आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्धारा दुई सेवाहरुको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष हेमराज ढकालको सापतित्व, बीमा समितिका अध्यक्ष श्री सूर्य प्रसाद सिलवालज्यूको प्रमुख आतिथ्य तथा आईएमई गु्रपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल लगायतको उपस्थितीमा कम्पनीले नयाँ योजना ल्याएको हो ।
आइजिआई हेल्थपल्स बीमालेख आफ्ना परिवारहरुको स्वास्थ प्रतिको संवेदनशीलता र चासो दिन प्रति दिन बढिरहेको छ । यसलाई मध्येनजर राखी इन्स्योरन्सले दुर्घटना, स्वास्थ तथा घातक रोगको लागि एउटै छाता भित्र समेट्ने गरि आइजिआई हेल्थ प्लस बीमालेख ल्याएको छ । यस बीमालेख अन्तर्गत परिवारको सम्पूर्ण सदस्यहरुको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ ।
दुर्घटना बीमा अन्तर्गत बीमलेखको अवधिभर कुनै पनि समयमा बीमित सदस्यहरुलाई कुनै बाहिरी तथा देख्न सकिने माध्यमबाट हुन गएको दुर्घटनाको प्रत्यक्ष कारणबाट मृत्यु वा कुनै शारिरीक अंगभंग हुन गएमा बीमालेखमा उल्लेखित रु.५ लाख देखि १५ लाख सीमा सम्मको सुविधाहरु प्रदान गरिनेछ ।
औषधोपचार बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही सो अवधिभर कुनै रोग लागेमा वा दुर्घटना भई शारिरीक चोटपटक लागेमा, त्यस्तो रोग र चोटपटकको उपचारको लागि अस्पताल भर्ना भई गरिने उपचार खर्च रु.१ लाख देखि ५ लाखसम्म नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ ।
घातक रोग बीमालेख अन्तर्गत बीमलेखको अधिनमा रही बीमा अवधि भित्र बीमालेखमा उल्लेखित वा कुनै प्रकारका घातक रोगको लागि करार जारी भएको ९० दिनको प्रतिक्षा अवधि पश्चात बीमित सदस्यहरुलाई कुनै घातक रोगहरु लागेको चिकित्सकबाट प्रमाणित भएमा बीमाङ्क रकम रु. ५ लाख तुरुन्त भुक्तानी गरिनेछ ।
परिवारको हकमा श्रीमान श्रीमती र सन्तान समेटिने छ । सन्तानको उमेर २ बर्ष देखी २४ वर्ष सम्म, अबिबाहित तथा रोजगारी नभएको हुनुपर्ने ,५० बर्ष भन्दा माथिका ब्यक्तिको घातक रोग बिरुद्धको रक्षावरणका लागि अनिवार्य मेडिकल सर्टिफिकेट पेश गर्नुपर्नेछ औषधोपचार बीमालेख अन्तगर्र्त नेपाल र चिकित्सकको परामर्शमा भारतमा उपचार गर्न सकिने छ । यस बीमालेख अन्तर्गत हुलदंगा, हड्ताल, नागरिक उपद्रव, द्वेशपूर्ण कार्य, आतंकवाद तथा विध्वंसात्मक कार्य जस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना पनि समाबेश गरिएको छ । यस बीमालेख अन्तर्गत दावी भुक्तानी गर्दा नगद रहित वा सोध भर्ना दुवै तरिकाबाट दावी भुक्तानी गरिनेछ ।
यो सेवा हाललाई काठमाण्डौं उपत्यका भित्र लागु हुने कम्पनीले जनाएको छ । कम्पनीबाट आफनो निजी सवारी साधनहरुको बीमा गरेका ग्राहकमहानुभावहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्ग स्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा सेवा लिन सक्ने छन् ।
कम्पनीबाट बीमा भएको चारपाग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा वा तेश्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा स्पार्क अटोकेयरको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा, सो मर्मत संभार वापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सिधै भुक्तानी गरी लामो दावी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ ।