बुधबार, भाद्र ३ गते २०८३

जब नातिले शय हान्यो

चैत्र ४, २०७८ शुक्रबार
जब नातिले शय हान्यो

esantosh.jpg

-सन्तोष कुमार पोखरेल

        सरु मध्यपुर हस्पिटलमा सुत्करी भइन्I  मेरानिम्ति यो  जीवनको ठूलो अवसर थियो, ठूलीछोरीले मलाई हजुरबा बनाउँदै थिइन् I  सानी छोरी श्रुति र उनकी आमा अस्पतालमा अगि नैं पुगिसकेका थिएI  फोन आयो सरुको अप्रेशन गर्ने बेला भो भनेर, म हतार हतार अस्पताल पुगें र देखें सबै चिन्ता र कौतुहलमा थिए- कुनै खबर आएको थिएन अप्रेशन थिएटरबाटI  रातको ९ बजेर २३ मिनेट भैसकेको थियो एउटा मेसेज छोरी श्रुतिको मोबाइलमा आयो- छोरो जन्मियो ठ्याक्कै ९ बजे, अवस्था ठीक छI  मेसेज गर्ने सरुकी स्कूलकी साथी कमला थिइन्-हामीले एकआपसमा अँगालो हालेर यो खुशीको क्षणलाई सम्झनामा चिरस्थायी बनायौं I  म हजुरबाबु भएँ, एक खुड्किलो मास्तिर गएँ I  हामी हस्पिटलको बरण्डामा एउटा बेन्चमा कुरेर बसिरहेका थियौं I

      यो मान्छेको जुनीमा सन्तान वृद्धि हुनु भनेको एउटा नैसर्गिक गुण नै हो, कसैले सिकाइरहनु नपर्ने र प्रकृति प्रदत्त यो धर्म चराचर जगतमा व्याप्त छ I  यसर्थ जगतको प्रमुख धर्म भनेको आफ्नो बंश वृद्धि हो I  चर अचर दुवै जगतमा बंश वृद्धिले नै सृष्टि धानिरहेको छ I  अचरमा बोट बिरुवादेखि चरमा मानिस पशु पंक्षी किरा फट्यांग्रा र शुक्ष्म जगतको समेत बंश बिस्तार भइरहेको यो प्रक्रिया नैं जगतको इतिहास हो I  मेरो पनि बंश वृद्धि भो, म प्रसन्न थिएँ I

      डाक्टर ढोकामा आएर भने सरुको मान्छे को हुनुहुन्छ? हामी त्यहीं थियौंI  उनले भने बच्चालाई सास फेर्न गारो भाकोछ अक्सिजनमा राख्नुपर्छ I  मलाई डर लागो I  डाक्टर अमिला आइन् र भनिन् बच्चा ठीक छ, हामी सबै खुशी भयौं -यो विशेष खुशीको क्षण थियो, म पक्का हजुरबा भैसकेको थिएँI  बच्चालाई नर्सले बोकेर ल्याइन् र हामीलाई देखाइन् -बच्चा गुलाबको फूलजस्तो रातो गोरो देखियो, अत्यन्त आकर्षक I उसका गाला पुष्ट र ओभाना थिए प्रभातको बाल सूर्य उदाउँदाको जस्तो, बालक शान्त थियो र उसको शालीनता कुनै ज्ञानी महात्मा जस्तै देखिन्थ्योI  अनुहार काट्टी कुटी आफ्नी आमाको थियो, मेरी छोरी सरु बाउकै अनुहारकी छिन् I  शरीरको अरु भाग सबै कपडाले ढाकिएको थियोI  हामी नर्सका पछि लाग्यौं I  बच्चालाई इन्टेन्सिभ केयरमा अक्सिजनमा राखियो त्यो पुरै रात अनि भोलिपल्ट दिनभरी I  अर्को दिन बिहानै अर्को चाइल्ड केयर युनिटमा सारियो , त्यहाँ उसलाई अक्सिजनमैं राखियोI  शुरु शुरुमा उसलाई सास फेर्न निकै गारो भो, हामी हेरिरहेका थियौंI  डाक्टर भन्दैथिए-बच्चाले प्रयाश गर्दैछ I  बालक बडो परिश्रम गर्दै थियो सास लिनI  म यो सब हेर्दै थिएँ, जीवन ज्युन कति परिश्रम गर्नुपर्दो रहेछ I

