शनिबार, आश्विन १७ गते २०८३

सातै प्रदेशमा "स्टार्टअप एण्ड आइडिया फेस्ट" हुँदै 

चैत्र १५, २०७८ मंगलबार
सातै प्रदेशमा "स्टार्टअप एण्ड आइडिया फेस्ट" हुँदै 

लिभिङ विथ आइसिटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ । डिजिटल क्षेत्रमा कृयाशिल स्थानिय नवप्रर्वदकहरुलाई प्रवद्धन गर्ने र आवश्यक लगानी समेत जुटाउने उदेश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो । २०७८ चैत १८ गते गण्डकी प्रदेशबाट सुरु हुने कार्यक्रम २०७९ जेष्ठ दोश्रो साता बागमती प्रदेशमा समापन हुनेछ ।

चैत १८ गते गण्डकी प्रदेशको पोखराबाट कार्यक्रमको सुरुवात हुदैछ भने जेष्ठ दोश्रो हप्ता बागमती प्रदेशको चितवनमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ । पहिलो चरणमा पोखरापश्चात चैत २३ गते बुटवल, चैत २७ गते बिरगञ्ज र बैशाख २ गते बिराटनगरमा कार्यक्रम आयोजना हुनेछ । दोश्रो चरणमा सुदुपश्चिम, कर्णाली र बागमतीमा कार्यक्रम आयोजना हुनेछ ।

यस कार्यक्रममा स्थानिय स्टार्टअप तथा विद्यार्थीहरुका इन्नोभेटिभ आइडिया तथा प्रोजेक्टहरुलाई प्रदर्शनीमा राखिनेछ । सहभागिहरुले आफ्नो आइडिया वा प्रोजेक्टको बारेमा विज्ञ छनौट समितिको सहभागितमा प्रस्तुती दिनेछन । यसैगरी उनिहरुले आइटी क्षेत्रका सफल स्थानिय तथा केन्दका उद्यमीहरुबाट मेन्टरिङ सेसनमा पनि सहभागी हुने अवसर प्राप्त गर्नेछन । आयोजकले हरेक प्रदेशबाट उत्कृष्ट ५ स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा विजनेश इन्क्युवेसनमा सहभागि गराउने जनाएको छ । छनौट भएका स्टार्टहरुले बैंकले उपलब्ध गराउने सहुलियतपुर्ण ऋण सुविधा र लगानीको लागि अवसर प्राप्त गर्नेछन । स्टार्टअपहरुले आबश्यक प्रविधि, कानुनी सहायता र व्यपार प्रवद्धनको लागि निशुल्क परामर्श तथा विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । हरेक प्रदेशका उत्कृस्ट १ लाइ आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनालेमा सम्मान पनि गरिने बताइएको छ ।

हरेक प्रदेशको कार्यक्रममा कम्तिमा ३० बढि स्टार्टअपहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा प्रदेश सरकार, स्थानिय सरकार, नीजि क्षेत्र र सरोकारवालाहरुको उपस्थितीमा डिजिटल रुपान्तरणमा प्रदेश विषयमा विशेष अन्तकृया तथा डिजिटल संवाद कार्यक्रम पनि आयोजना हुनेछ । विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म विभिन्न सेसन र प्रदर्शनी कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । स्टार्टअपहरुले निशुल्क सहभागि हुने अवसर प्राप्त गर्नेछन भने कार्यक्रममा अवलोकन तथा सहभागिताको लागि पनि प्रवेश निशुल्क गरिएको छ । 
कार्यक्रममा इबिमा, राष्ट्रिय वाणिज्य बैंक, निमा एकेडेमी, सफ्टवेरिका कलेज, एसिसिए, ब्रोडवे इन्फोसिस, सिएसआइटी एसोसिएसन लगायतको सहकार्य तथा सहयोग रहेको छ । यसैगरी सोहि दिन आयोजना हुने प्रादेशिक डिजिटल संवाद कार्यक्रममा ह्वावे, इन्फोडेभलपर्स, नेपाल दुरसञ्चार प्राधिकरण लगायत प्रदेश सरकारहरुको सहकार्य रहेको छ । डिजिटल संवाद कार्यक्रम प्रदेश सरकार, स्थानिय सरकार, सरोकारवाला र नीजि क्षेत्रको उपस्थितीमा विशेष अन्तकृयात्मक रुपमा सञ्चालन हुनेछ ।