
-सन्तोष कुमार पोखरेल
सरु मध्यपुर हस्पिटलमा सुत्करी भइन्I मेरानिम्ति यो जीवनको ठूलो अवसर थियो, ठूलीछोरीले मलाई हजुरबा बनाउँदै थिइन् I सानी छोरी श्रुति र उनकी आमा अस्पतालमा अगि नैं पुगिसकेका थिएI फोन आयो सरुको अप्रेशन गर्ने बेला भो भनेर, म हतार हतार अस्पताल पुगें र देखें सबै चिन्ता र कौतुहलमा थिए- कुनै खबर आएको थिएन अप्रेशन थिएटरबाटI रातको ९ बजेर २३ मिनेट भैसकेको थियो एउटा मेसेज छोरी श्रुतिको मोबाइलमा आयो- छोरो जन्मियो ठ्याक्कै ९ बजे, अवस्था ठीक छI मेसेज गर्ने सरुकी स्कूलकी साथी कमला थिइन्-हामीले एकआपसमा अँगालो हालेर यो खुशीको क्षणलाई सम्झनामा चिरस्थायी बनायौं I म हजुरबाबु भएँ, एक खुड्किलो मास्तिर गएँ I हामी हस्पिटलको बरण्डामा एउटा बेन्चमा कुरेर बसिरहेका थियौं I
यो मान्छेको जुनीमा सन्तान वृद्धि हुनु भनेको एउटा नैसर्गिक गुण नै हो, कसैले सिकाइरहनु नपर्ने र प्रकृति प्रदत्त यो धर्म चराचर जगतमा व्याप्त छ I यसर्थ जगतको प्रमुख धर्म भनेको आफ्नो बंश वृद्धि हो I चर अचर दुवै जगतमा बंश वृद्धिले नै सृष्टि धानिरहेको छ I अचरमा बोट बिरुवादेखि चरमा मानिस पशु पंक्षी किरा फट्यांग्रा र शुक्ष्म जगतको समेत बंश बिस्तार भइरहेको यो प्रक्रिया नैं जगतको इतिहास हो I मेरो पनि बंश वृद्धि भो, म प्रसन्न थिएँ I
डाक्टर ढोकामा आएर भने सरुको मान्छे को हुनुहुन्छ? हामी त्यहीं थियौंI उनले भने बच्चालाई सास फेर्न गारो भाकोछ अक्सिजनमा राख्नुपर्छ I मलाई डर लागो I डाक्टर अमिला आइन् र भनिन् बच्चा ठीक छ, हामी सबै खुशी भयौं -यो विशेष खुशीको क्षण थियो, म पक्का हजुरबा भैसकेको थिएँI बच्चालाई नर्सले बोकेर ल्याइन् र हामीलाई देखाइन् -बच्चा गुलाबको फूलजस्तो रातो गोरो देखियो, अत्यन्त आकर्षक I उसका गाला पुष्ट र ओभाना थिए प्रभातको बाल सूर्य उदाउँदाको जस्तो, बालक शान्त थियो र उसको शालीनता कुनै ज्ञानी महात्मा जस्तै देखिन्थ्योI अनुहार काट्टी कुटी आफ्नी आमाको थियो, मेरी छोरी सरु बाउकै अनुहारकी छिन् I शरीरको अरु भाग सबै कपडाले ढाकिएको थियोI हामी नर्सका पछि लाग्यौं I बच्चालाई इन्टेन्सिभ केयरमा अक्सिजनमा राखियो त्यो पुरै रात अनि भोलिपल्ट दिनभरी I अर्को दिन बिहानै अर्को चाइल्ड केयर युनिटमा सारियो , त्यहाँ उसलाई अक्सिजनमैं राखियोI शुरु शुरुमा उसलाई सास फेर्न निकै गारो भो, हामी हेरिरहेका थियौंI डाक्टर भन्दैथिए-बच्चाले प्रयाश गर्दैछ I बालक बडो परिश्रम गर्दै थियो सास लिनI म यो सब हेर्दै थिएँ, जीवन ज्युन कति परिश्रम गर्नुपर्दो रहेछ I
