
लोकनारायण सुबेदी
गएको शिवरात्रीका दिन भारतका किसान नेता स्वामी सहजानन्द सरस्वतीको १३४औं जन्म जयन्ति परेको थियो । १८८९ मा(पात्रोका हिसाबले त्यो बर्ष यो दिन २८ फेब्रुअरीको दिन परेको थियो) भारतको उत्तर प्रदेश गाजीपुर जिल्लाको दुल्लाहपुर रेलवे स्टेशन नजिक एउटा सानो गाउँ देवामा जन्मेका नौरंगलालका स्वामी सहजानन्द बन्ने कथा आस्थामाथि बिवेक, श्रद्धाको बिश्लेषणको जीत र स्वयंको अध्ययन तथा अनुभवबाट जीवनप्रतिको दृष्टिकोणको बिकासको जिउँदो जाग्दो कथा रहेको छ । सँस्कृति तथा धर्मग्रन्थका प्रकाण्ड ज्ञानी, एक धर्मालु स्वामी सामाज परिबर्तनकाप्रति समर्पित एक योद्धा र नायक बनेको चाखलाग्दो कथा छ यो । यसलाई सम्पूर्णरुपमा पढिनु पर्दछ । यसका लागि स्वामी सहजानन्द सरस्वतीले लेखेका किताब ‘मेरा जीवन संघर्ष’मा मूल्यवान सामाग्री छन् । त्यसलाई अबधेश प्रधानजीको सम्पादनमा ग्रन्थ शिल्पीले प्रकाशित गरेको छ ।
स्वामी सहजानन्द सरस्वती किसान आन्दोलनलाई राष्ट्रब्यापी दृष्टि दिने ब्यक्तित्व, किसानलाई स्वाधीनताको लडाईमा सामेल गर्दै साँच्चो मुक्तिको लडाईका लागि तयार गर्ने एक अग्रज योद्धा थिए । उनकै पहिल र अध्यक्षतामा ११ अप्रिल १९३६ मा भारतको लगनऊमा त्यस अखिल भारतीय किसान सभाको स्थापना भयो र त्यो अघि बढ्यो, जुन आज पनि बिद्यमान किसान आनदोलनको सबैभन्दा सबल र भरोसालाग्दो आधार बनेको छ । आमरुपमा समाजिक सुधार तथा बिशेषरुपमा बिहारको प्रभुत्वशाली खेतीहर जाति, भूमिहारको सामाजिक हैसियतमा सुधारको संघर्षमा पनि उनको असाधारण योगदान रहेको थियो । यो स्वामीजीको पूरै बिराट ब्यक्तित्व र कृतित्व तथा योगदानलाई समेट्न त के टाढाबाट त्यसलाई छुनसम्म पनि सकिदैन । किसान आन्दोनलको निर्माणमा उनको योगदान त केवल केही बिलक्षण पक्ष मात्रै हुन् जसका बारेमा संकेत गर्न सकिन्छ ।
सन् १९१४मा स्वामीजीले स्वयं उनका शब्दमा ‘शास्त्रहरुको दिक्क लाग्दो दायरबाट बिाहिर निस्केर सार्बजनिक जीवन प्रवाहमा प्रवेश गरे’ र यस्तो एउटा हलचल पैदा गरिदिए जसलाई योभन्दा पहिला यत्तिका ब्यापक स्तरमा भारतले कहिल्यै देखेको थिएन । निदाएका र प्राय: हतास तथा बिलौना गरिरहेका देखिने किसानलाई उनले संघर्षको अग्रिम पंक्तिमा ल्याएर खडा गरे । सन् १९२९ मा पुग्दा नपुग्दै सामन्त बर्गका बिरुद्ध त्यो किसान संघर्ष यत्तिका बढेको थियो कि पहिला त्यसले बिहार प्रान्तीय किसान सभा र त्यसपछि गएर १९३६ मा अखिल भारतीय किसान सभाको सांगठनिक रुप धारण गर्न पुग्यो । यी दुबै संगठनका शिल्पी स्वामी सहजानन्द सरस्वती नै थिए । ध्यान दिनुपर्ने कुरा के छ भने यी सबै