बर्षै पिच्छे २२ मार्चका दिन पानी दिवस मनाइन्छ । पानीका बारेमा अनेक औपचारिक चर्चा परिचर्चा गरेर काम फत्ते भएको मानिन्छ । वास्तवमा प्रकृति र पानीलाई हलुकारुपमा लिनु मानिस स्वयमलाई कत्तिको मँहगो र भारी कुरा हुन सक्छ यसका अनेक उदाहरुणहरु इतिहास र बर्तमानमा बिद्यमान रहेका छन् । तर पनि हामी भबिष्यका लागि तिनबाट कुनै शिक्षा लिदैनौ । ‘जो हात सो साथ’को गलत प्रबृत्तिका कारण हामी आफैले आफ्नो बिनाश निम्तित्याइरहेका छौ र भावी पिढीको भबिष्यमाथि पनि ठूलो खेलबाड गरिरहेका छौं !
बिज्ञानको प्रगति आज मंगल ग्रहमा अन्तरिक्ष यान पठाउनसम्म सफल भइसकेकोमा खुशीले नाच्ने हाम्रो अबश्य हक अधिकार छ । तर जब हामी ब्रहृमाण्डका मूलभूत अधिशासित नियमहरु, सिद्धान्तहरु आदिलाई देखेको नदेखेझै गर्दछौ, तिनलाई लत्याउँदछौं, प्रकृतिको उपेक्षा गर्दछौ भने बिभिन्न ग्रहहरुमा जतिसुकै जीवनको खोजी गरे पनि त्यो जीवनको रक्षा गर्न हामीले पटक्कै सक्नेछैनौं । आज हामी देखिरहेका छौ कि पृथ्वी जस्तो अनुपम ग्रहलाई मानिसले आफ्ना गलत गतिबिधिका कारणले समाप्त पार्दैछ । यस सम्वन्धमा हाम्रो बिगत हेर्दा पूर्खाहरुले राम्रोसँग सोचबिचार गरेर पृथ्वीका संसाधनहरुको उपयोग गर्ने र तिनको उपयोग या उपभोग गर्नुका साथसाथै सम्मान र सुरक्षा गर्न पनि उनीहरुले सिकाएका थिए । तर आज स्थिति बेग्लै छ । हामी प्रकृतिको यो निःशुल्क भण्डारलाई यसरी लुटिरहेका छौ मानौं, यो सदासदाका लागि हाम्रो हो र कसैले केही गर्न सक्तैन । हाम्रो सोच नै यस्तो बनिसकेको छ कि आज हामीले यसलाई जे जसरी हुन्छ भरमार उपभोग गरौ, भबिष्यका पिढीको लागि किन चिन्ता लिने ? यस्तै गलत सोचको परिणाम हो कि आज संसारका कतिपय स्थानमा पिउने पानीको एकदमै अभाव छ । पानीको अभावले खेतबारी बालीनाली उत्पादन गर्न अनुपयुक्त भइसकेका छन् । कतिपय ठाउमा पानी पाउन नै ठूलो तनाव र झगडाको स्थिति बनिरहेको छ । कतिपय ठाउँमा त कर्फ्यूसम्म लगाउनु पर्ने स्थिति उत्पन्न भएको छ ।

वास्तवमा यी प्रकृतिले दिएका नदी नाला, ताल तलैया र समुद्र आदिको सदुपयोग र भूमिको सही र बैज्ञानिक ढंगले उपयोग नगर्दाको स्थितिको दुष्परिणाम हो । यसले गर्दा आज एकातिर अन्न बाली उत्पादनमा कमी आइरहेको छ भने आर्कोतिर पशु पंक्षीहरु लोप भएर मासिएर गइरहेका छन् । तर हामी प्रकृतिका अनिवार्य र अपरिहार्यरुपमा परिपालना गर्नुपर्ने नियमलाई तोड्दछौ, छोड्दछौ र जथभावी गर्दछौ भने हामी कसैले देशभक्ति या जन भक्तिको खोक्रो गफ नछाँटे हुन्छ । त्यस प्रकारका भावनात्मक बिषयमा सञ्चार माध्यमहरु, सभा या गोष्ठीहरुमा घण्टौ समय समय बर्बाद गर्नुको पनि कुनै तुक, अर्थ र औचित्य रहँदैन ।
तर हाम्रो बानी नराम्रोसँग बिग्रिसकेको छ । हामी पानीको सदुपयोग गर्दैनौ तर पानी दिवसका बारेमा खुब पाण्डित्य छाँट्छौ र के के न गरेको जस्तो तामझाम गर्दछौ । तर जब बाढी पहिरो, सुख्खा खडेरीले सताउँदछ बिनाशलिलाले सताउँदछ त्यसबेला हामी निरीह प्राणीकोरुपमा प्रस्तुत हुन्छौ । यो प्रकृतिका नियमलाई बिल्कुलै नबुझने या बुझीबुझी बुझपचाउन अभ्यस्त भएका हामी मानिसहरुले स्वयम निम्त्याएको स्थिति हो ।
पानीलाई हाम्रा पूर्खाहरुले ‘भेषज’ भनेर शुद्ध पानीलाई औषधी म‘ानेका थिए । पानीबाट आगो निस्कन्छ’ भनेर हाम्रा पूर्खाहरुले जतिबेला भनेका थिए त्यो त्यतिबेला या धेरैले बिश्वास गरेका थिएनन् या धतङ्गाहरुले भनेको कुरा भनेर उडाएका थिए । तर पानीमा आगो त रहेछ । यसको ठिक स्थानमा ठिक किसिमले सदुपयोग गरेमा बिद्यूत निस्कन सक्तो रहेछ । स्वास्थ्य शरीरका लागि उपयोगी, खेतीपातीका लागि अत्यावश्यक, जलबिद्यूत, जल यातायता र जल क्रिडाका निमित्त समेत पानीको कत्ति ठूलो महत्व रहेको छ । तर यी सबै कुरामा हाम्रो ध्यान जाँदैन या गइहाल्यो भने पनि त्यो देश र जनतको हितमा नभएर निहीत र संकीर्ण स्वार्थ निमित्त तत्कालीन र क्षणिक लाभलाई हेरेर मात्र उपयोग गरिदोरहेछ । जबसम्म दीर्घकालीन र दूरगामी सोचकासाथ यसको सदुपयोग गरिदैन फलतः ढिलो चाडो अनेक रोगब्याध निम्त्याउने काम हुन्छ । हाम्रो स्वास्थ्यलाई लाग्ने साठी प्रतिशत रोग पानीजन्य रोग नै हुन्छ भन्ने कुरा बारम्बार बैज्ञानिक चिकित्सकहरुले औल्याइरहेका छन । पानीको बहु आयामिक सदुपयोग बिना सन्तुलित बिकासको प्रकृति मैत्री बाटोमा अग्रसर हुन पनि सकिदैन । वास्तवमा पानीमाथिको खेलबाड जीवन र जगतमाथिकै खेलबाड हुन्छ र यसले बिनाश निम्त्याउँदछ भन्ने बुझन र तदनुरुकयसो गर्नु नै मानिस र प्रकृतिप्रति पनि न्याय हुन्छ । भाबी पिढीको सुरक्षा पनि !