काग्रेस पार्टी परित्याग गर्नु अघि पुष्पलालले डा. डिल्लीरमण रेग्मीलाई लेखेको ऐतिहासिक पत्र ।
९ जुन १९४८
जयनगर
रेग्मीजी
जय नेपाल
अपसोचका साथ मलाई भन्नु परिरहेको छ कि अव म नेपाली कांग्रेसबाट छुट्टी लिन चाहन्छु । त्यस भन्दा अगाडी सके भने केही मानिसहरु जयनगर दरभंगातिर राखिदिने छु । यदि एउटा मानिस यहाँ पठाई दिनु भए वेस हुने थियो । दरभंगामा त २–४ जना छन्, यहाँ पनि हुन सक्छ, अझ ।
मैले तपाईलाई त्यस दलको वारेमा त्यत्ति हो, सत्य, तथ्य हाल सुनाउँदा एक कानले सुनेर अर्को कानले उडाई दिनु भयो । तपाई जस्तो वुद्विमान व्यक्तिलाई मैले विशेष केही लेखि रहनु पर्दैन । मलाई सञ्चै छ । यदि दरभंगामा जान मिल्यो भने उही वसी अध्ययन गर्ने विचार गरेको छु । भएन भने भविष्यले नै वताउने छ ।
भवदीय
पुष्पलाल

पत्र साभार : अन्वेषण
नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड पुष्पलाल शुरुमा नेपाली राष्ट्रिय काग्रुेसमा संलग्न भएर त्यस पार्टीकोे केन्द्रिय कार्यालयको सचिव समेत बन्नु भएको थियो । तर काग्रेस भित्र रेग्मी गुट र कोइराला गुटको बिबाद चरमोत्कर्षमा पुगेपछि कमरेड पुष्पलालले अर्कै बाटो रोज्नु भयो । त्यो बाटो नेपालमा कम्युनिष्ट पार्टीको स्थापना र कम्युनिष्ट आन्दोलनको सुत्रपातको बाटो थियो । त्यस क्रममा उहाले मार्क्सबादी ज्ञानभण्डारतिर ध्यान दिनु भयो अध्ययनमा लाग्नु भयो । त्यस क्रममा उहाँले बिश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको अध्ययन गर्दै त्यसलाई नेपाली भाषामा अनुबाद गर्नु भयो । अनुबादको क्रममा उहाँले संक्षिप्तमा तत्कालीन नेपाली समाजको बर्गीय बिश्लेषण पनि गर्नु भयो । यो अनुबाद नै नेपालमा पहिलो मार्क्सबादी कृति पनि बन्न पुग्यो ।
यसरी नेपाल कम्युनिष्ट पार्टी गठन गर्ने तयरीकै क्रममा उहाँको त्यो बिश्वप्रसिद्ध कम्युनिष्ट घोषणापत्रको अनुबादित कृति २००५ साल चैत्र २३ गते प्रकाशित गर्नु भयो । त्यसपछि उहाँले नेपाल कम्युनष्टि पार्टीको आवश्यकता किन छ भन्ने सन्दर्भलाई अघि सादै कम्युनिष्टल पार्टी गठन गर्न एउटा पाँच सदस्यीय संस्थापन कमिटी गठन गर्नु भयो । त्यसमा कमरेड पुष्पलाल, नरबहादुर कर्माचार्य,निरञ्जन गोबिन्द बैद्या, नारायण बिलाश जोशी र दुर्गादेबी श्रेष्ठ(मोतीदेबी) संलग्न थिए । त्यस संस्थापन समितिले कम्युनिष्ट पार्टी गठन गर्नका लागि गृहकार्य गर्दै एउटा पर्चा निकाल्यो तये २००६ साल बैशाख १२ गते अर्थात २४ अप्रिलका दिन प्रकाशित भएको थियो । त्याे पर्चा कमरेड पुष्पलालले मस्याैदा गरेकाे र नारायण बिलास जाेशीले टाइप गरेकाे कुरा उनी स्वयंले काठमाण्डाै यट्रखामा उहाँकाे पसलमा भेट बार्ता भएकाे बेला बताएका थिए । नेपालमा कम्युनिष्ट पार्टी गठनको आवश्यकता औंल्याउन प्रकाशित त्यो पर्चालाई नेपालमा कम्युनिष्ट पार्टीको पहिलो पर्चा पनि भन्ने गरिन्छ । यसरी गृह कार्य गर्दै गएर १५ सेप्टेम्बर १९४९ का दिन नेपाल कम्युनिष्ट स्थापना गरे । नेपालकाे राजनीतिक इतिहासमा याे एउटा अपूर्ब माेड थियाे ।