काम उनले त्यस कालखण्डमा गरिरहेका थिए जतिबेला भारतका गाउँहरुमा क्रूर सामन्ती राजको बर्चश्व रहेको थियो र तिनको पक्ष पोषण गर्ने केवल अग्रेज मात्रै थिएनन् त्यस जमानका सबैभन्दा ठूला नेता गान्धी पनि रहेका थिए । ती तिनै शक्तिसँग एकसाथ लडेर आन्दोलन खडा गर्नु ती तीनै शक्तिले बिरोध गर्दा गर्दै पनि सही बाटोको खोजी गर्नु एउटा ठूलो काम थियो जुन काम स्वामीजीले सफलतापूर्बक गरे । राष्ट्रिय स्वतन्त्रताको आन्दोलनका एजेण् डामा किसान र उनका मागहरु सामेल गराए ।
तर स्वामीजी यतिमै मात्र रोकिएनन् । अखिल भारतीय किसान सभा स्थापना सम्मेलनको उद्घाटन भाषणमा उनले स्पष्टसँग भने ‘‘किसान पूर्ण स्वतन्त्रताका लागि समर्पित छन् र किसान सभाको लडाईं किसान–मजदुर र अन्य शोषित तप्काहरुलाई पूर्ण आर्थिक राजनीतिक शक्ति दिलाउने संघर्ष हो । यो केवल सत्ता हस्तान्तरणसम्मको मात्र मामिल होइन।’’
अर्को धेरै महत्वपूर्ण कुरा जसलाई उनले सही किसिमले बुझे र जोड दिएर ब्यवहारमा ल्याए त्यो थियो उनमा बिकसित भएको बर्ग दृष्टि, उनले भनेकै छन् कि बर्ग बिभक्त समाजमा बर्ग संघर्ष नै परिबर्तनको माध्यमा हो । बर्ग सहयोग या बर्ग समन्वयको समझदारीबाट केही पनि हासिल हुन सक्तैन । एक बेदान्ती दण्डी स्वामीले यो समझदारीसम्म पुग्नु अत्यन्तै महत्वपूर्ण घटना बिकास हो । जुन कुरा स्वामीजीले समाजलाई बस्तुबादी ढंगले बुझ्ने बैज्ञानिक दृष्टिकोणबाट हासिल गरे ।
उनले के भनेका थिए भने ‘‘किसानहरुले तत्कालीन राजनीतिक, आर्थिक मागहरुका लागि संघर्ष गर्दै राजनीतक सत्ता हासिल गर्ने संघर्ष गर्नुपर्ने छ । यस लडाईको केन्द्रमा हरेक किसिमको जमिन्दारी प्रथाको अन्त्य गर्ने, लगानको समाप्ति, कर प्रणालीमा परिबर्तन र त्यसको तहगतकरण, जमिन जोताहा किसान र भूमिहीनलाई प्रदान गर्ने तथा भूमिहीन सर्बहाराको ऋण मोचन जस्ता मागहरु रहनेछन्।’’
स्वामीजीको अर्को तेश्रो महत्वपूर्ण अबधारणा के थियो भने राजनीतिमा धर्मको घूसपैठप्रति उनको सख्त असहमति रहेको थियो । उनी के मान्दथे भने ‘‘धर्म एक नितान्त नीजी बिषय हो ।यसलाई सामाजिक तथा राजनीतिक बिषयभन्दा बाहिर राखिनु पर्दछ । जसले यसो गर्दैनन् र धर्मलाई राजनीतिको सिढी बनाउने गर्दछन् ती न धार्मिक हुन् न सामाजिक नै ।’ भारतको हालै(२०२१)को राष्ट्रब्यापी किसान अन्दोलनको लागि पनि यो एउटा ठूलो सुत्र रहेको थियो । धर्म र समाजिक चेतनाका सम्वन्धमा स्वामीजीले लेखेका थिए :
‘‘प्रायेण देबमुनय: स्वविमुक्ति कामा:
मौनं चरन्ति बिजने न परार्थनिष्ठां:
नैतान बिहाय कृपणान् बिमुमुक्षु एको
नात्य त्वदस्य शरणं भ्रमतो नुपश्ये !’’
