल्लेख गरेको छ ।
त्यसैगरी सहकारी विभागको परिपत्र अनुसार गएको सहुलियत सुविधा दिन, कर्जा नोक्सानी कोषको व्यवस्था गर्न, सम्भावित कोरोनाको तेश्रो लहरको जोखिमलाई मध्यनजर गरी कोषहरुको परिचालन आगामी पौष मसान्तसम्म स्थगित गर्न र ऋण व्यवस्थापन कार्यविधि बनाई लागु गर्न मार्गनिर्देशनमा उल्लेख गरिएको छ ।