      जन्मदेखि मृत्युपर्यन्त सम्पूर्ण जीवन यो सृष्टिमा संघर्षमैं अस्तित्वमान रहन्छ, अनि हामी भन्छौं अमूक मान्छे बाँचिरहेकोछ भनेरI  प्रत्येक पल पलको जीवन उद्याग र प्राप्तिको सिलसिलेवार कथाजस्तो छ, जब उद्द्योग सकिन्छ प्राप्ति पनि सकिन्छ, अनि त्यो अवस्था समाधीको अवस्था हुन्छ जीवनमा I

        साधकको समाधिको अवस्था ईच्छारहीत अवस्था हो, त्यहाँ प्राप्तिको आकांक्षा नै रहन्न त्यसैले प्रयाश वा संघर्षको कुनै आवश्यकता नै नहुने हुँदा जीवन निष्काम र निश्कर्म हुन्छI  मृत्यु पनि चिरस्थाई समाधि हो   त्यसैले त्यहाँ समयको प्रभाव हुन्न, शायद मृत्युपश्चात जीव समयको चक्रबाट दूर विचरित रहन्छ I   बाँच्नका लागि यी यावत संघर्षहरू न हुन्! अँ म भन्दै थिएँ नाति सास लामो लामो फेर्दै थियोI  अक्सिजन लेभेल नब्बे अनि पन्चान्नब्बे अनि फेरी नब्बे अनि बयान्नब्बेI I म हेर्दै थिएँ I  बालक परिश्रम गर्दै थियो, उ आफ्नै भरमा जीवन बाँच्दै थियोI  एउटा सास फेर्नु भनेको पनि सहज छैन यहाँ-प्रशस्त मेहनत गर्नुपर्छ I  यस कोठामा पनि शिशु दुई रात र एक दिन बस्योI

babbbee.jpg

     म गम्भीर मुद्रामा थिएँ, नवजात शिशुले जीवन ज्युँन गरेको यो मधूर लीला अन्तर हृदयले हेरिरहेको थिएँ I  यसै गरी त्यो दिन बित्यो I  रात पर्यो I हामी हेरिरहेका थियौं शिशुले पन्चाब्बे हान्यो अनि अन्ठान्नब्बे हान्यो फेरी पन्चान्नब्बेमा, अनि एकैपटकमा शय पुर्यायो, म खुशीले दङ् परें I

     भोलिपल्ट बिहान अक्सिजन हटाइयोI  अब नवजात आफैं सास लिइरहेको थियो र यो अप्रतीम सन्तुष्टि थियो मेरो जीवनमा I  उसकी आमानिर बच्चालाई लगियो, छोरीको अनुहारमा मातृ स्नेह देखेको पहिलो क्षण थियो त्यो- हे प्रकृति तिमी सबैकी जननी हौI  हाम्रो जीवन र परिश्रममा तिमी पनि कति खुशी हुँदिहौ! 

      अर्को दिन साँझ आमा र बच्चालाई घर ल्याइयो I  

     आज नाति झन्नै चार महिनाको हुनलाग्यो I  मसित खुबै झ्याम्मिन्छ, म उसित खेलिरहेकोछुँ I उ मतिर फर्केर जब जब हाँस्छ म परमानन्दको अनुभव गर्छुं I बच्चाको मुस्कान र फूलका कालिकाको स्नीग्ध सौन्दर्य भन्दा सुन्दर के नै होला र ? त्यसैले उदाउँदै गरेको बाल भानु, झरनाको मुलको पानीको कलकल र तेस्ले लिएको स्वच्छन्द सोतो कति सुन्दर हुन्छ ! जीवनको उद्गम, र सृष्टिको प्रारम्भ आहा कति सुन्दर थियो होला !  हामी हाम्रा पुर्खाका प्रतिरूप हौँ र हाम्रा सन्तान हाम्रै प्रतिरूप हुन् I प्रकृति हाम्रा अनुहारमा आफ्नो प्रतिरूप देखेर झन् कति खुशी हुँदिहोलिन् I केही समयदेखि म आफ्नो प्रतिरूप खेलाएर आफूलाई परमानन्दमा भुलिरहेकोछुँ I

मार्च १४, २०२२ भक्तपुर नेपाल I

(लेखक सन्तोष कुमार पोखरेल ख्यातिप्राप्त अन्तर्राष्ट्रिय कवि हुनुहुन्छ)I