(मुनी मानिसहरु स्वामी बनेर आफ्नै मुक्तिका लागि एकान्त बास गर्दछन् । तर म यसो कदापि गर्न सक्तिन । सबै दु:खीहरुलाई छोडेर मलाई केवल आफ्नो मुक्ति चाहिएको छैन । म त तिनीहरुकै साथमा रहन्छु र बाच्छु पनि मर्छु पनि।)
ती स्वामी सहजानन्द सरस्वती नै थिए जसको अध्यक्षतामा अक्टोबर १९३७ मा कलकत्तामा भएको अखिल भारतीय किसान सभाको सीकेसी बैठकले लाल झण्डालाई आफ्नो झण्डा बनायो । त्यस बैठकमा बोल्दै स्वामीजीले भनेका थिए : ‘यो मुक्तिको लडाई केवल किसानको लडाई मात्र होइन, यस आन्दोनलको धूरी किसान, कृषि श्रमिकहरु, गरीब किसान र मजदुरहरुको एकता हो । यस कारण उनीहरुका औजार नै यस झण्डाको प्रतीक निशान हुुनु पर्दछ ।’’ यस कुराका लागि उनले प्रतिकृयावादी शक्तिसँग मात्रै होइन, आफुलाई समाजबादी भन्ने शक्तिहरुसँग पनि लड्नु परेको थियो ।
संगठन – ब्यापक किसान संगठन – का बारेमा स्वामीजीको समझदारी द्वन्द्वात्मक थियो । उनी एकातिर त एकताबद्ध र ब्यापक किसान संगठनको हिमायती र समर्पित थिए नै । यसका अतिरिक्त उनी राजनीतिक मोर्चामा सकृय हुँदै र किसान बर्गलाई आम मेहनतकश बर्गसँग जोड्ने राजनीतिक भूमिका निर्बाहका लागि प्रेरित गर्दै के मान्दथे भने ब्यापक र सर्ब समाबेशी किसान एकजुट भएको संघर्षमा शामेल भएर आफ्ना अनुभव र ब्यवहारबाट नै किसानहरु सही राजनीतिक निष्कर्शका साथै आफ्नो लक्षमा पुग्नेछन् । यी कुरासँगै उनी के पनि मान्दथे भने किसान सभा, बास्तबिकरुपमा पीडित किसानहरुको संगठन बन्नु पर्दछ ।
सन् १९४४ मा अखिल भारतीय किसान सभाको सम्मेलनको अध्यक्षता गर्दै सहजानन्द स्वामीले भनेका थिए कि ‘‘मध्यम तथा ठूला किसानले आज किसान सभालाई आफ्नो फाइदाका लागि उपयोग गरिरहेका छन् । जबकि हामी यसको उपयोग सबैभन्दा गरीब किसान र निम्न हैसियत भएका साना किसाहरुको बर्ग चेतना जगाउनका लागि गर्नु पर्दछ भन्ने कुरामा जोड दिन्छौं । हाम्रो बिचारमा किसान त्यही हो जो भूमिहीन छ, जोसँग बहुत कम जमिन छ । यस्तो स्थितिमा सर्बहारा मानिसहरुको संगठन भनेकै किसान सभा हो र अन्तत: त्यस्तै मानिसहरुले बास्तबिक किसान सभा बनाउँदछन् ।’’ जमिनदारका बिरुद्ध स्वामीजीको प्रसिद्ध नारा थियो –‘‘कैसे लोगे मालगुजारी लठ्ठ हमारी जिन्दबाद !’’
यस्ता थिए स्वामी सहजानन्द सरस्वती भारतको किसान आन्दोनल र त्यसको अगुवा दस्ता अखिल भारतीय किसान सभाका अग्रज पूर्खा । अनि जसका यस्ता पूर्खा हुन्छन् तिनले आफ्नो सही संघर्षलाई बिजयसम्म पुर्याउने कुरामा पूरै आत्मबिश्वास राख्दछन् ।