जन्मदेखि मृत्युपर्यन्त सम्पूर्ण जीवन यो सृष्टिमा संघर्षमैं अस्तित्वमान रहन्छ, अनि हामी भन्छौं अमूक मान्छे बाँचिरहेकोछ भनेरI प्रत्येक पल पलको जीवन उद्याग र प्राप्तिको सिलसिलेवार कथाजस्तो छ, जब उद्द्योग सकिन्छ प्राप्ति पनि सकिन्छ, अनि त्यो अवस्था समाधीको अवस्था हुन्छ जीवनमा I
साधकको समाधिको अवस्था ईच्छारहीत अवस्था हो, त्यहाँ प्राप्तिको आकांक्षा नै रहन्न त्यसैले प्रयाश वा संघर्षको कुनै आवश्यकता नै नहुने हुँदा जीवन निष्काम र निश्कर्म हुन्छI मृत्यु पनि चिरस्थाई समाधि हो त्यसैले त्यहाँ समयको प्रभाव हुन्न, शायद मृत्युपश्चात जीव समयको चक्रबाट दूर विचरित रहन्छ I बाँच्नका लागि यी यावत संघर्षहरू न हुन्! अँ म भन्दै थिएँ नाति सास लामो लामो फेर्दै थियोI अक्सिजन लेभेल नब्बे अनि पन्चान्नब्बे अनि फेरी नब्बे अनि बयान्नब्बेI I म हेर्दै थिएँ I बालक परिश्रम गर्दै थियो, उ आफ्नै भरमा जीवन बाँच्दै थियोI एउटा सास फेर्नु भनेको पनि सहज छैन यहाँ-प्रशस्त मेहनत गर्नुपर्छ I यस कोठामा पनि शिशु दुई रात र एक दिन बस्योI

म गम्भीर मुद्रामा थिएँ, नवजात शिशुले जीवन ज्युँन गरेको यो मधूर लीला अन्तर हृदयले हेरिरहेको थिएँ I यसै गरी त्यो दिन बित्यो I रात पर्यो I हामी हेरिरहेका थियौं शिशुले पन्चाब्बे हान्यो अनि अन्ठान्नब्बे हान्यो फेरी पन्चान्नब्बेमा, अनि एकैपटकमा शय पुर्यायो, म खुशीले दङ् परें I
भोलिपल्ट बिहान अक्सिजन हटाइयोI अब नवजात आफैं सास लिइरहेको थियो र यो अप्रतीम सन्तुष्टि थियो मेरो जीवनमा I उसकी आमानिर बच्चालाई लगियो, छोरीको अनुहारमा मातृ स्नेह देखेको पहिलो क्षण थियो त्यो- हे प्रकृति तिमी सबैकी जननी हौI हाम्रो जीवन र परिश्रममा तिमी पनि कति खुशी हुँदिहौ!
अर्को दिन साँझ आमा र बच्चालाई घर ल्याइयो I
आज नाति झन्नै चार महिनाको हुनलाग्यो I मसित खुबै झ्याम्मिन्छ, म उसित खेलिरहेकोछुँ I उ मतिर फर्केर जब जब हाँस्छ म परमानन्दको अनुभव गर्छुं I बच्चाको मुस्कान र फूलका कालिकाको स्नीग्ध सौन्दर्य भन्दा सुन्दर के नै होला र ? त्यसैले उदाउँदै गरेको बाल भानु, झरनाको मुलको पानीको कलकल र तेस्ले लिएको स्वच्छन्द सोतो कति सुन्दर हुन्छ ! जीवनको उद्गम, र सृष्टिको प्रारम्भ आहा कति सुन्दर थियो होला ! हामी हाम्रा पुर्खाका प्रतिरूप हौँ र हाम्रा सन्तान हाम्रै प्रतिरूप हुन् I प्रकृति हाम्रा अनुहारमा आफ्नो प्रतिरूप देखेर झन् कति खुशी हुँदिहोलिन् I केही समयदेखि म आफ्नो प्रतिरूप खेलाएर आफूलाई परमानन्दमा भुलिरहेकोछुँ I
मार्च १४, २०२२ भक्तपुर नेपाल I
(लेखक सन्तोष कुमार पोखरेल ख्यातिप्राप्त अन्तर्राष्ट्रिय कवि हुनुहुन्छ)I