बुधबार, भाद्र ३ गते २०८३

भक्तपुर बचत संघको नवनिर्मित भवन उद्घाटन, आत्मनिर्भर संघको परिचय दियो 

आषाढ २०, २०७८ आइतबार
भक्तपुर बचत संघको नवनिर्मित भवन उद्घाटन, आत्मनिर्भर संघको परिचय दियो 

 

भक्तपुर, ९९औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । समारोहका प्रमुख अतिथि वागमती प्रदेश सहकारी महाशाखा रजिष्ट्रार विक्रम पाण्डेले हिजो शनिबार भवनको उद्घाटन गर्दै संघको आफ्नै भवन निर्माण गरी सहकारी अभियानमा उदाहरणीय कार्य भएको बताए । 
भवन निर्माणले संघको दिगो विकासको लागि टेवा पुग्ने विचार व्यक्त गर्दै सहकारी संघ संस्था स्वनियममा संचालन हुने भएकोले संघले आवद्ध सदस्यलाई अनुगमन गनुपर्ने उनले बताए ।

कार्यक्रमका विशेष अतिथि कैलाशभक्त प्रधानाङ्गले संघले भवन निर्माण गरी आफ्नो क्षमता प्रदर्शन गरेकोमा खुशी व्यक्त गर्दै भवनले सक्षम नेतृत्वको उदाहरण दिएको बताए । नगर स्तरीय संघहरुको गठनप्रति चिन्ता व्यक्त गर्दै बेलामै सचेत हुनुपर्ने उनले उल्लेख गरे ।

New building 1.jpg

कार्यक्रमका सभापति संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सभापतित्व ग्रहण गर्दै भवनले ‘दिगो सहकारी विकासका लागि संघ’ भन्ने संघको परिकल्पनालाई टेवा पु¥याउने जिकिर गरे । प्रारम्भिक संस्था संघमा आवद्ध गर्नका लागि ऐनमै अनिर्वाय गर्नुपर्ने, संघीय, प्रदेश र स्थानीय तहका सहकारी ऐनमा बाझिएका कुराहरु संशोधन गरी एकरुपता ल्याउनुपर्ने उनको भनाई थियो । 
संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले संघले जिल्लाका सक्रिय समुदायमा आधारित सहकारी संस्था सबैलाई आवद्ध गर्नुपर्ने विचार राख्नुभयो । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले स्थापनाकाल देखि नै संघको स्पष्ट उद्देश्य भएको र आत्मनिर्भरतालाई सदैव जोड दिँदै आएको विचार व्यक्त गरे ।

संघका उपाध्यक्ष हरि वल्लले स्वागत मन्तव्य राख्दै संघको भवन निर्माणको विवरण प्रस्तुत गरेका थिए । संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको हालको संक्षिप्त अवस्थाका बारेमा प्रस्तुति दिएका थिए । संघका सञ्चालक काजीबहादुर पंचले सञ्चालन गरेको उक्त कार्यक्रममा कोभिड–१९ को स्वास्थ्य मापदण्ड पालना गर्दै सीमित व्यक्तिहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो ।

building 3.jpg