शनिबार, आश्विन १७ गते २०८३

म नारी भएको भए

फाल्गुण २३, २०७८ सोमबार
Photo.JPG
इन्द्रनारायण सुबेदी
(भुजङ्गप्रयात)
=================================
म नारी भएको भए गर्व गर्थेँ
अरू पूज्य माता समानै ठहर्थेँ
विदूषी अरू झैँ स्वयं बन्न सक्थेँ
म अस्तित्व मातृत्वको माथि लग्थेँ।१।
 
कि सीता कि लक्ष्मी कि देवी बनेर
म छर्थेँ सुधा नित्य निष्ठा लिएर
ममा बग्दथे भित्र पीयूष धारा
म यो विश्वको बन्न सक्थेँ सितारा।२।
 
दुराचार निर्मूल गर्ने कुरामा
म नेतृत्वदायी बनी टाकुरामा
चढी मातृ सामर्थ्य उद्घोष गर्थें
सधैँ स्नेह बाँडेर सन्सार भर्थेँ।३।
 
बनी शक्तिशाली कि दुर्गा भवानी
यहाँ देशका दैत्य पार्थेँ खरानी
बलात्कार हत्या सयौँ बेइमानी
पछार्थेँ धरामा समाएर तानी।४।
 
बुझी वेदना कष्ट नारी समस्या
समाधानका निम्ति गर्दै तपस्या
म लड्थेँ बनी हिम्मती होसियार
छिचोल्ने थिएँ विघ्न लाएर पार।५।
 
म भत्काउथेँ व्यर्थका छाउ गोठ
यहाँ दाइजोका उखेलेर बोट
सती दास दासी र घुम्टो प्रथाको
म निर्मूल पार्थेँ पुराना कथाको।६।
 
अहङ्कारका दुर्ग पर्खाल तोड्थेँ
म साझा समस्या उठाएर जोड्थे
गरी एउटै लक्ष्यमा गोलबन्द
म गर्थेँ नयाँ योजनाको प्रबन्ध।।७।
 
कतै वालिका व्यर्थमा मारिँदै छन्
विनादोष अन्यायमा पारिँदै छन्
तिनैको सहारा बानूँ लाग्छ धेर
उठाऊँ उँभो लाग्छ साथै रहेर।८।
 
बदल्ने थिएँ यो विभेदी समाज
उखेली कुसंस्कारका साजबाज
सहारा बनी नित्य नारीहरूको
बुहारी दिदी भद्र आमाहरूको।९।
 
भरी चेतना ज्ञानको ज्योति बाल्थेँ
छिटै लक्ष्यमा पुग्न यात्रा म थाल्थेँ
सकेसम्म चट्टान लोहा पगाल्थेँ
धराधाम बोकेर आफैँ उचाल्थेँ।१०।
 
दबेका सयौँ निम्छरा वृद्ध आमा
सधैँ हेपिएका रहेका कुनामा
उठाएर हिँड्थेँ लिई साथ साथ
म हाँक्थेँ यहाँ विश्व नारी जमात।११।
 
जहाँ पुग्नु पर्थ्यो उज्यालो प्रकाश
त्यहाँ पुग्न गर्दै अनेकौँ प्रायास
बनी दीप बल्थेँ चिरी अन्धकार
बढाएर औदार्य मातृत्व सार।१२।
 
छ नारीहरूमा सुधा वक्षभित्र
महासर्गको स्वेद धारा पवित्र
त्यसैमा छ यो सृष्टिको मूल तत्व
म छर्लङ्ग पार्थेँ उनैको महत्त्व।१३।
==================================
(अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सन्सारभरिका आमा दिदी बहिनीहरूमा समर्पित)